तेस्रो पटक मोदी सरकार:  १४ दलका ४० जना मन्त्री

Break n Links
Break n Links

लोकसभाको निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर पनि बहुमत पुर्‍याउन नसकेको भारतीय जनता पार्टीले नै फेरि मोदीको प्रधानमन्त्रित्वमा सरकार बनाउँदैछ। 

मोदीका लागि यो तेस्रो कार्यकाल हो। तर एक्लै बहुमत पुर्‍याउन सकेका कारण उनले आफ्ना सहयोगी दलहरूलाई पनि सहभागी गराएर सरकार बनाउनेछन्। 

यो चुनावमा भाजपा एक्लैले ३७० सिट ल्याउने र अरु दलहरूको मिलाएर ४०० सिट कटाउने भन्दै बिजेपी ‘चार सय पार’को नारा लिएर उत्रिएको थियो। तर बिजेपी एक्लैले ३ सय पनि कटाउन सकेन। 

यसअघिका चुनावहरूमा पनि बिजेपी एनडिए गठबन्धनबाटै चुनाव लडेको थियो। यसमा लगभग १४ विभिन्न राजनीतिक दलहरूले एकदेखि १६ वटासम्म सिट जितेका छन्।

एनडिए गठबन्धनमा रहेका दलहरूमध्ये सबैभन्दा धेरै चन्द्रबाबु नायडुको पार्टी तेलगु देशम पार्टीले १६ सिट जितेको छ। त्यस्तै नीतिश कुमारको जनता जल युनाइटेडले १२ सिट जितेको छ।  

बिजेपीले जितेका २४० र एनडिएमा रहेका अरु १४ दलका मिलाएर जम्मा २९२ सिट हुन्छ। लोकसभामा ५४३ सिट हुन्छ र सरकार बनाउनका लागि २७२ सिट चाहिन्छ। सबै मिलाउँदा एनडिएसँग सरकार बनाउन चाहिनेभन्दा अलिकति धेरै सिट छ।

अब पहिलाको जस्तै यो सरकार भाजपा वा मोदी एक्लैको हुनेछैन। यसमा १४ पार्टीको भाग लाग्नेछ।

तेस्रो कार्यकालका लागि आझ साँझ राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदी र उनका मन्त्रीहरूले सपथ लिनेछन्। यो सपथ समारोहलाई भव्य बनाउनका लागि मोदीले छिमेकी र अरु पनि देशका सरकार प्रमुखहरूलाई बोलाएका छन्। 

नेपालबाट पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उनको सपथ समारोहमा भाग लिन गएका छन्। 

मोदीले पहिलोचोटी नै ४० जना मन्त्री तथा राज्यमन्त्रीहरू नियुक्त गरेका छन्। त्यसमा सहयोगी १४ दलका १८ जना सांसद र बाँकी बिजेपीका मन्त्रीहरू छन्। 

सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बनेका मोदीले त्यो कार्यकालभरि ४६ जना मन्त्रीहरू बनाएका थिए। त्यसमा २४ जना क्याबिनेटमा थिए भने १० जना विना विभागीय र १२ जना राज्यमन्त्री भएका थिए। 

सन् २०१९ को दोस्रो कार्यकालमा मोदीसहित ५८ जना मन्त्रीहरूले एकैपटक सपथ लिएका थिए। विस्तार गर्ने क्रममा पहिलो कार्यकालमा उनले ७१ जनाको मन्त्रिमण्डल बनाए भने दोस्रो कार्यकालमा ७२ जना मन्त्रीहरू पुगेका थिए। 

भारतीय संविधानअनुसारको धारा ७५ अनुसार लोकसभा सदस्यको कूल संख्या ५४३ को १५ प्रतिशत अर्थात् ८१ जना सांदसहरू मन्त्री बन्नसक्छन्। 

लगातार तेस्रोचोटी प्रधानमन्त्री भएका मोदीले मन्त्रिमण्डलाको संख्यामा पण्डित जवाहर लाल नेहरूको रेकर्ड बराबरी गर्दैछन्। 

नेहरू पनि लगातार तीन पटक प्रधानमन्त्री भएका थिए। उनी सन् १९५२, १९५७ र १९६२मा प्रधानमन्त्री भएका थिए। तर नेहरूसँग तीनैपटक पूर्ण बहुमत थियो। मोदीको तेस्रो काल भने एकल हुनेछैन। उनका साथमा १४ दलका साझेदार हुनेछन्। 

यसबीचमा ‘इन्डिया’ गठबन्धनमा रहेको भारतीय राष्ट्रिय कंग्रेसले आफ्ना संसदीय दलको नेता चुनेको छ। यसपालि ९९ सिट जितेको कंग्रेसले नेता सोनिया गान्धीलाई संदसीय दलको नेता बनाएको छ। 

पूर्वअध्यक्ष राहुल गान्धी अब प्रतिपक्ष दलका नेता हुनेछन्। यसअघि भारतीय लोकसभामा प्रतिपक्ष दलका नेताको पद खाली थियो। 

सन् २०१४मा कंग्रेसले ४४ सिटमात्रै जितेको थियो। २०१९ मा उसले ५२ सिट बनायो। भारतीय संसदीय कानुनअनुसार प्रतिपक्ष दलको नेता हुनका लागि कूल संख्याको १० प्रतिशत अर्थात ५४ सिट जित्नुपर्ने हुन्छ। 

यसपालि कंग्रेसले एक्लै ९९ सिट जितेको छ। कंग्रेस नेतृत्वमा रहेको ‘इन्डिया’ गठबन्धनको सबै सिट मिलाउँदा अब लोकसभामा विपक्षी गठबन्धनको २३४ सिट हुनेछ।

प्रकाशित मिति: : 2024-06-09 10:11:00

प्रतिकृया दिनुहोस्