कारागारमै लागुऔषध कारोबार हुन थालेपछि...

गत सोमबार लागुऔषध ११८ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए चेतबहादुर रम्तेल। कागेश्वरी मनोहरा–८ गोठाटार बस्दै आइरहेका उनी गोप्य सूचनाको आधारमा पक्राउ परेका थिए। 

कोठाको खोजतलास गर्दा उनको साथबाट खैरो हेरोइनसहित डिजिटल तराजु १ थान र नगद २ लाख ८० हजार रुपैयाँ समेत बरामद भएको थियो। 

त्यसैगरी बिहिबार १९७ ग्राम खैरो हेरोइनसहित झापाका जाहिर आलम र खातुन पक्राउ परेका थिए।  

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई चाबहिलबाट पक्राउ गरेको थियो।

पक्राउ परेका तीनै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप भई अनुसन्धान भइरहेको छ। 

लागुऔषधमा पक्राउ परेका कारोबारीहरू प्रहरीको फन्दामा परेपछि कारागार जीवन बिताउन बाध्य हुन्छन्। तर त्यहाँपनि उनीहरू लागुऔषधको कारोबार गर्न छोडदैनन्। 

कारागारमा आफूलाई भेट्न आएका साथीभाइहरूसँगै लागेर उनीहरू लागुऔषध कारोबारमा लागिरहेका छन्। 

पछिल्लोपटक कारागार बसेरै लागुऔषध कारोबारको घटनाहरू बढ्दै गएपछि लागुऔषध नियन्त्रण ब्यूरोले कारागार कार्यालय डिल्लीबजारमा ‘लागुऔषधविरुद्ध सचेतना मुलक कार्यक्रम’ गरेको छ। 

२३० जना कैदीबन्दी रहेको कारागारमा १०४ जना लागुऔषधसम्बन्धि कैदीहरू छन्। उनीहरूलाई नै लक्षित गरेर भविष्यका दिनमा त्यस्तो घटना रोक्नका लागि प्रहरीले उक्त कार्यक्रम गरेको हो। 

साथै लागुऔषध सम्बन्धित आपराधिक गतिविधिहरू समेतलाई सुक्ष्म रुपमा निगरानीमा राख्न सुरु गरिएको ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले बताए।

प्रकाशित मिति: : 2024-05-31 18:40:00

प्रतिकृया दिनुहोस्