‘चतुर-पारस’ले मिलाउन नचाहेकाे सन्दीपकाे ‘भिषा’

नवीन अर्याल

काठमाडौँ

आज माननीय ज्ञानेन्द्रबहादुर शाहीसहित नेपाली क्रिकेट प्रेमीहरू सन्दीप लामिछानेको न्यायका लागि सडकमा उर्तिनुभएछ। उहाँहरूले सन्दीपलाई भिषा उपलब्ध नगराएकोमा अमेरिकी दूतावासको आलोचना गर्नुभएछ।

सन्दीपको भिषाको सन्दर्भमा अहिले अमेरिकी दूतावासलाई दोषी ठहर गर्नु उचित हुँदैन। मेरो विचारमा यसको सबैभन्दा ठूलो दोषी क्यानका पदाधिकारी (विशेषत् अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का) हुन्। 

आजको मितिसम्म क्यानले विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको नाम संशोधन गरेको छैन। यसको अर्थ हो, सन्दीपलाई अहिलेसम्म १५ सदस्यीय टोलीमा समावेश गरिएको छैन। विश्वकप खेल्ने राष्ट्रिय टोलीमा समावेश नभएको खेलाडीलाई भिषा उपलब्ध गराउन अमेरिका बाध्य छैन।

उसले एक महिनाअगाडि उडेको १५ सदस्यीय राष्ट्रिय टोलीलाई भिषा उपलब्ध गराइसकेको छ। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले खेलाडीको नाम सच्चाउन दिएको अन्तिम मितिसम्म क्यानले सन्दीपको नाम समावेश गरेर, एउटा खेलाडीलाई ‘ड्रप’ नगर्दासम्म भिषा पाउने सम्भावना छैन।

चतुरबहादुर र पारस मिलेर अहिले नेपाली क्रिकेट प्रेमीलाई ‘वेवकुफ’ बनाइरहेका छन्। मन्त्री, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको क्वाटर धाएको देखाएर पारसले जति नै आफू सन्दीपका लागि ‘मरिमेटेको’ देखाउन खोजे पनि, त्यो नेपाली खेलकुद प्रेमीलाई ‘मुर्ख’ बनाइरहेको हो।

उनी सन्दीपले यो विश्वकप खेलोस् भन्ने चाहन्छन् भने मन्त्रीहरू कहाँ धाउनै पर्दैन। क्यानको १५ सदस्यीय टोलीमा एक जना खेलाडीलाई ‘ड्रप’ गरेर सन्दीपलाई समावेश गर्ने वित्तिकै अमेरिकी दूतावासले ‘खेलाडीको स्टाट्स’ मा सन्दीपको भिषा स्विकार गर्छ।

तर, किन हो, उनी १५ सदस्यीय टिममा सन्दीपलाई समावेश गरेर राष्ट्रिय टोलीको नाम सार्वजनिक गर्न चाहिरहेका छैनन्। यो उनको निजी कुरा हुनसक्छ। तर, नेपाली क्रिकेट प्रेमीलाई त्यो स्विकार्य छैन। 

नोटः यसैबीच क्यान अध्यक्ष सन्दीपलाई अन्योलमा छोडेर श्रीमतीसहित अमेरिका उडिसकेका छन्। उनी क्यान अध्यक्षको नाताले होइन। राष्ट्रिय टोलीको १० सदस्यीय स्टाफको रूपमा अमेरिका उडेका हुन्। यो निकै लज्जाको विषय हो।

–अर्याल खेलकुद इतिहासविद् हुन्। 

प्रकाशित मिति: : 2024-05-29 20:52:00

प्रतिकृया दिनुहोस्