प्रतिनिधिसभाकाे बैठक आज (बिहीबार) बस्दैछ।
बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ। बैठकका लागि संसद सचिवालयले ९ वटा कार्यसूची तय गरेकाे छ।
मंगलबार पारित हुन नसकेकाे धन्यवादकाे प्रस्ताव पनि कार्यसूचीमा समेटिएकाे छ।
सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रकाे व्यहाेरा पढेर सुनाउने कार्यसूची रहेकाे छ।
सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ।
त्यस्तै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्नेछन्।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपतिले गरेकाे सम्बाेधनकाे प्रति टेबलु गर्ने कार्यसूची रहेकाे छ।
त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिकोप्रतिवेदन, २०८०’ पेश गर्ने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रबि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।