भारतको उत्तर प्रदेशलाई ‘प्रधानमन्त्रीको राज्य’ भन्ने गरिन्छ। ‘नेहरूदेखि मोदीसम्म’ लोकसभा निर्वाचन जितेका कीर्तिमानी नौ सांसदले प्रधानमन्त्री बनेर देशको बागडोर सम्हालेपछि उक्त विशेषण भिराइएको छ।
उत्तर प्रदेशबाट निर्वाचित नौ मध्ये चार पण्डित जवाहरलाल नेहरू, लालबहादुर शास्त्री, इन्दिरा गान्धी र राजीव गान्धी काँग्रेसी नै थिए। यसबाहेकका पाँच गैरकाँग्रेसीमा चौधरी चरण सिंह, विश्वनाथ प्रताप सिंह, चन्द्रशेखर, अटल बिहारी वाजपेयी र नरेन्द्र मोदी हुन्।
९–९ जना सांसदलाई यूपीका जनताले दिल खोलेर भोट दिइसकेका छन्। पूर्वप्रधानमन्त्री विश्वनाथ र अटल बिहारीले आफ्नो राजनीतिक करियरमा उक्त प्रदेशबाट पटक–पटक लोकसभा निर्वाचन जितेका थिए।
त्यस्तै, फूलपुरबाट पण्डित नेहरू र विश्वनाथ। इलाहाबादबाट लालबहादुर र विश्वनाथ, रायबरेलीबाट इन्दिरा, बागपतबाट चौधरी चरण सिंह, अमेठीबाट राजीव, फतेहपुरबाट फेरि विश्वनाथ, बलियाबाट चन्द्रशेखर, लखनऊ र बलरामपुरबाट अटल बिहारी र वाराणसीबाट मोदीले जितेका हुन्।
राजनीतिक रुपमा उत्तर प्रदेशलाई ‘प्रधानमन्त्रीको राज्य’ भनिएपनि सामाजिक र आर्थिक हिसाबले कुनै बदलाब देखिँदैन। पण्डित नेहरूको लोकसभा निर्वाचन क्षेत्र फूलपुरको अवस्था सबैभन्दा खराब छ। बाँकी निर्वाचन क्षेत्रको अवस्था पनि त्यस्तै देखिन्छ।
यतिबेला एउटा गम्भीर प्रश्न छ, उत्तर प्रदेशले नौ वटा प्रधानमन्त्री दियो। तर मतदाताले आखिर के पाए ? जवाफमा भन्ने गरिएको छ, के हिन्दू–मुस्लिमको दंगा र राम मन्दिर मात्रै हो?
उत्तर प्रदेशलाई अन्यत्रको तुलनामा गरिबीले झन् गाँजेको छ। बेरोजगारीको उस्तै अवस्था छ। ‘यूपीमा फेरिएको योगीको डोजर आतंक र प्रधानमन्त्री नरेन्द्र मोदीको गफ मात्रै,’ अधिकांश तटस्थ मतदाताको भनाइ हो यो।