कांग्रेसले भन्यो- कानुनको बेवास्ता गर्दै प्रदेशसभा अधिवेशन आह्वान गर्नु असंवैधानिक

File Photo
File Photo

नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा अधिवेशन आह्वान गर्नु गैरसंवैधानिक भएको बताएको छ।

बुधवार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक भएको उल्लेख गरेका छन्।

‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक कार्य हो। यसप्रति गम्भीर सहमति जनाउँदै यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने हुँदा यसको जिम्मेवार सम्बन्धित पक्षहरू हुने समेत स्पष्ट पार्दछौँ’, उनले भनेका छन्।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गते शुक्रबार ३ बजेदेखि आरम्भ हुनेगरी प्रदेश अधिवेशन आह्वान गरेका छन्।

गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका खगराज अधिकारीको नियुक्ति विवादमा रहेको छ। बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्ने क्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उनको नियुक्ति अहिले विवादमा रहेको छ। उनको नियुक्तिको विषयमा सर्वोच्च अदालतले वैशाख १० गते पूर्ण सुनुवाइ गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

प्रकाशित मिति: : 2024-04-17 17:19:00

प्रतिकृया दिनुहोस्