आयातित बस्तुले त काम चलाउन सकिएला तर आयातित विचारले देश चलाउन गाह्रो छ। आज हुर्कँदै गरेका विद्यार्थी पछिका जिम्मेवार प्रतिनिधि पात्र हुन्। आज उनीहरू कसरी हुर्कँदै छन् भन्ने कुराले भोलिको हाम्रो देशको भविष्य निर्धारण गर्छ।
उनीहरूले के देखिरहेका छन्, उनीहरू के भोगिरहेका छन्, उनीहरू के पढिरहेका छन् र सबैभन्दा महत्त्वपूर्ण उनीहरू यो सबैबाट के बुझिरहेका छन् भन्ने कुराले ठुलो मूल्य राख्दछ। हामीले बच्चालाई प्रश्न गर्न मात्र सिकाएर पनि पर्याप्त नहुने रहेछ।
अब कहाँ र कोसँग कस्तो प्रश्न गर्नुपर्छ भन्ने चेत पनि दिन जरुरी छ। नत्र देशमा सबै प्रश्न गर्ने मात्र जन्मनेछन्। उत्तर कसले दिने? सबै समस्या मात्र औंलाउने भए समाधान कसले दिने? कसले खोज्ने?
अंशै बन्डा गर्ने हो भने पनि यो देशका एक करोड टुक्राहरूमध्ये एउटा टुक्रामाथि मेरो पनि छाप्रो हुनेछ। यो देशका असङ्ख्य बगरहरूमध्ये एउटा बगरमाथि मेरो पनि चिता हुनेछ।
आजभन्दा छ दशक पहिले संवत् २०२४ सालमा भूपी शेरचनले हाम्रो राष्ट्र नेपाललाई ‘यो हल्लै–हल्लाको देश हो’ भन्दै एउटा अर्को हल्लालाई जन्म दिएका थिए। यो चेत बिस्तारै विकास हुने हो भने बाटो आफैँ खुल्न थाल्छ।
जबसम्म मानिसले अपनत्वको भारी बोक्दैन तबसम्म सुधारको आवश्यकता ऊ देख्दैन। त्यसकारण पनि हामीले हाम्रो वरिपरिको परिवेशलाई राम्रोसँग बुझ्न अनि खेस्राखेस्रा केलाउन जरुर छ।
गलतलाई देखेर पनि नदेखे झैँ गर्ने कुन नैतिक शिक्षाको किताबले सिकाउँदै छ? ए साँच्ची पाठ्यक्रममा नैतिक शिक्षा नै छैन है। यदि भोलिको आफ्नो भविष्य सुरक्षित चाहिएको हो भने आज भइरहेको गलतका विरुद्धमा आवाज उठाउनुपर्छ।
तर के त्यसको लागि राजनीति नै गर्नु पर्छ? के विद्यार्थी माथि हुने गलतको विरोध गर्न विद्यार्थीले राजनीति गर्नै पर्छ? के विना राजनैतिक पृष्ठभूमी बोलेको बोलीको कुनै मूल्य हुन्न? कि पुग्दैन कुरा ठाउँमा?
अलिकति पृष्ठभूमिमा बुझाैँ। पहिलेका विद्यार्थी नेता, वर्तमानका युवा नेताहरू केही काम नपाएर विद्यार्थी राजनीतिमा लागेका थिए होलान् र? पढाइले राम्रो जीवन दिन्छ, मान–सम्मान पनि दिन्छ भन्ने जान्दाजान्दै पनि पढाइ भन्दा बढी महत्त्व राजनीतिलाई दिई विद्यार्थी राजनीतिमा किन लागे होलान् ती?
अनि गज्जबको कुरा विद्यार्थी राजनीति गरेबापत उत्पन्न त्यो अभाव र दबाबको बोझ भने उनीहरू कुनै झर्को नमानी बोक्थे किनभने ती दिनहरूमा उनीहरूसँग सपना थियो। विद्यार्थी राजनीतिमा मात्र होइन त्यस बखतको समयमा हरेक क्षेत्रमा आदर्शका रूप थिए बिपी, गणेशमान, किसुनजी, पारिजात, भूपी, नातिकाजी, गोपाल योन्जन, नारायण गोपाल, हर्क गुरु र यस्तै यस्तै आदर्शहरू...
के आजको विद्यार्थी राजनीतिमा कोही आदर्श छ? के आजको विद्यार्थी राजनीतिमा आदर्श व्यक्तिको सूची बनाउन सकिन्छ? कदाचित कुनै सूची बन्यो भने के त्यो सूचीले युवा वर्गमा व्यापक अनुमोदन प्राप्त गर्न सक्ला? अनि त्यो आदर्श कति दिन टिक्ला? के नेपालको प्राज्ञिक जगमा कुनै नाम यस्तो छ जसको कुनै कृति महेशचन्द्र रेग्मी, डोरबहादुर बिस्ट, हर्क गुरूङ, सत्यमोहन जोशी, नरहरि आचार्यका कृतिको छेउछाउमा उभिन सकोस् के त्यस्तो कुनै नाम छ?
आज हाम्रा विश्वविद्यालयहरूमा त्यो स्तरका मान्छेहरू किन छैनन् जसलाई टाढैबाट हेर्दा श्रद्धा जागोस्, तिनीहरू हाम्रो छेउबाट निस्किदा मनमा स्वचालित रूपले नमन भाव जागोस्, उनीहरू आउँदा बाटो छोडेर एक छिन उभिएर सम्मान गर्न मन लागोस्।
यो अवस्थामा मेरो मनमा संस्कारलाई लिएर विभिन्न तरङ्ग पैदा भैरहन्छन्। के आजको विद्यार्थी राजनीतिमा सम्मान गर्न लायक मान्छेहरू सकिएकै हुन? के विद्यार्थी राजनीतिमा अब नकारात्मकताको भाष्यबाहेक केही पनि छैन? के नकारात्मकता मात्रै आजको विद्यार्थी राजनीतिको मूल प्रवाह हो? के परनिन्दा गर्नु, खण्डन गर्नु मात्र हामी एक हुनुको अर्थ हो?
अथवा कसैलाई राम्रो देख्ने रसायन नै विद्यार्थी राजनीतिमा अब सुकिसक्यो? वा विद्यार्थीले आदर्श मानेका कयौंले पालैपालो आफूलाई कहिले यो खाल्डोमा त कहिले त्यो खाल्डोमा, फसाउँदै गएको अवस्था हो?
कुनै पनि क्षेत्रका नेताले किन आफूलाई आदर्श नेताको रूपमा स्थायित्व राख्न सक्दैनन्? के आदर्श नेता, संस्कार सहितको नेतृत्व अब एक असम्भव परिकल्पना मात्र हो? के विद्यार्थी राजनीतिमा भएका आदर्शहरूले आफ्नो स्वभावीक हत्या गरेका हुन्? वा अरूद्वारा मारिएका हुन्? वा तिनीहरू नै आफ्नो स्थानमा बस्न नसकेर आफ्नो आदर्शको आत्मा हत्या गरेका हुन्?
कारण जे सुकै होस् विद्यार्थी राजनीतिबाट संस्कार र आदर्श हराउँदै गएको सत्य हो। यसको प्रत्यक्ष प्रभाव आजको युवा अनि विद्यार्थीमा पनि देख्न सकिन्छ। विद्यार्थी राजनीतिमा संस्कारको आदर्शहरू कुन रूपमा वा प्रक्रियाबाट लोप भए के तिनीहरूको मृत्यु स्वाभाविक भयो वा जानीजानी तिनीहरूको हत्या गरियो?
अहिलेको विद्यार्थी राजनीति कसैले कसैलाई गन्नै छाडेको अवस्था छ। सिवाय आफ्नो पक्ष, आफ्नो गुट र गुटको नेता त्यो पनि आफ्नो निजी स्वार्थ पूरा भइन्जेल, व्यक्तिगत स्वार्थ मिलुन्जेलसम्म युवा पुस्ताका लागि नेपालमा कुनै बिराट आदर्श बाँकी रहेजस्तो मलाई लाग्दैन।
तर हामी पनि यही भनेर मूकदर्शक भएर बस्यौँ भने अबको १० वर्ष पछिको पुस्ताले पनि त हामीलाई यसरी नै धिक्कार्ने छन् जसरी हामी धिक्कार्दै छौँ अघिल्लो पुस्तालाई। त्यसकारण हामीले कसरी यो टिलपिलाउँदै गरेको संस्कारको आदर्शलाई समाजमा जोगाइराख्न सक्छौँ। यसमा बहस र छलफल गर्न आवश्यक छ। विशेष गरी विद्यार्थी राजनीतिमा यो छलफल गर्न आवश्यक छ।
हामीले यी प्रश्नहरूको सन्तोषजनक जवाफ नखोजिकन नेपालको राजनीतिक अवस्थाबारे बाँकी प्रश्न उठाउनु मात्र अज्ञानताको परिचय हुन्छ। प्रश्न उठाउनुसँगै जवाफ खोज्नाले अवस्था सुधारमा टेवा पुर्याउछ। प्रश्नबाट प्राप्त हुने उत्तर हाम्रा लागि महत्वपूर्ण साबित हुनेछन्।
अझ चुरो कुरो भन्नु पर्दा नेपालका कतिपय विश्वविद्यालयमा पढाउने कतिपयलाई सूचना र ज्ञानबीचको अन्तरसम्म पनि थाहा छैन। सुलभ सूचनाको युगमा हिजोको युग जस्तै केही पनि फगत सूचना हात परेको भरमा विशेष प्राज्ञिकको दाबी कसरी गर्न मिल्छ?
हिजोका कयौँ विशिष्टहरू गुगल क्रान्तिपछि ईज सामजन्यमा परिणत भएका छन्। जीवनको हर क्षेत्रमा आकर्षणको रड खुइलिएको छ। विद्यार्थी राजनीतिमा संस्कार र आदर्श हराएको छ। विद्यार्थी राजनीतिमा फजुलको होहल्ला गरेर अहोरात्र तमासा उत्पन्न गर्नु भन्दा समस्या समाधानमा सानै तहबाट भए पनि सघाउनु शेष कर कर्म हुन्छ।
विद्यार्थी राजनीतिमा मनपरी आलोचना गरेरै कतिपय समाजका आदर्श व्यक्तिलाई सडकमा पुर्याएका र भेलु बाजे जस्ता मान्छेलाई आदर्श सेलीब्रेटी बनाउने यो जगतले पनि समाजको संस्कारमा धक्का पुर्याईरहेका छन्। यहाँ भेलु जस्ता प्रतिनिधि पात्र चर्चित हुनु दुःखद कुरा होइन। तर वास्तवमै राष्ट्र र आम नेपालीका निम्ति अहोरात्र खटिएकाहरूलाई कौडीमा नगन्नु समाजमा राम्रो सङ्केत भने पक्कै होइन।
सम्भावना, समाधान, सीमितता र विद्यार्थी राजनीतिको आदर्श मरेको समाज कहिल्यै अगाडी बढ्न सक्दैन। जहाँ टेक्यो त्यहीँ खाल्डो पर्ने देशमा चर्को स्वरमा कराउँदैमा, चर्को समस्या देखाउँदैमा समाधान हुँदैन। यो त जसले पनि गर्न सक्छ।
समस्याको जगमा बसेर ठुलो स्वरमा चिच्याएबापत ठुलो नेता, ठुलो मिडियावाला बन्न खोज्नु ठुलो काम होइन। यो जसले पनि गर्न सक्छ। तर हामी त्यहीँ समस्या समाधान, सिमिततालाई गहिरो तरिकाले बुझ्ने औकात विद्यार्थी राजनीतिज्ञले राख्छौँ कि राख्दैनौँ त्यो महत्त्वपूर्ण छ।
के हामी शान्त भावले उत्तेजित नभइ एक अर्काका कमी कमजोरीहरूप्रति अलिकति करुणा राखेर, अलिकति सहानुभूति देखाएर, छलफल गर्ने अनि समाधान खोज्ने क्षमता राख्छौँ? कि विद्यार्थी राजनीतिमाको क्षमता अरूलाई गलत देखाउने मात्र हो? वास्तविक रूपमा विद्यार्थी राजनीतिको कुरा गर्नुभन्दा पहिले यसको इतिहास हेरौँ जसले निकै अर्थ राखेको छ राज्यमा।
नेपाली विद्यार्थी राजनीतिको कुरा गर्दा वि.स १९९१ सालमा भारतको बनारसमा तत्कालीन राणा शासनकाविरुद्ध आवाज उठाउनका निम्ति नेपाल विद्यार्थी सङ्गठनको स्थापना गरियो। यसका संस्थापक गङ्गालाल थिए। हामी धेरैले गङ्गालाललाई एक सहिद भनेर मात्र चिन्छौँ। तर उनी विद्यार्थी आन्दोलनमा राणाहरूबाट मारिएका पहिलो विद्यार्थी सहिद हुन् जसले विद्यार्थी राजनीतिको तत्कालीन आवश्यकता र महत्त्वको इतिहास बोल्छन्।
त्यसपछि नेपाली विधार्थीहरूले २००१ मा हिमानचल विधार्थी संगठनको स्थापना गरे जसको उदेश्य पनि राणाहरूको विरूद्दमा आवाज उठाउनु थियो।
जय तु संस्कृतमा २००४ नेपालको पहिलो विद्यार्थी आन्दोलन थियो। आन्दोलनको मुख्य उद्देश्य नेपालमा आधुनिक विषयहरू science, Business , economics , mathematics, geology आदिको पढाइ हुनुपर्ने माग थियो। किनकि त्यतिबेला नेपालमा धार्मिक विषय मात्र पढाई हुन्थ्यो र त्योबेला राणाहरूले शैक्षिक संस्थाहरू खोल्नमा बन्देज लगाएका थिए।
किनकि स्कुल विद्यालय खोलिए भने सर्वसाधारण सबै जान्ने बुझ्ने हुन्छन् र आफ्नो सत्ता धरापमा पर्ने कुरा राम्रो सँग बुझेको थिए राणाहरूले। सोही व्यवस्था अन्त्यका लागि जय तु संस्कृतमा विद्यार्थी आन्दोलन गरिएको थियो।
त्यसपश्चात् वि.स २००६ सालमा All Nepal students Federation (ANSF) को स्थापना भयो। पछि वि.स २००७ सालमा राणा शासनको अन्त्य भइ नेपालमा प्रजातन्त्रको उदय भयो। यसपछि नेपालका राजनीतिक सङ्घ सङ्गठनमा लागेको प्रतिबन्ध पनि फुकुवा त भयो तर यो प्रजातन्त्र धेरै समयसम्म टिक्न सकेन। राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र माथि कू गरे त्यसपछि नेपालमा पञ्चायत शासनकाल सुरु भयो। पञ्चायत कालमा फेरि राजनीतिक दललाई प्रतिबन्ध गरियो। त्यो सँगै रोकियो विद्यार्थी राजनीति पनि केही वर्ष।
पञ्चायत शासनले गरेको प्रतिबन्धका कारण कुनै पनि राजनीतिक दलहरूले खुलेर जनतासम्म प्रजातन्त्रकाबारेमा साक्षात्कार गर्न नपाइने भएपछि विभिन्न दलहरूले आफ्ना–आफ्ना Student unionsको स्थापना गरे र जसका माध्यमबाट आम युवा वर्गमा प्रजातन्त्रका बारेमा सचेत गराइरहेका थिए।
त्यही क्रममा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले आफ्नो Student Wings All Nepal National Free Student union स्थापना गर्यो। त्यसपछि २०२७ सालमा नेपाली काँग्रेसले पनि Nepal student union स्थापना गर्यो जसको नेतृत्व शेर बहादुर देउवाले लिएका थिए। र तिनै विद्यार्थी सङ्गठनमार्फत राजनीतिक दलहरू विद्रोह गरिरहेका थिए।
त्यसपछि २०३६ सालमा संयुक्त विद्यार्थी सङ्गठनले पञ्चायत विरोधी वृहत् आन्दोलन गर्यो। जसकारण राजा वीरेन्द्रले २०३७ सालमा जनमत सङ्ग्रह गर्न बाध्य भएका थिए। त्यसपश्चात् राजा ज्ञानेन्द्रले २०६२/६३ मा राज्यको सबै शक्ति आफ्नो कब्जामा लिए। त्यति बेलाको Undemocratic सरकारका विरुद्धमा नेपालका विद्यार्थी सङ्गठनहरू सड्कामा उत्रिए अनि सुरु भयो १९ दिने जनआन्दोलन।
अहिलेका विद्यार्थी सङ्गठनलाई राजनीति गर्न सजिलो छ नकुनै व्यवस्था फाल्ने टड्कारो न हतार। बस काम गर्नु छ प्रणाली बसाल्न। तर स्थिति फरक छ। विद्यार्थी राजनीतिज्ञहरू आफ्नो पार्टी सत्तामा हुँदा चूँसम्म गर्न नसक्ने तर प्रतिपक्षमा हुँदा अनेक बहानामा सडक तताउने काम गरिरहेका भेटिन्छन्। जतिबेला भए पनि विद्यार्थीको हक हितका निम्ति विद्यार्थी सङ्गठनहरू जब पछाडि पर्दछ तब यिनीहरूको अस्तित्व कम हुँदै जान्छ जुन अहिले भइ पनि रहेको छ।
अब वर्तमान विद्यार्थी राजनीतिको पनि कुरा गरौँ
आखिर कहाँ हुन्छ विद्यार्थी राजनीतिको जग। अनि कहाँ हुन्छ यो अडिने पिलर। उद्देश्य त सबैलाई थाह छ। विद्यार्थीको हितमा बोल्ने अनि विद्यार्थीको हितमा लड्ने। विद्यार्थी राजनीति र विद्यार्थी राजनीतिज्ञ फरक भइकन पनि एक हुन्।
विद्यार्थी राजनीति गर्नेलाई विद्यार्थी नेता भनिन्छ। तर जब–जब हामी विद्यार्थी राजनीतिज्ञको कर्म काण्ड खोतल्दै जान्छौँ, तब विद्यार्थी राजनीतिको उद्देश्य अलि फरक रहेको महसुस हुन्छ, सायद भनिएको भन्दा धेरै फरक।
वर्तमान परिवेशमा विद्यार्थी नेताहरू विद्यार्थीका लागि कम, पार्टीका नेताका लागि बढी खटिने गरेको तथ्य पनि छ। कुनै पनि राजनीतिक दललाई राम्रोसँग थाहा छ युवाको महत्त्व। युवाको जोस अनि सिर्जनशीलताबारे जानकार छन् पार्टीहरू।
आम जनमानसमा दशकौँदेखि विद्यार्थी सङ्गठनबाट उठ्ने आवाज विद्यार्थीको नै हो भन्ने विश्वास र सायद भ्रम दुवै छ। यसको फाइदा उठाउँदै राजनीतिक दलहरूले सङ्गठनको ढाडबाट आफूले बन्दुक चलाउने गरेका छन्। अर्थात् आफ्ना ठुला–ठुला स्वार्थपूर्ण एजेन्डा बाहिर ल्याउन होस् या विपरीत पार्टीलाई सिद्ध्याउन होस् विद्यार्थी नेताहरूको राम्रो प्रयोग हुने गरेको छ।
अहिलेका विद्यार्थी सङ्गठनहरू केही विषयमा बोल्नु अघि माथिको आदेश कुर्ने गर्छन् यसरी गलत गरेरै भए पनि पार्टीको उपल्लो ओहोदामा रहेकालाई रिझाउने र उनीहरूको आँखामा पर्ने होडमा बेरिँदै छ विद्यार्थी राजनीति। वर्तमान समयमा चल्दै गरेको जुन पीढी हो त्यो युवा हो।
युवा पुस्ताको राजनीति भनेर उही पुरानो बिपी र मदन भण्डारीको उदाहरण दिइरहन नपरोस्। कहिले कहीँ युवाको भाषण सुन्दा उनीहरू भनिरहेका हुन्छन् हामीले राणा फाल्यौँ, पञ्चायत फाल्यौँ, राजा फाल्यौँ, अनि हामीले लोकतन्त्र ल्यायौँ।
अहिलेका युवा राजनीतिकर्मीमा अध्यनशील, मिहिनेत, ज्ञान, यसको मूल्य लगभग शून्य भएको छ। आन्दोलन कै आडमा गैर कानुनी कृत्य गर्छन् र ती अपराधीलाई राजनीतिक संरक्षण दिइन्छ। के विद्यार्थी राजनीतिको मूल अभिप्राय: विश्वविद्यालय महिनौँसम्म तालाबन्दी गर्ने हो? भौतिक संरचना तोडफोड गर्ने हो? शिक्षकलाई धम्काउने, प्रश्न पत्र चुहावट गर्ने, चिट चोर्ने र चोराउने, आफ्ना सङ्गठनका विद्यार्थी छुट्ट्याएर छात्रवृत्ति दिलाउने र अनेक बहानामा पठनपाठन ठप्प गर्ने! यही हो विद्यार्थी राजनीतिको धर्म र मर्म? मेरो विचारमा यस्तो क्रियाकलाप गर्ने राजनीतिक संरक्षणमा रहेका दुई खुट्टे जन्तु हुन्। विद्यार्थी नेता होइनन्।
यदि तपाईं हामी यस्ता प्रवृत्तिको उन्मुलनतिर लाग्यौँ भने सम्मान कमाउन गारो भने पक्कै छैन। नेता बन्न पहिले स्वार्थ त्याग्ने मुटु राख्नुहोस्। नेता बन्न कार्यकर्ता जम्मा गर्न पट्टी होइन नेतृत्व गर्न सक्ने क्षमतावान् युवाको सामूहिक कर्म गर्न पट्टी लाग्नुहोस्।
विद्यार्थीको नाम बेचेर पार्टीको स्वार्थपूर्ति गर्न पट्टी होइन। विद्यार्थीको मिल्ने साथी बन्नुहोस्, जोसँग विद्यार्थीले सुख दुःख साट्न सकोस्। यत्ति मात्र गरियो भने विद्यार्थी राजनीतिले सार्थकता कसो नपाउला र!