राष्ट्रियसभाका उम्मेदवार चयनमा कांग्रेसका दुई नेताकाे फरक मत

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयनको विषयलाई लिएर नेपाली कांग्रेसका दुई नेताले फरक मत राखेका छन्।

उम्मेदवार चयनलाई लिएर कांग्रेस नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले ५ बुँदे फरक मत राखेका हुन्।

केन्द्रीय कार्यसमिति बैठकले बनाएकाे मापदण्डलाई ठाडो उल्लङ्घन र पार्टीको संस्थागत निर्णयप्रति अविश्वनीयता खडा गरेकाे बताएका छन्।

‘राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार तय गर्नेबारे पौष १४, २०८० को कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय, ‘प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरूमध्ये भौगोलिक तथा जातीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुऱ्याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिवद्ध, स्वच्छ छवि भएका, हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका, योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने....’ भन्ने व्यवस्थालाई ठाडो उल्लङ्घन र पार्टीको संस्थागत निर्णयप्रति अविश्वनीयता खडा गरेको छ’, दुई नेताले मतमा उल्लेख छ।

उनीहरूले उम्मेदवार चयनमा गम्भीर त्रुटि र स्वच्छाचारिता स्पष्ट देखिएको भन्दै टिप्पणी गरेका छन्।

‘संसदीय बोर्डले विधानअनुसार आजसम्म पूर्णता पाएको छैन, जुन उम्मेदवार छनोटको अनिवार्य वैधानिक शर्त हो। यसबाट प्रक्रियागत गम्भीर त्रुटी र स्वेच्छाचारिता स्पष्ट देखिएको छ’, नेताद्वयले जारी गरेकाे पत्रमा भनिएकाे छ।

समग्र मधेस प्रदेशबाट मधेसी समुदायबाट प्रतिनिधित्व हुन नपाएको भन्दे उनीहरूले विज्ञ, बौद्धिक, व्यावसायिक र पेशागत वर्गलाई पूर्ण रुपमा उपेक्षा गरिएको दाबी गरेका छन्। 

उम्मेदवार चयनमा समावेशिताको संवैधानिक सिद्धान्तलाई उल्ङ्घन गरिएको उनीहरूकाे भनाइ छ।

नेताद्वयले भनेका छन्, ‘समग्रतामा उम्मेदवार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली पार्टी र आम भावनाविपरीत भएकोले राष्ट्रियसभा उम्मेदवार चयनको हालैको निर्णयमा असहमत भएकोले यो फरक मत प्रस्तुत गरेका छौं।’

प्रकाशित मिति: : 2024-01-08 15:15:00

प्रतिकृया दिनुहोस्