विश्वकप खेल्ने सपना छोडेर अब अमेरिका बसाइँ सर्दैछिन् क्रिकेटर ज्योति

बुधबार विभागीय टोलीले एपिएफ क्लब(सशस्त्र प्रहरी) ले पाँचौँ पटक प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधि जित्यो।

खेल जितेसँगै जितको खुसी मनाउँदै नेपाली महिला राष्ट्रिय टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले खेल जीवनबाट सन्न्यासको घोषणा गरिन्।

उनलाई टोलीले गार्ड अफ अनरको सम्मान दिएको थियो। बुधबार कोशीविरुद्धको फाइनल खेलमा पनि ज्योतिले राम्रै प्रदर्शन गरेकी थिइन्। उनी कोशीविरुद्ध २७ रन बनाएर आउट भइन्।

राष्ट्रिय टोलीमा मात्र नभइ उनी एपिएफको पनि बलियो सदस्य हुन्। 'आज बिहानबाटै म एकदमै इमोसनल भएकी थिएँ। आज मेरो खेल जीवनको अन्तिम टुर्नामेन्ट हो भन्दै सोचिरहेँ, साँच्चै खेल जीवन छोड्दा गाह्रो हुँदोरहेछ’, सन्न्यास लिएपछि पत्रकारहरूसँग उनले भनिन्।

विराटनगरमा जन्मेकी ज्योति सन् २०११ देखि एपिएफबाट खेल्दै आइरहेकी थिइन्। एपिएफको नियमित सदस्य उनी एपिएफलाई पाँचौँ पटक प्रधानमन्त्री कप टी-२० प्रतियोगितामा जिताउन मुख्य भूमिका खेलेकी थिइन्। बुधबार भएको खेलमा पनि उनले टोलीलाई एउटा महत्वपूर्ण योगदान दिइन्।

ज्योतिले एपिएफमा १२ वर्षसम्म खेलिन्, लामो समय एउटै क्लबमा आबद्ध भएर त्यहीँबाट सन्न्यास लिनुपर्दा उनी भावुक भएकी थिइन्।

क्लबमा आबद्ध भएको झन्डै पाचँ वर्षपछि अथार्त् २०१६ मा मात्रै उनले राष्ट्रिय टोलीमा स्थान पाइन्। सन् २०१६ मा वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध उनले राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्। त्यसपछि ज्योति राष्ट्रिय टोलीमै रहेर नियमित खेल्दै आएकी थिइन्।

'यो कदम लिएपछि खुसी पनि छु, दु:खी पनि छु। मैलै मेरो टोली छोडेँ, खेल्न त अन्तिम समयसम्म खेल्न चाहन्थे। तर सधैँ सोचेको जस्तो हुँदोरहेनछ', ज्योति भन्छिन्, 'योभन्दा बाहेक मेरो अरू जीवन पनि छ, त्यसैको लागि तयार हुँदैछु।'

क्लबमा झन्डै १२ वर्ष र टोलीमा ७ वर्ष खेलेकी ज्योतिले महिला क्रिकेटमा एक दशक बिताइन्।

आफ्नै घरवरिपरि क्रिकेट खेल्दै आएकी ज्योतिका बुबा पनि किकेट प्रशिक्षक हुन्। बुबा प्रशिक्षक भएको कारणले आफूलाई पनि क्रिकेटमा रूचि भएको ज्योतिले बताइन्।

‘मेरो बुबा आफैँ पनि प्रशिक्षक भएका कारण क्रिकेट एउटा मोह थियो। मैले जति पनि किक्रट खेलेँ, एकदमै मनदेखि नै खेलेँ। मैले क्रिकेटबाट जे जे पाएँ, त्यो कुराबाट खुसी छु', ज्योतिले भनिन्। उनले नेपालको लागि १७ वटा टी-२० खेलिसकेकी छिन्।

उनी नेपाली महिला टोलीमा पाँचौँ धेरै रन जोड्ने खेलाडीमा परेकी थिइन्।

‘करिअर सम्झिँदा एकदमै गाह्रो त हुन्छ नै, अब किक्रेटमा भएको एकदमै राम्रा कुराहरूलाई सम्झिन्छु, यहाँभित्र भएको नराम्रो कुरालाई बिर्सन्छु’, ज्योतिले भन्छिन्, 'रामो पक्षलाई सम्झेर अघि बढ्न चाहन्छु।'

लामो समय एपिएफ क्लबमा बिताएकी उनले त्यहाँ रहँदाको हरेक क्षणा याद आउने बताइन्। राष्ट्रिय टोलीमा भन्दा पनि उनले घरेलु प्रतियोगितमा भने उत्कृष्ट प्रदर्शन दिदैँ आइरहेकी थिइन्। 

'मैले नै क्रिकेट खेल्न सुरू गर्दा नेपाली महिला क्रिकेटको त्यस्तो हाइट थिएन तर अहिले महिला क्रिकेटमा क्रेज बढेको छ’, उनी भन्छिन्, ‘मलाई विश्वास छ नेपाली महिला क्रिकेट अझै उचाइमा पुग्नेछ।’

अघिल्लो वर्ष विवाह गरेकी उनले अब बाँकी जीवन अमेरिकामा बिताउनेछिन्। खेल जीवनबाट सन्न्यास लिएकी ज्योति अब चाँडै सपरिवार अमेरिका बसाइँ सर्दैछिन्।

‘मैले विश्वकप खेल्न पाइनँ, यही नै अब मेरो अधुरो सपना रह्यो। विश्वकपमा छनोट हुने पनि रहर नै थियो', उनले भनिन्, 'तर क्रिकेटको करिअरमा जति गरेँ, त्यत्तिमा खुसी छु।’

प्रकाशित मिति: : 2024-01-03 18:05:00

प्रतिकृया दिनुहोस्