लुकामारी खेल्दै गरेको बादलले झैं जीवनमा लुकामारी खेलिरहेकै छ, सपना, कल्पना र संघर्षको लहरले।
नदीका छालहरूझैं छचल्किएकै हुन्छन् मनमा भावका तरङ्गहरू। लगाइरहेकै हुन्छ, प्राकृतिक सौन्दर्यले पनि छुट्टैखाले मोहनी। मोडैपिच्छे आफ्ना अनेकौँ रूप देखाइरहने समय र परिस्थितिसँग लुकामारी खेलिरहेकै छ जिन्दगी। त्यही जिन्दगीले धैर्यता र लगनशीलताको भारी बोकेर यात्रारत रहन सिकाइरहेकै छ डा. रामजी रामलाई।
संघर्ष र सोचको मैदानमा अथक यात्री बनेको एक मन कहिले विगततिर फर्किन्छ त कहिले बुन्न थाल्छ भविष्यका योजनारुपी जाल। यसरी जिन्दगी चलाइरहने क्रममा बिरामीको एउटा चिकित्सकप्रतिको आश भरोसा, जिज्ञाशाले भावुक तुल्याइदिन्छ। अनि केही नसोचिकन तल्लीन भैदिन्छन्, बिरामीको सेवामा।
आमा सोमारियादेवी बिरामी भैरहने। आमाको उपचार गर्न बेलाबखत धाइरहनु पर्ने हुन्थ्यो काठमाडौंसम्म। आमाको उपचार गराउने क्रममै हो उनको मनमा डा. बन्न पाए हुन्थ्यो भन्ने सोच पलाएको। तर, घरको आर्थिक अवस्था कमजोर थियो। जब उनले डुम, मुसहर, चमार र बादी समुदायका विद्यार्थीहरूलाई डाक्टरी पढ्न पाउने सरकारी नीति रहेको कुरा थाहा पाए अनि अठोट गरे, ‘लागेपुगेसम्म मेहनत गर्छु र डाक्टर बनेर मम्मीको उपचार गर्छु’। तँ आँट म पुर्याउँछु भनेझैं उनले आँट र मेहनतका साथ प्रवेश परीक्षाको तयारी गरे र पहिलो प्रयासमै नाम निकाल्न सफल पनि भए।
त्यतिबेला चिकित्साशास्त्र पढ्न सरकारले तोकेको शुल्क थियो, ३८ लाख ५० हजार। उक्त रकम सरकारले नै तिरिदिने भयो। तर, परीक्षा नजिकिँदै गर्दा कलेजले त्यो भन्दा बढी शुल्क खोज्यो। ‘सरकारले तोकेको भन्दा बढी पैसा म तिर्दिनँ र तिर्नु पनि हुँदैन’ भन्ने अडानमा रहिरहे उनी। अन्तताेगग्वा कलेजले परीक्षा प्रवेश पत्र उपलब्ध नगराइदिँदा परीक्षा दिनबाट बञ्चित हुन पुगे। जुन विषयले सामाजिक संजालमा निकै चर्चा पायो।
चौतर्फी दबाब बढ्दै जान थाल्यो। उनको पक्षमा आवाजहरू बुलन्द रुपले आउन थाले। त्यो पल सम्झिन्छन् उनी, ‘कैयौंले शुभ चिताइ दिनु भयो, मेरो पक्षमा लेखिदिनु भयो, बोलिदिनु भयो। कसैले त पैसा दिएरै पनि सहयोग गर्नु भयो। सबैको लगानी र प्रयासले परीक्षा दिन पाएँ।’ यसरी पुनः परीक्षा फाराम भराई त्रिभुवन विश्वविद्यालको इतिहासमै पहिलोपटक परीक्षा दिनेमा उनको नाम दर्ज हुनगयो।
हरेकपटक परीक्षा दिने समयभन्दा आठ दिन अगाडिमात्रै उनलाई थाहा हुन्थ्यो परीक्षा दिन पाइन्छ कि पाइँदैन भन्ने कुरा। यस्तो तनावपूर्ण परिवेशमा पनि परीक्षामा राम्रै अङ्क ल्याएर सफलता हासिल गरे उनले। उनी बताउँछन्, ‘एकचोटी अप्ठेरोमा परेको मान्छेले बारम्बार अप्ठेरोसँग मुकाबिला गर्नु नपर्ला भन्ने सोचेको हुँदैन। हरेकपल्ट आइनैरहेका हुन्छन् अप्ठेरा पल। परीक्षाको समयमा विद्यार्थीसँग गरिएको व्यवहार, बोलिएका शब्द परीक्षामा सोधिने प्रश्न भन्दा निकै नै भारी थिए। तथापि, मेहनत अनुसारको फल पाएँ। म एक्लै बनेको हैन। म बन्न कतै न कतै साथी, गुरुबर्ग, संघ-संस्था र शुभचिन्तकहरूको हात रहेको छ।’
एमबिबिएस अन्तिम वर्षको परीक्षामा सफलता हासिल गरेको थाहा पाउने बित्तिकै सबैभन्दा पहिले घरमा बुबालाई फोन गर्दै भने, ‘बुवा म पास भएँ।’ छोराको सफलतामा हर्षविभोर बनेका बुबाको मुखारबिन्दुबाट तुरुन्तै एउटा वाक्य निस्कियो, ‘बधाई हो डाक्साब।’
खुसी सँगसँगै त्यो पलले उनलाई अप्ठेरो पनि महसुस गरायो। सधैँ छोरा भनेर सम्बोधन गर्ने बुबाको मुखबाट डाक्साब भन्ने शब्दले उनलाई उकुसमुकुस बनायो। त्यतिबेला निकै भावुक भएको कुरा सम्झिदै बताउँछन्, ‘आमा बुबाले छोराछोरीलाई जहिले नि अँगालोमा राखिराखेका हुन्छन्। डाक्साब भनेको सुन्दा आमाबुबाको काखमै नअटाउने भएँ कि के हो भन्ने लागिरह्यो।’
उनका बुबा भोला महरा चमारले औपचारिक शिक्षा लिन पाएनन्। भैँसी चराउँदा कोही कसैसँग केही कुरा सिके। पछि रामजी विद्यालय जान थालेपछि घरमा उनीसँगै अभ्यास गरेर सावा अक्षर सिके। उनकाअनुसार ‘क’ सिक्न गाह्रो छ। ‘क’ सिकेपछि बाँकी सबै सजिलो भैहाल्छ। छोरासँगै अक्षर चिन्ने अभ्यास गरेका बुबाले आजभन्दा दश वर्षअघि १० जना विद्यार्थीबाट सुरु गरेको क्लासमा हाल ११० जना छन्। सुरुमा एसएलसी परीक्षामा अनुत्तीर्ण भएकालाई मासिक रु. ५० तिर्ने गरी पढाउने व्यवस्था गरिएकोमा हाल सबै तहका बालबालिकाका साथै अभिभावकहरूलाई समेत शिक्षा दिन थालिएको छ। जसको नाम राखिएको छ सम्यक् शिक्षा। जहाँ आफ्नो सर्कलबाट पैसा उठाएर शिक्षकको व्यवस्था गरिएको छ। बिदाको समयको सदुपयोग गर्दै बेलाबेलामा रामजीले समेत कहिले इन्टरनेटका माध्यमबाट त कहिले भौतिक रुपमै उपस्तिति भएर बिहान बेलुकीको समयमा ग्रुप शिक्षण गर्ने गरेका छन्।
बिहानको कक्षामा त्यो दिन विद्यालयमा पढ्नु पर्ने कुराको तयारी गराउँछन् भने साँझको कक्षामा आज के पढ्यो। कति बुझ्योजस्ता कुरादेखि नैतिक शिक्षामा आधारित कथा सुनाउनुका साथै गाउँका मानिसका अनुभव सुनाउने गरिन्छ। पढ्न आउने बच्चालाई उपहारस्वरुप एउटा बिरुवा दिइने गरिन्छ। बच्चाले उक्त बिरुवा हुर्कायो भने पुनः अर्को बिरुवा पाउँछ। विद्यालय जान थाल्यो भने बच्चाको अभिभावकलाई पुरस्कार दिने व्यवस्थासमेत मिलाइएको छ। हाल आफ्नो समुदायका दश जनालाई एमबिबिएस प्रवेश परीक्षाको तयारी गराउनुका साथै तिनको अनुगमन गर्ने कामसमेत गरिरहेका छन् उनी।
रौतहट जिल्लाभरिमै दलित समुदायबाट पहिलो डक्टर बनेका रामजी आध्यात्मिक गोरेटोमा समेत पाइला चाल्न खोजिरहेका देखिन्छन्। जीवनमा अँध्यारोबाट उज्यालोका किरण देखाउने माध्यम नै आध्यात्म हो भन्ने सोच बनाएका उनी बताउँछन्, ‘आध्यात्म नबुझ्दा जीवन गाह्रो हुँदो रहेछ। हाम्रो जीवनमा आध्यात्मको ठुलो महत्व छ।’
झट्ट हेर्दा दार्शनिकजस्ता देखिने उनी भावुक छन्। उनीसँग कमलो मन छ। कुनै कुराले छुँदा धित मर्ने गरी आँसु झार्छन्। आँसु खसाल्ने मान्छे कहिल्यै कमजोर हुँदैन भन्ने मान्यता बोकेका उनी आँसुले हाम्रो जीवनमा औषधिको काम गर्ने कुरामा समेत विश्वास गर्छन्। वर्तमानको समयको सदुपयोग गर्नुपर्छ भन्ने मान्यता बोकेका उनी आफूले भोलिको बारेमा सोच्ने नगरेको बताउँछन्, ‘सपना बद्लिदो रहेछ त्यसैले भोलि कुन विषयमा विज्ञता हासिल गर्ने भन्ने सोच बनाइसकेको छैन्।’
पर्ख्याैली पेशाका कुरा गर्दा बडो दार्शनिक पाराले मनन्योग्य कुरा बताउँछन्, ‘हजुरआमा, आमाहरू गाउँघरमा परम्परागत विधि अपनाएर महिलालाई प्रसव गराउँथे। हजुरबुबा, बुबा, काकाहरूले समाजमा कसैका गाईभैंसी मर्दा रोग आउन नदिन वा रोग फैलिन नदिन सिनो फाल्ने काम गर्थे। बाटोमा हिँड्दा किलाकाँटी र तिखा ढुङ्गाले खुट्टामा चोट नपुर्याउन भन्ने हेतुले जुत्ता बनाइदिए। जो सुज इन्जिनियर थिए। दाइ-भाइहरूले गाउने बजाउने काम गरे। जसले मानसिक स्वास्थ्यका लागि काम गरे। मन मस्तिष्क र शरीरलाई टुट्न फुट्नबाट बचाए। त्यसैले हाम्रो पुर्ख्याैली पेसा डाक्टर इन्जिनियर नै हो।’
रामजीको जस्तो चिन्तन हाम्रो समाजसँग भइदिएन। सकारात्मक ढंगले हेर्ने र हरेकको पेसालाई इज्जत कदर गर्ने दृष्टिकोण नभइदिँदा पछाडि पर्दै गयो समाज। समाजमा बलिया, हुनेखाने र उच्च जातका भनिएकाहरूको जगजगी चल्दै आइरह्यो। यहाँ ठुलठुला परिवर्तनहरू भए तथापि समाजमा न जातीय छुवाछुतको अन्त हुन सक्यो न त दलित भनेर अवहेलना गरिएका वर्गलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्यो। सबै कुरा भाषण र नारामा मात्रै सीमित हुन पुगे। शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई बढी महत्व दिइरहेको हुन्छ डाक्टरी पेसाले। जुन कुरालाई टेवा दिने काम समाजमा तिनै दलित भनिएका र हेपिँदै आएका समुदायले वर्षौदेखि गर्दै आइरहेका छन्। बैगुनी मान्छेले कहिल्यै बुझ्ने प्रयत्न गर्न चाहेनन् त्यो गुनलाई।
फुर्सदको समयमा साहित्यिक विधाका पुस्तकहरू अध्ययन गर्न रुचाउने डा.रामजी साहित्यिक सिर्जनामा पनि त्यतिकै तल्लीन छन्। कविताप्रति बढी रुचि भएका उनी बेलाबखत कविता लेख्छन्। साहित्य क्षेत्रको कुरा गर्दा उनी बताउँछन्, ‘साहित्यले समाजलाई जोड्छ। गीत, संगीत र साहित्यले जति उपचार गरिरहेको छ त्यति त मेडिकल क्षेत्रले पनि गर्न सकिरहेको छ जस्तो लाग्दैन।’ पछिल्लो समय बुद्ध दर्शनसम्बन्धी पुस्तक पढिरहेका उनी बुद्धले के सिकाएर गए त भन्ने खोजमा लागिपरेका छन्।
उनीसँगै पढेका साथीहरूलाई राज्यले उनीभन्दा ६ महिनाअघि नै नियुक्ति दिएर कार्यक्षेत्रमा खटाइसकेको थियो। उनको परीक्षा छुटेको कारण ६ महिना ढिला हुन गयो। यतिखेर उनलाई सरकारले रोतहटकै चन्द्रनिगाहापुर अस्पतालमा खटाएको छ। आफ्नै गृहजिल्लामा खटिएर बिरामीको उपचार गरिरहेका छन्। उनी त्यहाँ पुग्दा उनको स्वागत सम्मानमा देखिएको भीडले उनलाई हर्षितमात्र तुल्यााएको छैन, समाजका लागि थप जिम्मेवारी बहन गर्नुपर्ने कुरा महसुस भइरहेको छ। ‘जिल्लाबासीबाट पाएको माया र सम्मानले आतप्रोत भएको छु। समाजले अपनाएको छ। नाक खुम्च्याउने अवस्था छैन। यो ठाउँको लागि मैले धेरै गर्नु छ,’ कुराकानीका क्रममा भावक हुँदै बताए।
उता छोरा डाक्टर बनेर छोराले आफ्नै जिल्लामा काम गर्ने अवसर पाएकोमा हर्षित बनेका छन्, आमा बुबा पनि। तपाईंको छोराको नम्बर दिनु न। चेकअपका लागि अस्पताल जानु छ तपाईंको छोरालाई भनिदिनु न भनेर घरमा आउँछन कतिपय। यी तमाम घटनाहरुले विगत सम्झउँछ। वर्तमानलाई मनन् गर्न लगाउछ र भावुक तुल्याइदिन्छ बुबा भोला महरा चमारलाई पनि।
एकातिर जिन्दगीको हतारो छ, अर्कोतिर घरपरिवार र समाजप्रतिको जिम्मेवारी बढ्दै गइरहेको छ। उनले तय गर्न सकिरहेका छैनन्, भविष्यको योजना। कैयौंपल्ट सोचिरहन्छन् जिन्दगीका बारेमा, समाजका बारेमा र आउने पिँढीका बारेमा। अनि बडो काब्यात्मक ढंगले बताउँछन्, ‘राज्यसँग दलित समुदायका विद्यार्थीहरूले पिएचडीसम्म नि:शुल्क पढ्न पाउने नीति छ। यसरी पिएचडीको सपना देख्ने सरकारले किन देख्दैन तिनीहरूलाई विद्यालय तहको शिक्षामा टिकाउने खालको सपना?’