‘छेपारो’ छाेप्दै थाइल्यान्ड

बिएल संवाददाता

थाइल्यान्ड

थाइल्यान्डले ग्रामीण इलाकाहरूमा उपद्रव गर्ने, खेतहरूमा हमला गर्ने र स्थानीय वातावरणलाई हानि पुर्याउने एकसय ५० भन्दा बढी इगुआना (छेपारो) लाई पक्रिएको अधिकारीहरूले बताएका छन्। छेपारा थाइल्यान्डका मूल निवासी होइनन्। यी मूलरूपमा मध्य र दक्षिण अमेरिकाका हुन्। यद्यपि थाइल्यान्डमा यिनीहरू घरपालुवा जीवका रूपमा अत्यन्त लोकप्रिय छन्। 

घरपालुवा जीव मानिने शाकाहारी छेपारा घरबाट भागेका हुन् वा जानाजानी जङ्गलमा छोडिएको हो भन्दै यिनीहरूको गतिविधिमाथि वातावरणीय चिन्ता व्यक्त गरिएको छ। राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभाग (डिएनपी) ले मङ्गलबार बैङ्ककबाट एकसय ६० किलोमिटर उत्तरमा रहेको पटाना निकोम जिल्लाको लोपबुरीमा एकसय ३४ इगुआना समातिएको बताएको छ। देशको उत्तरपूर्वमा रहेको उडोन थानीमा थप ६ वटा र अन्य स्थानबाट थप २३ वटा फेला परेका छन्। 

“धेरै इगुआना लोबुरी प्रान्तको जङ्गलमा बस्दै आएका छन् र कृषकहरूको कृषि उपजलाई नष्ट गरिरहेका छन्”, डिएनपीको एक विज्ञप्तिमा भनिएको छ, “तीव्ररूपमा बढिरहेको इगुआनाको सङ्ख्याले पर्यावरण र पारिस्थितिकीय प्रणालीलाई असर गरिरहेको छ, यसबाट स्थानीय बासिन्दालाई समस्या भइरहेको छ।”

एक दशमलव पाँच मिटरभन्दा बढी लामो हुनसक्ने चिसो रगत भएका इगुआनालाई बैङ्कको उत्तरपूर्वी नाखोन नयोकस्थित वन्यजन्तु केन्द्रहरूमा राखिने छ। डिएनपीका अनुसार ६१ प्रान्तका करिब दुई सय ६० व्यक्तिले अधिकारीहरूलाई उनीहरूसँग तीन हजार छ सयभन्दा बढी इगुआना भएको जानकारी दिएका छन्। 

यसै साताको सुरुमा अधिकारीहरूले वातावरणीय सरोकारका कारण यस्ता जीवमाथिको आयातमा प्रतिबन्ध लगाएका छन्। अधिकारीहरूका अनुसार उल्लङ्घन गर्नेलाई अधिकतम १० वर्ष जेल र १० लाख भाटसम्म जरिवाना हुनेछ। 

प्रकाशित मिति: : 2023-11-22 18:05:00

प्रतिकृया दिनुहोस्