म बाँचुँ कि देश बचाऊँ?

'ए दाइ पर्खिनु-पर्खिनु म पनि जाने हो क्या! टिकट पनि छ मसँग। टिकटमा यही गाडीको नम्बर छ। पर्खिनु न!' बस रोकियो। कलङ्कीको पुल छेउकाे बिसौनीबाट म पनि बस चढेँ। बस चल्यो। तिहार नजिकिँदै गरेकाले बसमा सिट क्षमताभन्दा बढी मान्छे थिए। त्यही पनि कसैले गाडी चालकसँग कुनै विवाद नै नगरी आफू सम्हालिएर यात्रा गरिरहेका थिए। उनीहरुसँगै एक म नि थिएँ चुपचाप। भाइटीकामा घर जान पाउँदा सबै हँसिला थिए। लाग्थ्यो सबैलाई तिहारमा जसरी नि घर पुग्नुछ।

हामी एकअर्काको शरीरमा ठोकिँदै यात्रा गरिरह्यौँ। यो यात्रा काठमाडौँदेखि नेपालगञ्जसम्मको थियो। ठिक १५ घण्टाको यात्रा, त्यो पनि जाम नपरी, हामी भाग्यमानी नै रहेछौँ। बेलुका ६ बजे काठमाडौँबाट छुटेको बस बिहान ९ बजे नेपालगञ्ज बसपार्क पुग्यौँ। मसँगै सबै जना बसबाट झरेर आ-आफ्नो गन्तव्यतिर लागे। यो पटक अलिक फरक यात्रामा निस्किएको थिएँ, म।

काठमाडौँबाट भारतसम्म या भनौँ न विना पासपोर्ट, विना भिसा आफ्नै छिमेकी मुलुकमा जाँदै थिएँ।

०००

तपाईंलाई देशको माया कतिको लाग्छ, आउनुहोस् आज देशभक्ति कुरा गरौँ। देशका लागि के गर्न सक्नुहुन्छ? यस्तै प्रश्न चलिरहेका थिए। 'देशका लागि त म मर्न र मार्न दुबै गर्न सक्छु सर' भनेर कुर्लने मेरा माध्यमिक तहको साथीहरु धेरै थिए। कक्षामा यतिमध्ये एक म पनि थिएँ। आज भलै मेरा साथीहरु विदेशमा छन्। कोही स्टुडेन्ट भिसामा त कोही कामदार भिसामा।

सबैलाई पिआर पाउनका लागि, आफूलाई स्थापित गर्नका निमित्त पूर्णरुपमा विदेशी मुलुकमा खर्चन बाध्य छन्। आजभोलि बेलाबेलामा म्यासेन्जरमा जोइन्ट कल आउँछ। साथीहरु मलाई विदेशमा आउन आग्रह गर्छन्। म यसै टारिदिन्छु।

हो, आज पनि म्यासेन्जर कलमा साथीहरुले 'विदेश कहिले आउने? छिटो आउ' भनिहाले, मेरो जवाफ 'अँ साँच्चै! साथीहरु म त आज विदेश जाँदैछु नि अटो चढेर।' सबै हाँसे। तिनीहरुको हाँसो थाम्न मैले- 'के छ र साथी आउँला नि, खुल्ला आकाशमा चरीझैँ उढेर हवाईजहाजमा। बादलमाथि यो कथाको मुख्य ठाउँ तिमीहरुको पिआरवाला देशमा' भन्दै थिएँ रिक्सामा ब्रेक लाग्छ। एउटा पुरुष चढ्छन्, मैले पछि कुरा गरौँला अहिले रिक्सामा केही सुनिएको छैन‌ है साथी हो भन्दै कल काटिदिएँ।

केही समयको रिक्सा यात्रापछि जमुना नाकामा पुग्यौँ। रिक्सा रोकियो। हामीलाई झर्न आग्रह गर्नुभयो। म झर्न लाग्दा अघि चढेका पुरुषले 'दाइ यहाँ नझार्नु, हामीलाई भित्रै लगेर छाडिदिनु। समान नि भारी छ। म लाउरे हुँ, तपाईंलाई केहि गाह्राे पर्दैन' भने। म पनि झरिनँ।

बोडरमा उतापट्टी भारतबाट नेपाल आउने ठाउँमा नेपाल सशस्त्र प्रहरीले चेकजाँच गरिरहेका थिए। यतापट्टी भारत जानका लागि खै किन हो, त्यतिबेला चेकिङ थिएन। नेपालतर्फबाट अलिक भित्र गएपछि भारतको चेकपोष्टबाट हाम्रो रिक्सालाई रोक्न सिटी फुकियो। रिक्सा रोकियो। दुई जना भारतीय पुलिसले हाम्रो आइडी देखाउन आग्रह गरे। हामीले आइडी देखायौँ। लाउरेले नि आइडी देखाए। तर पनि रिक्सालाई भने लिन दिएनन्। रिक्सा फर्काइयो। लाउरेको सामान भारी भएकाले मैले सघाएँ।

चेक पोष्टमा एउटा दृश्य थियो- नेपाली पोषाक, शिरमा ढाका टोपी, पछाडि एउटा झोला भिरेका करिब ६० वर्ष जतिका बुढा मानिसले दुईहात जोडी भारतीय पुलिसलाई बिन्ती गरिरहेका थिए, 'मसँग नागरिकता नाई, तपाईंले भन्या जो आइडी कार्ड केही पनि नाइ। सर म एकैछिन यो रुपैडियासम्म गइ नापा सामन ल्याइ फर्किन्छु।' भारतीय पुलिसले हुन्न भन्दै थकाइरहेका थिए। त्यही पनि वृद्धले थपे, 'सर नेपालमा महङ्गी बढेर बाँच्नै गाह्राे भयो। घरमा केटाकेटीले तिहारमा कपडा चाहियो भनेर मागिरहेका छन्। काम गरेर नापानापा पैसा छन्, कपडा किनी फर्किजान्छु सर बिन्ती' भनेर दुई हात जोडेपछि ती वृद्धलाई भारतीय पुलिसले जान दिए।

मैले एउटा देश भक्ति गीतमा घन्किएको, ठुलाठुला नेता, अभियन्ताहरुका भाषणमा झुन्डिने शब्द 'नझुक्ने नेपाल'को नेपाली झुक्नु पर्छ कि पर्दैन भन्ने जवाफ यही दृश्यमा थाहा पाएँ। नेपाली झुक्दैन भनेर भाषण गर्ने, किताबमा पढाउने, लेख्ने लेखक र झुटा आश्वासन दिने नेताहरुलाई भनिदिनु र तपाईंहरु पनि यो भ्रमबाट निस्कनु। आफ्नो भोकको अगाडि संसारको जुनसुकै मानिस पनि झुक्छ, यदि ऊ झुक्दैन भने उसका जीवनका महत्वपूर्ण चिज उसले गुमाएर नै मर्नुपर्छ।

यतिकैमा फेरि भारतीय पुलिसले हाम्रो आइडी मागे।  हामीले देखायौँ। हाम्रो सामान जाँचका लागि मेसिनमा राख्यौँ। हामी पास भयौँ। समान पास भयो। त्यसपछि भारतको उत्तरी प्रदेशमा रहेको रुपैडिया सहरमा पस्याैँ।

लाहुरे साेधे, 'अँ साँच्ची तपाईंको नाम चाहिँ के नि दाइ? मैले मेराे नाम भन्दै उनको नाम साेधेँ। उनले आफ्नाे नाम कमल र घर सुर्खेत भएको बताए। उनी इन्डियन आर्मीमा भएको कुरा अघि नै थाहा भइसकेको थिएँ। उनले मेराे घर साेधे। मैले जुम्ला जिल्लाको तिला गाउँपालिका वडा-४ नुवाकोट भनेँ। कामको सिलसिलामा काठमाडौँमा बसिरहेको पनि बताएँ। यो तिहार बिदामा घुम्न भनेर अयोध्यासम्म जान लागेको पनि भनेँ।

मैले उनलाई तिहार मानेर लाहुर फर्किए पनि हुने नि भनेकाे, उनी थोरै भावुक भए। उनले भने, 'हामी त अर्काे देशको मानो खाने मान्छे दाइ। हामीलाई के तिहार, के चाडपर्व? झन् लडाइँमा गइयो भने त सबै आश सकिन्छ। तर पनि घर फर्कन भने असाध्यै मन लाग्ने रहेछ दाइ। बिदा त तिहारसम्मकै हो तर हाजिरी चाहिँ तिहारको भोलिपल्ट बिहान नै पोष्टमा पुग्न आदेश छ। अरु साथीहरु पनि छन्। म चाहिँ याहाँबाट गोरखपुरसम्म जान्छु। अरु साथीहरुसँग त्यहाँ भेट गरेर जाने हो। यो पटक त भारत र पाकिस्तानको सिमानामा जाने हो। त्यहाँ युद्धको बादल मडारिरहन्छ। जानै पर्‍यो। के गर्नुहुन्छ?'

मैले केही सहानुभूति प्रकट गरेँ, 'भाइ चिन्ता नलेउ। केही हुन्न। किन डराएको? तिमी त बहादुर नेपाली पो हो त।' किनकि यो आश्वासन धेरै काम लाग्ने शब्द हो। यतिकैमा बस आयो मैले रोकेँ, 'ल भाइ मेरो बस आयो, बिदा पाउँ' भन्दै बसको ढोकाबाट लाहुरेलाई  हेर्दै भित्र पसेँ। लाग्थो ऊ मसँग धेरै पहिलेदेखि चिनजान भएर अहिले छुटिन लागेको छ। भनौँ, न एउटै घरमा जन्मिएका दुई भाइले एकअर्कालाई बिदाइ गरेको झैँ उसले नि हात हल्लाएर बिदाइ गर्‍यो मलाई।

म देउकाली बाइपास जाने बसमा चढेको थिएँ। भारतको सरकारी बसमा मेरो यात्रा पहिलोपल्ट हुने भयो। अर्काको देशको सरकारी गाडी चढ्दा आफ्नो देशको सरकारी बस सम्झिएँ। मेरो ठाउँमा भए पो चढ्नु। ए हो त! आफ्नो घरको अभाव छिमेकीमा आएर किन सम्झनु। होस्, सम्झिन्नँ।

०००

बसमा बस्ने बित्तिकै म निदाएँ। मस्त निद्रामा कहाँकहाँ पुगिरहेको थिएँ, 'भैया, भैया, भैया' तीन पटकको आवाजले मलाई ब्युँझायो। म विस्तारै आँखा खोल्दै सिसाबाट बाहिर हेर्न खोजेँ। फेरि 'भैया भाडा दो' भन्दै डिजिटल टिकट त्यहीँ प्रिन्ट गरे। भारु २८७ को टिकट हातमा दिँदै भारतीय सरकारी बसका सहचालकले पैशा दिन आग्रह गरे। मैले उनलाई दुई सय नब्बे रुपैयाँ दिएँ। उनले मलाई तीन रुपैयाँ भारुका सिक्का फिर्ता गरे। सोचेँ नेपालमा भएको भए कि तीन रुपैयाँ तिरिन्थेन कि तीन रुपैयाँ छोडिन्थो। लाग्यो जिन्दगीमा जसले एक रुपैयाँको महत्व बुझ्दैन, त्यो आफ्नो स्थितिबाट माथि कहिल्यै उठ्न सक्दैन।

त्यहीबेला एउटा निर्णय गरियो, लिने-दिने कारोवारमा एक रुपैयाँ पनि कसैलाई छोड्नु हुने रहनेछ। बसको झ्याल बाहिर पुरै तराईका फाँट, घामको रातो धब्बा खेतमा किसानहरु एकअर्कालाई सघाइरहेका यस्तै दृष्य हेर्दा हेर्दै अयोध्या पुगेँ। त्यहाँको बाटो देखेरै चकित परेँ। बाटाेको कुरा अर्को लेखमा गरौँला।

०००

अँ! बिर्सेछु मैले। यो लेख त देश भक्तिकाे लेख पो हो त। विदेशकै यात्रामा सीमित भयो भन्ने लागिरहेको हाेला है? आउनुहोस् भोलिपल्टको कुरा गरौँ।

खलिलावाद सहर ठुला-ठुला भवन, ठुला-ठुला साहु, ठुला-ठुला पसल। भनौँ, नेपाली पालिने माध्यम भएको काला पहाड। यहाँ थुप्रै नेपालीहरुको भिड लाग्ने गर्दछ। विशेष गरी हिउँदको समयमा पहाड तथा हिमाली जिल्लाका नेपाली हरेक हप्ताको आइतबारको दिन त्यहाँ जाने रहेछन्। यत्रो सहरमा हिँड्नको लागि ठाउँ पाउन गाह्राे छ। पुरै नेपाली, त्यो पनि कर्णाली प्रदेशका मान्छेले यो सहर भरिपूर्ण छ।

भोलिको तिहार छ। नेपालीहरुको महान चाड भाइटीका। त्यसको लागि समान खरिद गर्न होइन, आफ्नो पेट पाल्नका निमित्त। यहाँबाट समान खरिद गरेर, यही ठाउँका विभिन्न गाउँमा भारी बोकेर समान बेची गुजाराका निमित्त समान खरिदमा व्यस्त छन्, नेपाली।

आफ्नो भोकको अगाडि के तिहार, के चाडपर्व? अघिल्लो वर्ष भाइटीकामा फुफूले बुवालाई टिका लगाउँदा घरमा आशिष दिँदै भनेकी थिइन्, 'अर्को तिहारमा नि यसरी नै टिका लगाउन पाउँ।' तर खोई के भएर हो, आशिषले बुवालाई घरसम्म तान्न सकेनछ। के गर्नु? यहाँ हजारौँ बुवा छन्, त्यस्तै आशिष पाएका। यहाँ हजारौँ दाइभाइ छन्, दिदीबहिनी नभेटेका।

यहाँ आएर इलम नगरी नेपालमा रहेका सन्तानलाई खाना खुवाउन गाह्राे पर्छ। त्यो हामी सबैलाई थाहा छ। अनि हामी नेपाली, हाम्रो नेपाल भनेर मात्रै खाना आउँदैन के गर्नु? भारतले नाकाबन्दी गरेमा, भारत छिर्न भिसा अनिवार्य गरेको खण्डमा धेरै नेपाली मर्न बाध्य हुन्छन्। धेरै नेपालीको बिजोग हुन्छ। यो ठोकुवाका साथ भन्न सकिन्छ।

स्वदेशमा रोजगारी नाई नेताज्यूलाई सँधै मस्ती,
कामदाम केही छैन खाली भया गरीबका बस्ती...।

यी कर्णाली प्रदेशका गायक धिरेन्द्र शाहीका शब्द हुन्। ठ्याक्कै मिले यो कथामा। मेरो गाउँ जुम्ला जिल्लाकै विकट गाउँमध्येको एक हो। यस गाउँका धेरै मानिस गाउँमा कम, भारतमा धेरै भेटिन्छन्। भनौँ न, गाउँ रित्तो छ। केटाकेटी, मास्टर, बुढापाका र केही महिलाहरु मात्रै गाउँमा हुन्छन्। प्रायः तपाईंहरुलाई लाग्न सक्छ, आफ्नो देशमा परिश्रम नगरी किन विदेशमा गइ काम गर्ने? तपाईंले भने जतिकै सहज भैदिने भए त कसलाई रहर थियो होला र?

सिधा कुरा गाउँमा पहिला खेतहरु थिए। अहिले ५/७ वर्षदेखिको बाढीले धान उत्पादन हुने खेत सबै सक्कायो। राहत त दियो सरकारले चाउचाउ बाँडेरै भएपनि। यसका लागि वैकल्पिक कुनै योजना सोचेन र गरेन पनि। अब विकल्प केही नभएपछि विना पासपोर्ट जान मिल्ने देश भारत आउन बाध्य हुनुपर्‍यो। अब तपाईंले प्रश्नको उत्तर पाउनुभयो होला नि! कि पाउनुभएन?

वास्तविकता लुक्दैन! देशभक्तिकाे नारा भनेर कुर्लनेहरुको ध्यान यतातिर पनि जाओस्। जनतालाई अत्यावश्यक चिज नेपाल सरकारले सहुलियत दरमा उपलब्ध गराउने काम गर्नु पर्दछ। भोको पेटले धेरै दिन राष्ट्रियता बोकेर हिँडिरहन सकिँदैन। जनता भक्ति थापा जस्तो, बलभद्र कुँवर जस्तो अमरसिंह थापा जस्तो हुँदैनन्। राष्ट्रियता बलियो बनाउने हो भने जनताको गाँस, बास र कपासको व्यवस्था बलियो बनाउने काम पहिले गर्नुपर्दछ। नत्र खोक्रो राष्ट्रवादले चल्न गाह्रै पर्ला।

०००

फेरि हराएँ क्या हो म! खलिलावाद मा पो छु। राष्ट्रवादको नारा लागाउन काठमाडौँको माइतीघर अगाडि कुर्लिन जस्तो यहाँ सम्भव छैन। के गर्नु उताबाट १०/१२ जना मानिस, सबैका पिठ्युँमा हिमाल जस्तै सेता बोरामा कसिएका भारी, थोत्रा कपडा लगाएका, पसिनाले टल्केको अनुहार, शिरमा ढाकाटोपी, टोपीमाथि खुम्चाएको नाम्लो। सबै मेरा गाउँकै मेरा नातेदारहरु थिए। म नजिक पुगेर एक काका पर्ने भन्छन् 'भाउअ हेरिस त कइथो लाग्यो यो ठाउँ?' म निशब्द छु। केही बोलिनँ। उनीहरुसँगै हिडेँ। केही छिनपछि सबैका सामान ट्रकमा हालेर उनीहरु बस्ने डेरातिर लाग्यौँ।

बाटोमा गाउँका दाइले एउटा कुरा सुनाए, 'पोहोर साल यही ठाउँमा हो मैले कुटाइ खाएको। हेर, अझ दाग गया नाइ, मेरो सामान पनि लुटियो। यो साल हामी धेरै भएर केही भएन। के गर्छस् कान्छा धेरै नेपाली लुटिन्छन्, पिटाइ खान्छन्। हरेक साल पिटाइ खाए पनि अन्त जाने ठाउँ छैन। यहाँ नआए छोराछोरी पढाउन गाह्राे छ।'

यति कुरा सुनेपछि पनि निशब्द छु म। मैले केही नबोली मनमनै सोचेँ, खोक्रो राष्ट्रवादको नाराले जीवन नचल्ने रहेछ‌। हाम्रो सरकारले यस्ता कुरा कहिले बुझ्छ? हामी काठमाडौँमा बस्नेले नारा लगाउँदैमा कर्णाली, मेचीदेखि महाकालीसम्मका नेपाली‌ जनताका समस्या हट्दैनन्। पहिला राज्य छ भन्ने कुराको आभास दिलाउन सक्नुपर्छ। नीति निर्माण र कार्यान्वयनको तहमा बसेका शासकलाई याे विषयले कहिले छुने? भित्तामा ग्रेटर नेपालको नक्सा राख्दैमा, फेसबुकमा कुर्लँदैमा देशभक्ति भएँ भनेर सम्झिनु मूर्खता हो।

देशभन्दा माथि जीवन हुन्छ। देश बाँचाेस्-मराेस् तर जीवन बच्नुपर्छ। बाँकी माटाे त सबैकाे हाे। हाम्राे साझा संसार हाम्राे घर हाे। भोकभन्दा ठूलो सत्य केही हुँदैन। मान्छे बाँचे त धर्म, राष्ट्र, जाति हुन्छ। त्यसैले त भावनामा बहकिएर स्वाभिमानको नारा लगाउँदैमा जीवन जिउन नसकिँदो रहेछ।

यो यात्रामा भेटिएका विदेशी मुलुकमा पिआर खोज्ने साथीहरु, ६० वर्षका तन्नेरी बुढा, लाहुरे, मसँग यात्रामा जोडिएका हरेकले एउटा राम्रो पाठ सिकाएका छन्। पहिला आफू बाँच्नु अनि देश बचाउँला। तपाईंको घर, तपाईंको विश्व हो। यो सबै गर्नका निमित्त सर्वप्रथम तपाईं जीवित रहन जरुरी छ। तपाईं जीवित भएपछि मात्रै यो सम्भव छ।

प्रकाशित मिति: : 2023-11-25 18:06:00

प्रतिकृया दिनुहोस्

    'भाउअ हेरिस त कइथो लाग्यो यो ठाउँ?' म निशब्द छु। G r e a t🇳🇵

    • 11 महिना अगाडि
    • Sailesh Hamal🇳🇵