दुर्गा प्रसाईं र महेश बस्नेतलाई माइतीघरमा निषेध

के गर्दैछ प्रशासन ?

BreaknLinks
BreaknLinks

एमाले र राजावादी तीन दिनपछि (मंसिर ७ गते)आमनेसामने हुँदैछन्। देशभरबाट कार्यकर्ता लिएर उनीहरु राजधानीमा आमनेसामने हुन लागेका हुन्।

एमालेले युवा संघलाई राजधानीका सडकमा उतार्दैछ। सरकार र अराजकताविरुद्ध युवासंघ सडकमा उत्रिन लागेको एमालेले बताएको छ।

राजवादीको तर्फबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा अर्को पक्ष सडकमा उत्रिँदैछ। ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियान’ नाम दिएर राजावादी सडकमा उत्रिँदैछन्।

दुबै पक्षले सडकमा शक्ति प्रदर्शन गर्दै आमनेसामने हुने गरी अभिव्यक्ति दिइरहेका छन्। एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी प्रसाईंको अभिव्यक्तिले सुरक्षा चुनौती थपेको छ।

राजधानी काठमाडौँमा दुबै पक्षको आन्दोलन हुने भएपछि सुरक्षा निकायले सतर्कता बढाएको छ।

काठमाडौँमा आन्दोलन गर्ने विषेश ठाउँ माइतीघर क्षेत्र हो। तर, यसपटक सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर क्षेत्रमा दुबै पक्षलाई आन्दोलन गर्न निषेध गरेको छ।

‘माइतीघरमा कार्यक्रम गर्दा यातायात व्यवस्था, सेवा प्रदायक अड्डाहरु त्यहाँ भएकाले सबै सेवालाई ध्यानमा राखेर हामीले माइतीघरमा कार्यक्रम गर्न अनुमति दिँदैनौँ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता रविन्द्रप्रसाद आचार्यले भने।

उनले कसले कहाँ कार्यक्रम गर्दैछन् भन्ने आधिकारिक जानकारी नआएको बताए। जानकारी आएमा प्रशासनले माइतीघरमा कार्यक्रम गर्न अनुमति नदिने आचार्यको भनाइ छ।

एमालेले पार्टी कार्यालय च्यासलमै कार्यक्रम गर्दैछ। तर दुर्गा प्रसाईंले कहाँ कार्यक्रम गर्ने भन्ने यो सामाचार तयार पार्दासम्म प्रशासनलाई जानकारी गराएका छैनन्।

सतर्क प्रशासन

दुबै पक्षले एकै दिन काठमाडौँमा आन्दोलनका कार्यक्रम घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता बढाएको छ।

दुबै पक्षको आन्दोलनका कार्यक्रम फरक–फरक ठाउँमा गराउन प्रशासन तयारी अवस्थामा छ। ‘कानुन सम्मत कार्यक्रम गर्न पाइन्छ। त्यहीअनुसार हामीले व्यवस्थापन गर्छौँ’, आचार्यले भने।

उनले अराजकता निम्त्याउन खोजे कानुनी दायरामा आउने बताए। ‘कानुनले दिएअनुसार विरोध, घेराउ गर्नका लागि हामीले सुरक्षाको प्रवन्ध गर्छौँ,’ उनले भने, ‘कसैले कानुन बाहिर गर्छु भन्छ भने ऊ कानुनी दायरामा आउँछ।’

प्रहरी प्रशासन पनि यस आन्दोलनलाई लिएर सतर्क छ। तिहारअघि कार्यक्रमको आन्दोलन घोषणा भएसँगै सम्भावित दृश्यहरुलाई लिएर प्रहरी परिचालित भइसकेको छ।

काठमाडौँ प्रहरी परिषद्ले सम्भावित जोखिमलाई लिएर तयारी गरिसकेको छ। परिषद्का प्रवक्ता दिनेशराज मैनालीले आन्दोलनका विषयमा सुरक्षा विषयलाई लिएर तयारी भइरहेको बताए।

उनले अझै आधिकारिक रुपमा क–कसको आन्दोलनका कार्यक्रम भन्ने टुंगो नलागेको भएपनि प्रहरीले आफ्नोतर्फबाट तयारी भने गरिरहेको बताए।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले आवश्यकताअनुसार प्रहरीले अध्ययन मूल्यांकन गरेर सुरक्षा व्यवस्था मिलाउने बताए।

‘सबै सुरक्षाको व्यवस्था भ्याली प्रहरी (काठमाडौँ उपत्यका प्रहरी)ले गर्छ। आवश्यक परेमा हेडक्वाटर (केन्द्रीय कार्यालय)ले पनि थप जनशक्ति खटाउँछ,’ उनले भने।

प्रकाशित मिति: : 2023-11-20 15:49:00

प्रतिकृया दिनुहोस्