छाेरी बेच्ने चलन

घर खर्च चलाउन छोरी बेचिरहेका छन् स्थानीयहरू

photo credit–bbc
photo credit–bbc

उनकी गर्भवती श्रीमतीलाई बेथाले चाप्यो। श्रीमान अत्तालिँदै अस्पताल पुगे। डाक्टरले अप्रेशन गर्न सुझाए, तर पैसा थिएन। श्रीमान अन्योलमा परे। र, पाँच लाख रुपैयाँ फर्काउने सर्तमा साढे तीन लाख रुपैयाँ ऋण लिए। त्यो पैसाले श्रीमती त बचिन् तर छोरी बेचिइन्। लाचार पिताले छोरीलाई पैसासँग साटे।


सन् २०२२ मा पाकिस्तानमा विनाशकारी बाढी गयो। लगातारको मुसलधारे पानीले धेरै क्षेत्रलाई क्षतिग्रस्त बनायो। तर सबैभन्दा धेरै तहसनहस सिन्ध र बलूचिस्तानको सिमानामा जोडिएको क्षेत्र चौकी जमाली भयो।

एक वर्षअघि गएको त्यो क्षतिग्रस्त बाढीले मानिसहरूलाई चरम गरिबीको मुखमा धकेलेको छ। स्थानीयको अवस्था दयनीय छ, फूल जस्ती छोरी बेच्न बाध्य छन् लाचार पिताहरू।

‘गत वर्ष बाढीको बेला मेरी श्रीमतीको अप्रेशन गर्नुपरेको थियो। डाक्टरले भनेका थिए, कि बच्चालाई हानी हुन्छ या श्रीमतीको मृत्यु हुन्छ। मैलै साढे तीन लाख रुपैयाँ ऋणमा लिएँ अनि अप्रेशन छिटो गराएँ तर ऋणदाताहरूले ब्याजसहित मसँग पाँच लाख रुपैयाँ माग्यो। उनीहरूलाई तिर्ने पैसा मसँग थिएन। त्यसैले मैले १० वर्षकी मेरी छोरीलाई एक किलोमिटर टाढा बस्ने छिमेकीलाई बेचिदिएँ’, लामो सुस्केरी तान्दै बलूचिस्तान चौकी जमालीका एक मजदुरले पिताले सुनाए।

चौकी जमालीमा करिब ५० हजार जनसंख्या छ। जहाँका मानिसहरू किसानी र दैनिक ज्यालादारीबाट दुई छाकको खाना जुटाइरहेका छन्।

स्थानीयको अनुसार सन् १९७६ मा ठुलो बाढी आएको थियो, त्यसपछि २०१० मा गयो र सन् २०२२ मा क्षतिग्रत बाढी गयो। जसले घरजग्गा मात्र बगाएन, मानिसहरूलाई बगाएर बेपत्ता पार्‍यो।

ऋणको जालोमा लाचार

चेलिबेटी बेचबिखन त्यहाँका लागि नौलो कुरा होइन। तर बाढीपछि झनै छोरीहरू बेचिन थाले। बाढीले सर्वश्व सोतारेर लग्यो। काम भएन। खान परिहाल्यो। किसानहरूले ब्याजमा ऋण लिइरहे र ब्याजमाथि ब्याज थपिँदै गयो। र, बाले लिएको साँवा र ब्याज छोरीहरूले चुकाउन पर्यो। बालिकाहरू ४० देखि ६० वर्षका पुरुषहरूको ‘खेलौना’ बन्न बाध्य भए।

चौकी जमालीमा काम गर्ने मजदुरहरूको कमाइ दैनिक पाँच सय (नेपाली २४० रुपैयाँ मात्र) हुने त्यहीँका एक मजदुर बताउँछन्।

उनका अनुसार दुई छाक जोड्न पनि मुश्किल हुन्छ। भोक मेटाउनका लागि साताको तीन दिन मात्र खाना खान्छन् मजदुरहरू।

पैसाको लागि छोरीलाई आफ्नै छिमेकीसँग बेच्न बाध्य ती विवश छोरी अहिले माइतीघरमै छिन्। उनको श्रीमान घरको झगडा सुल्टाउन सहर गएका छन्। त्यही निहुँमा छोरीले पनि स्कुल पढ्न पाइरहेकी छिन्। तर उनलाई आफ्नो श्रीमानको घरमा पढ्ने अनुमति छैन।

छोरीको मूल्य पाँच लाखसम्म

अधिकांश बालिकाहरूको रकम ३ देखि ५ लाख रुपैयाँसम्म तोकिन्छ। त्यो रकमबाट किसान र मजदुरहरूले आफ्नो कर्जा चुकाउँछन् अनि छोराको पढाइमा खर्च गर्छन्। किनकी छोराहरू बिक्री हुँदैनन्।

आफ्नो गरिबी लुकाउनका लागि छोरी मात्र बेच्दैनन् चौकी जमालीका बासिन्दारहरू। कयौंले त छोरी जोगाउनका लागि ढोकासमेत खोल्न चाहँदैनन्। त्यसैले त बाढीपछि पनि आफ्नो गुजारा चलाउनका लागि काम गर्दै जमिनदारको ऋण चुक्ता गरिरहेका छन्। 

किसान र मजदुरले लिएको ऋण दुई किसिम हुन्छ। मजदुरहरूले खेतीको लागि पहिलो ऋण लिन्छन् र त्यसलाई चुक्ता गर्न काम गर्छन् तर घर खर्च चलाउनका लागि लिएको दोस्रो ऋण भने उनीहरूले छोरी बेचेर चुकाउँछन्। 

एउटी सानी बच्चीलाई २–३ पटक बेचिन्छ। तबसम्म बेचिन्छ, जबसम्म उनी आफूलाई किन्नेसँग ‘एडजस्ट’ गर्न सक्दिनन्। कयौं पटक बालिकाहरू बेचिने डरले घरबाट भाग्छन् तर पनि धर पाउँदैनन् छोरी। एउटा भाग्यो भने अर्की छोरीले बूढा पुरूषसँग विवाह गर्नुपर्छ।

कम उमेरका बालिकालाई जुनसुकै बेला जमिनदारले व्यभिचारको आरोप लगाउन सक्छन्, त्यही त्रासमा हुन्छन् बा–आमा। अनि हतारिँदै विवाह गराइदिन्छन्।

‘क्लाइमेट ब्राइड’ र जलवायु परिवर्तन

सानै उमेरमा बेचिने ती छोरीहरूलाई ‘जलवायु दुलही’ भनिन्छ।

बलूचिस्तानमा जलवायु परिवर्तनमा काम गर्ने संस्था मदाद कम्युनिटीले जलवायु परिवर्तन र बाढीका कारण कृषि क्षेत्रबाट आम्दानी गर्न धेरै गाह्रो हुने संकेत गरेको छ।

बलूचिस्तानका मध्यम वर्गसहित अधिकांश मानिस भाग्न बाध्य भए। तर अब गरिब किसान कहीँ जान सक्दैनन्। अत्यधिक गर्मीका कारण अनिकाल र बाढीको पूर्वानुमान गरिएको छ।

कृषि उपजबाट जीविकोपार्जन गर्ने किसानका लागि हरेक मौसमसँगै उत्पादन घट्दै गएको र माथिबाट अन्नको अभाव हुँदा ऋण लिएर पूरा गरेकोले जमिनबाट आम्दानी गर्न कठिन छ। कमाइ नभएकै कारण चौकी जमालीको गाउँमा बस्ने स्थानीयहरू आफ्नो छोरीहरू बेचेरै हात–मुख जोडिरहेका छन्।

विवाह बन्यो बेचबिखनको कारण

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)ले अगस्ट २०२२ मा बलूचिस्तानका १४ जिल्लामा सर्वेक्षण गरेको थियो। सर्वेक्षणका अनुसार कम उमेरमै विवाह गरेका कारण बेचबिखन हुने बालिकाको संख्यामा १३ प्रतिशतले वृद्धि भएको छ।

चौकी जमालीको एक स्कुलकी प्रधानाध्यापक सादियाका अनुसार विवाह भएका युवतीहरूले आफूमाथि हुने हिंसाबारे बताउँछन्। भलै पढाइले केही हदसम्म सहज बनाएको छ तर अझै पनि चेलिबेटी बेचिरहेका छन्।

त्यही विद्यालयबाट केही टाढा चौकी जमालीको स्वास्थ्य केन्द्र छ। त्यहाँकी महिला स्वास्थ्यकर्मी शहजादीका अनुसार हरेक दिन गर्भावस्थामै कतिको मृत्यु हुन्छ।

महिला स्वास्थ्यकर्मी शहजादीको अनुसार कतिपय अवस्थामा केटीहरू पीडाले रुन्छन्, कोही मर्छन्। तर पनि चुपचाप बस्छन् बालिकाका आमाहरू।

केही समयअघि मात्रै एउटी आमा आफ्नो १६ वर्षकी छोरीलाई लिएर अस्पताल आएकी थिइन्। त्यही आमाले शहजादीलाई बाढीपछि बढ्दै गएको गरिबीका कारण १६ वर्षीया छोरीको विवाह ४० वर्षीय पुरुषसँग गराइदिएको सुनाइन्।

गर्भावस्थामा मृत्यु

चिकित्सकहरूका अनुसार गर्भावस्थामा बालिकाको मृत्यु हुने अधिकांश घटना सिन्ध र बलूचिस्तानका हुन्। यसबाहेक युवतीमा फिस्टुला रोग, गर्भावस्थामा समस्या र पिसाबनलीबाट रगत आउने जस्ता घटना हुने गरेको छ।

कराँचीका डा. सज्जादले बताएअनुसार युएनएफपीएमा काम गर्दा दुई राज्यमा कम उमेरका विवाह हुने गरेको र सन् २०२२ को बाढीपछि यो संख्या बढेको हो।

‘मैले गर्भावस्थामा किशोरीको मृत्यु हुने घटना पनि देखेको छु। आमाबाबुले छोरीको उमेर लुकाउँछन्, तर ती केटीहरूको उमेर हामी नाडी छामेरै थाहा पाउँछौँ’, उनले सुनाए, ‘ती क्षेत्रमा यस्तो भइरहेको हामीलाई लामो समयदेखि थाहा छ, तर २०२२ सालको बाढीपछि बालिका बेच्ने घटना बढेको छ।’

तर पनि गुपचुप छ सरकार

महिला आयोगकी अध्यक्ष फौजिया शाहिनले बलूचिस्तानमा कम उमेरका विवाह गर्नेको संख्यामा निरन्तर वृद्धि भइरहेको बताउँछिन्।

‘हामीसँग विवाह दर्ताको कुनै विधि नभएकाले हामी पूर्ण तथ्याङ्क दिन सक्दैनौँ तर कम उमेरका विवाहमा वृद्धि भएकोमा कुनै शङ्का छैन’, उनी भन्छिन्।

फौजिया शाहिनका अनुसार बच्चाको विवाह रोक्न कुनै प्रभावकारी कानुन छैन।

यी विवाह र कम उमेरका केटीहरूको बिक्रीको कारण जेसुकै होस्, वास्तविकता के हो भने बलूचिस्तानका साना बालिकाहरूले बाढीले पुर्‍याएको क्षतिको मूल्य चुकाइरहेका छन्। बिबिसीको सहयोगमा

प्रकाशित मिति: : 2023-10-28 15:26:00

प्रतिकृया दिनुहोस्