अमेरिकामा यसपटकको चुनावी खेल सकिएको छ । खेलमा ट्रम्प र अपवादलाई छोडेर उनका सबैजसो अनुयायीहरू विजयी भएका छन् । परिणामतः अमेरिका चार वर्षपछि फेरि एकपटक ट्रम्पेरिका हुने भएको छ । यो कसरी भयो ? किन भयो ? के कारणले भयो ? यस बारेमा अमेरिकामा मात्र हैन, संसारभरि नै तर्क बितर्क जारी छन् । यही मेसोमा नेपाली मिडियामा पनि बाक्लैसँग बसिबियालो भएकै छ ।
संसारको एक मात्र महाशक्ति राष्ट्रकै जीवनमा सबैभन्दा महत्त्वपूर्ण भनिएको चुनावको परिणामलाई लिएर यस्तो खाले मिडिया–बसिबियालो हुनु अस्वभाविक पनि होइन । तर, आकार छामेर जन्तु पत्तो लगाउने जस्तै अवस्था भएकाले यी प्रश्नहरूको उत्तर सहज छैनन् ।
यो स्तम्भकार पनि त्यही मेसोमा बिलखबन्द छ । नलेखौँ भने पनि अमेरिकाकै जीवनमा यति महत्त्वपूर्ण मानिएको चुनाव, लेखौँ भने पनि सबैखाले तर्क र सत्यभन्दा फरक पृष्ठभूमिमा ठिङ्ग उभिएको तथ्य अर्थात् ट्रम्पको दुन्भूभि छ ।
एक किसिमले भन्ने हो भने ‘नखाउँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ जस्तै मात्र हो यसपटकको मेरो बिलोम पनि । हुन त यसै पनि स्तम्भको नाम नै बिलोम छ । संयोगले नामजस्तै भएको छ, मेरो अवस्था र लेखनको कोण पनि ।
वास्तवमै यसपटकको अमेरिकी चुनाव केवल एक राष्ट्रपति छान्ने चुनाव मात्र थिएन, यो अरू पनि थुप्रै महत्त्वपूर्ण प्रश्नहरूको चुनाव थियो । ती प्रश्नहरूको वरियतामा सबैभन्दा माथि त अमेरिकाले एक ३४ अभियोग प्रमाणित भएको दोषी (फेलोन) राष्ट्रपति छान्ने कि विकल्प छान्ने भन्ने नै थियो ।
त्यो छनोटसँग एक स्त्रीद्वेषी पुरूषलाई राष्ट्रपति छान्ने कि २४८ वर्षसम्म पुरूष मात्र राष्ट्रपति भएको पेज पल्टाएर एक महिला राष्ट्रपति छान्ने भन्ने पनि थियो । त्यससँगै गर्भपतन जस्ता मुद्दालाई लिएर महिलाले आफ्नो शरीरमाथिको अधिकार आफैँले राख्न पाउने कि नपाउने भन्ने विषय पनि जोडिएको थियो ।
यति मात्रै पनि थिएन, अमेरिकामा श्वेत वर्चस्व मात्र कायम गर्ने कि बहुलतालाई स्विकार्ने भन्ने पनि थियो । अर्को महत्त्वपूर्ण मुद्दा अमेरिकालाई एक देशका रूपमा मात्र खुम्च्याउने कि यसको भूमिकालाई एक महाशक्ति राष्ट्रकै रूपमा रहन दिने भन्ने पनि थियो । समग्रमा यी सबै मुद्दाहरूलाई एक ठाउँमा राखेर हेर्दा यसपटकको चुनाव अमेरिका अगाडि जाने कि पछाडि फर्कने भन्ने नै थियो ।
अमेरिकाले निर्णय दियो– हामीलाई एक फेलोन राष्ट्रपति नै मन्जुर छ । यसमा कुनै बहानाबाजी नै छैन । यो अमेरिकी जनताले जानीजानी गरेको निर्णय हो । अमेरिकाको नक्सामा केही नीला दागहरू बाँकी रहे, बाँकी सारा अमेरिका रातो छ ।
अझ गजब त के भने नक्सा मात्र हैन, मानिसको संख्या पनि रातो नै बढी भयो यसपटक । सरकारका सबै तीन अंग कार्यपालिका– ह्वाइट हाउस रातो, व्यवस्थापिका– क्यापिटल हिल रातो, न्यायपालिका– सर्वोच्च अदालत रातो ।
सारा बैजनी राज्यहरू रातो । श्वेतहरू त राता थिए नै, गैर–श्वेतहरू पनि रातो । रैथानहेरू त राता थिए नै, आप्रवासीहरू पनि रातो । एक किसिमले भन्ने हो के रातो भयो भन्ने थेसिसले भन्दा पनि के रातो भएन भन्ने एन्टी थेसिसले काम गरेको समय हो यो ।
अर्थात्, यसपटक अमेरिकामा ट्रम्प भन्ने ब्रान्ड नै बिक्यो । उनको महँगी बिक्यो, मुद्रास्फीति बिक्यो, पर्खाल बिक्यो, सीमाबन्दी बिक्यो, कागजपत्रविहीनलाई निष्कासन गर्ने कुरा बिक्यो, घृणा बिक्यो, स्त्रीद्वेषी अभिव्यक्ति बिक्यो, गर्भपतनमाथि प्रतिबन्ध बिक्यो, युक्रेन र मध्यपूर्व युद्ध बन्द गर्ने कुरा बिक्यो, तानासाह हुने कुरा बिक्यो ।
चुनावी अभियानकै क्रममा उनीमाथि गोली हानियो।ट्रम्प समर्थक मागाहरूले त्यो गोली डेमोक्रेट्सले नै हान्न लगाएको दाबी गरे । उनीहरूले ट्रम्पलाई अमेरिकाकै राष्ट्रपति बन्नका लागि यिशुले बचाएको समेत भने । ट्रम्पले यो भाष्य पनि पनि बेचे । अर्थात्, ट्रम्पले यसपटक कालोलाई रातो भन्दा पनि बिक्यो ।
अमेरिकालाई चलाउने वास्तविक दुई शक्ति जी– गड (नदेखिने शक्ति) र गन (देखिने शक्ति) दुवै ट्रम्पको पक्षमा भएपछि कसैको दैया चलेन, स्वयं अमेरिका नै ट्रम्पेरिका हुन मन्जुर भयो । यसका लागि सन् २०१६–२० को बाइडेनको सुस्त राष्ट्रपति कार्यकाल र डेमोक्रेटिक पार्टीको खियापर्दै गएको नीति, चमक गुमाउँदै गएका नेता र गुम्दै गएको जनाधार चाहिँ सामान्य कारण मात्र रह्यो । सातवटै बैजनी राज्य रातो भएपछि राज्यस्तरका अप्टिक्स र डाइनामिक्स पनि भन्ने कुरा मात्रै भए ।
प्रजातन्त्रमा जनता नै जनार्दन हुन् । त्यसैले उनीहरूको निर्णय नै अन्तिम हो । तर, जनता जनार्दन हुन् भन्दैमा सधैँ सही नै निर्णय गर्छन् भन्ने हुँदैन । इतिहासमा जनताले अनेकपटक गलत निर्णय पनि गरेका छन् र त्यसको मूल्य उनीहरूले, उनीहरूको देशले र भावी पुस्ताले पनि चुकाएका छन् । मलाई लाग्छ, यसपटक अमेरिकी जनताले गरेको निर्णय पनि त्यस्तै एक गलत निर्णय हो । गलत हुने अरू कारण त तपसिलमा होलान् र समयक्रममा जाँचिँदै पनि जालान् ।
तर, यतिबेलै भन्न सकिने मूल कारण के हो भने अमेरिकी जनताले एक ३४ फेलोनलाई राष्ट्रपति बनाएर कलंकको टीका लगाए । यो निर्णयले उनीहरूले सुशासनको अर्ती दिने नैतिक धरातल मात्र गुमाएनन्, एक योग्य महिलालाई राष्ट्रपति हुन नदिएर महिला समानताको पाठ पढाउने भूमिका पनि छोडिदिए ।
चुनावपछिको परिदृश्य
चुनावको अनौपचारिक नतिजा आइसकेको छ । कमलाको २२६ कलेज इलेक्ट्रल मतविरूद्ध ३१२ कलेज इलेक्ट्रल मतका साथ ट्रम्पले जितेका छन् । औपचारिक नतिजा भने जनवरी ६मा मात्र प्रमाणित हुनेछ । चुनावको परिणामले अमेरिका स्तब्ध छ । तर पनि शान्त छ । यो सबै कमलाको हार र हारलाई स्वीकार गर्नै डेमोक्रेटिक संस्कृतिका कारण हो ।
कथम् ट्रम्पले हारेको भए अहिलेको जस्तो शान्तिको कल्पना गर्न गाह्रो थियो । किनकि, उनले चुनावकै समयमा हार भएमा त्यो परिणाम स्वीकार नगर्ने धम्की दिएका थिए । परिणाम हेर्दा त्यो धम्कीबाट डराएर पनि केही नीला अमेरिकी राता भएर मुर्दाशान्ति रोजेको जस्तो देखिन्छ ।
यही बिचमा डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले चुनावी हार स्वीकार गर्दै ट्रम्पलाई बधाइ तथा शुभकामना दिइसकेकी छिन् । राष्ट्रपति बाइडेनले पनि ट्रम्पलाई बधाइ दिदै शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने बताइसकेका छन् । उनले ट्रम्पलाई ह्वाइट हाउसमा निम्ता पनि दिइसकेका छन् । चार वर्षअघिको चुनावमा आफ्नै जीत भएको दाबी गर्दै आएका ट्रम्प पनि बाइडेनको निम्तो मान्न ह्वाइट हाउस जाने भएका छन् । यो विकसित परिदृश्य ट्रम्प बाइडेनलाई राष्ट्रपति मान्न बाध्य भएको परिदृश्य हो ।
अब के हुन्छ ?
सन् २०२५ को जनवरी १९ सम्म ह्वाइट हाउसमा बाइडेन–ह्यारिस नै रहन्छन् । त्यतिञ्जेलसम्म उनीहरूले सिनेटमा बहुमत रहेकोले डेमोक्रेट पार्टीको लाज बचाउन र ड्यामेज कन्ट्रोल गर्न केही टालटुले कामहरू गर्न प्रयत्न गर्नेछन् । त्यसमा कति सफल हुन्छन्, कति असफल ?, अहिले नै प्रक्षेपण गर्न सकिन्न । तर, नैतिक र गणितीय दुवै हिसाबबाट पछाडि परेको डेमोक्रेटिक ल्याम–डग ह्वाइट हाउस सफल हुने भन्दा पनि असफल हुने नै सम्भावना बढी छ ।
विगतमा पनि ल्याम डग भैसकका डेमोक्रेटिक राष्ट्रपतिहरू रिपब्लिक जिद्दीका सामु निरीह भएका एक हैन अनेक दृष्टान्तहरू छन् । अझ यसपटक त सरकारका तीनवटै अंग कब्जा गरेको रिपब्लिकन पार्टी नै ट्रम्पकन भएको अवस्था छ ।
यही बिचमा ट्रम्प आफ्नो ह्वाइट हाउस पुनरागमनका लागि तयारीमा जुट्ने छन् । अहिले उनको प्राथमिकता सहकर्मीको छनोट हो । यसै पनि पूरा गर्नै नसकिने चुनावी वाचा गरेका उनी ती सबै वाचा कसरी पूरा गर्ने भन्ने ठूलो दबाबमा छन् ।
अमेरिकालाई ठाडो चिरामा विभाजित गरेर र रिपब्लिकन पार्टी कब्जा गरेर अतिवादीहरूका मात्र नेता भएका ट्रम्पसँग ती दबाब थेग्न सक्ने निर्विवाद मानिसको खडेरी छ । भएका कतिपय क्षमतावान् मानिस पनि लहडी स्वभावका घोषित तानासाह ट्रम्पले कतिबेला फायर गर्ने हुन् भनेर नियुक्ति लिन संकोच मानिरहेका छन् ।
ट्रम्पका सामु केही निर्णय भैसकेका र केही निर्णय हुन बाँकी संगीन मुद्दाहरू छन् । चुनावअघि सबै मुद्दाहरू स्थगित गरेर उनलाई राष्ट्रपति हुन काजमा खटाइए जस्तै अवस्था थियो । अब निरूपण भैसकेका मुद्दाको फैसला कार्यान्वयनमा लैजान र बाँकी रहेका मुद्दा न्यायिक निरूपणमा लैजान प्रयास गरिने छ । तर, त्यो प्रयास पनि त्यति कामयाव होला जस्तो देखिदैन । ट्रम्पले तिनीहरूलाई लम्ब्याएर जनवरीपछि आफूले आफैँलाई माफी दिने स्थितिमा लैजान्छन् । अमेरिकामा राष्ट्रपतिले आफूले आफैलाई माफी दिन सकिने अचम्मको व्यवस्था छ । केही समय अगाडि मात्र अमेरिकी राष्ट्रपतिले गल्ती गर्दैनन् भन्ने खालको गजबको व्याख्या पनि अमेरिकी सर्वोच्च अदालतले गरिसकेको छ ।
सन् २०१६ मा ट्रम्पले जित्दाभन्दा पनि अहिले अमेरिकामा भय र अनिश्चितताको माहौल छ । खासगरी अल्पसंख्यक गैर–श्वेत आप्रवासीहरूका लागि ट्रम्प नाम नै आतंकका लागि पर्याप्त छ । तर, यसपटक गजब त के भयो भने यो आतंकलाई ह्वाइट हाउसमा पु¥याउन गैर–श्वेत आप्रवासीहरूको अहम् योगदान छ ।
त्यो योगदानमा अमेरिकामा रहेका नेपालीभाषी नेपाली–अमेरिकीहरूको पनि उल्लेखनीय हिस्सा छ । उनीहरूको दिमागमा एउटै परपीडक सोचले ठाउँ पायो, त्यो के थियो भने ‘हामी त आइहाल्यौं, अरूलाई किन आउन दिने ? ट्रम्पले जिते भने अरूलाई आउन दिदैनन्’ । यही सोचका कारण उनीहरू ट्रम्पकन भए । केहीलाई ट्रम्प आए कम कर तिर्नुपर्छ भन्ने लाग्यो भने केहीलाई कोभिडको बेला ट्रम्पले धेरै पैसा दिएकोले त्यसको नुनको सोझो गर्नु पर्ने थियो ।
अझ केही आफूलाई व्यापारी ठान्नेले त आफ्नो वर्ग उत्थान भएकाले आफ्नो नेता ट्रम्प भैसकेको भन्ने पनि ठाने । केही सेयर बजारमा चुर्लुम्म डुबेकाहरूलाई ट्रम्प आए उक्सिन्छु भन्ने पनि थियो । केहीलाई आफ्नो ‘पेटी शत्रु’ कमलातिर लागेकाले उसलाई देखाउन ट्रम्पकन हुनु थियो । धेरै नेपाली मूलका भुटानीलाई आफू भारतका कारणले देश छोड्नु परेकाले भारतीय मूलकी कमलामार्फत् बदला लिनु पनि थियो । यी र यस्तै कारणले धेरै नेपालीभाषी अमेरिकी नेपाली पनि ट्रम्पकै कित्तामा पुगे ।
अब के गर्ने त ?
ट्रम्पले पहिलो दिनदेखि नै तानासाह हुने मात्र बताएका छैनन्, शत्रुको सूची बनाएर सबैलाई कारबाही गर्ने घोषणा पनि गरेका छन् । यति मात्र हैन, पहिलो दिन नै रुस युक्रेन युद्ध र मध्यपूर्व युद्ध बन्द गराउने भनेका छन् । महँगी र मुद्रास्फीति घटाउने भनेका छन् ।
पहिलो दिन नै उनी तानासाह भएर कारबाही त सुरु गर्न सक्लान् । बाँकी काम त केही गर्न पनि सक्नेवाला छैनन् । त्यसपछि अर्को १०० दिन नपुग्दै ट्रम्पकनहरू हुस्सु भएको महसुस गर्नेछन् र ट्रम्पलाई सत्तोसराप गर्न थाल्नेछन् । यो क्रम २०२६ को मध्यावधिमा पुग्दासम्म राताहरू बैजनी हुदै नीलो भैसक्नेछन् । संसद् नीलो भएपछिका बाँकी दुई वर्ष ट्रम्पले केही गर्नै सक्दैनन् । परिणामतः ट्रम्पले पछाडि धकेलेर ट्रम्पेरिका बनाएको अमेरिका सन् २०२८ मा फेरि अमेरिका नै हुने छ ।
कमला ह्यारिसले पराजयपछिको शान्त्वना सम्बोधनमा भनेकी थिइन्, अबको चार वर्ष औंशीको रात हुनेछ, हामी त्यो कालो रातमा पनि ताराझैं प्रजातन्त्र, न्याय र समानताको लागि चम्किरहनेछौँ । त्यसपछि त सन् २०२८ मा फेरि उज्यालो हुनेछ । त्यो बिहानसम्म हामी नथाकी ताराझै टिलपिलाइ रहनुपर्छ ।
कामना गरौं, कमलाले भनेजस्तै होस् । अहिलेका लागि भने गैर–श्वेतहरू हुलमुलमा ज्यान जोगाउनतिर लाग्नु नै श्रेयस्कर हुन्छ । अमेरिका ट्रम्पेरिका भैसकेको सत्यलाई बिर्सने गल्ती सम्बन्धित जो कोहीले गर्नु हुँदैन ।
पूरा होला त ‘ट्रम्प–बाचा’ ?
२०१६ मा भन्दा पनि यसपटक ट्रम्पले पूरा गर्नै नसक्ने चुनावी बाचा गरेका छन् । एकातिर अहिले नै अमेरिकामा एक करोड ३० लाख कामदार कम छन्, अर्कोतिर भएका एक करोड १० लाख कागजपत्रविहीन कामदारलाई पनि देश निष्कासन गर्छु भनेका छन् । बाहिरबाट आउने सामानमा कम्तीमा २० प्रतिशत कर लगाउने भनेका छन्, अमेरिकामै उत्पादित सामान प्रयोग गर्ने भनेका छन् । अहिलेको अवस्थामा न बाहिरबाट आउने सामान सस्तो हुन्छ न अमेरिकामा सस्तोमा सामान उत्पादन हुन्छ । अनि कसरी नियन्त्रण हुन्छ त मूल्यवृद्धि? यसको भर्पर्दो उत्तर दिने अवस्थामा कोही पनि 'मागा' छैनन् ।
यसरी कसरी महँगी र व्यापार घाटा घट्छ । अरूले त परै जाओस् ट्रम्प इकोनोमीमा विश्वास गर्नेहरूले पनि यसलाई हावा खुस्केको नीति भनेका छन् । दक्षिणी सिमानामा मेक्सिकोको पैसाले पर्खाल लगाउने र आप्रवासीलाई सीमा बन्द गर्ने भनेका छन् । कर घटाउने भनेका छन् ।
चर्का कुरा गर्नलाई त सजिलो छ तर यथार्थमा यी सबै कुरा हुनेवाला छैनन् । विश्वभूमण्डलीयकरणको यो युगमा सारा विश्व नै एउटा सानो गाउँ भैसकेको बेला ट्रम्पले चाहँदैमा अमेरिका कुनै एउटा टापूको देश हुन सक्दैन। त्यसमाथि पनि संसारभरका देशहरूसँग अमेरिकाको मित्रता वा शत्रुताको ‘इङ्गेजमेन्ट’ घाम जत्तिकै छर्लङ्गै छ ।