२४ महिनाकाे लागि २४ वाचासहित आरके शर्माद्धारा एनआरएनकाे अध्यक्षमा उम्मेदवारी घाेषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा आर.के शर्माले उम्मेदवारी घोषणा गरेका छन्।

यही अक्टाेबर १७ देखि २० तारिखसम्म काठमाडाैँमा हुने महाधिवेसनकाे लागि शर्माले शुक्रबार काठमाडाैँमा एक विशेष समाराेहबीच उम्मेदवारी घाेषणा गरेका हुन्। शर्मा हाल एनआरएनएका उपाध्यक्ष हुन्।

लामो समयदेखि एनआरएनए अभियानमा निरन्तर लागिरहेका शर्माले संघको संस्थागत एकता, सुधार र सुदृढीकरणका लागि आफूलाई अध्यक्ष पदका लागि चुनावी मैदानमा उभिएकाे बताए। विश्वभरि छरिएर रहेका प्रवासी नेपालीलाई एकताकाे सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउने दृढताका उम्मेदवारी दिएकाे उनकाे भनाइ थियाे।

उनले प्रवासी नेपाली कामदारकाे हक/हितकाे लागि अथक प्रयास गरेकाे उल्लेख गरे। ‘हाम्रा अग्रज र तपाईं हामी सबैले प्रवासी कामदारको हकहितका लागि अथक प्रयास गरिरहेका छौँ,’ उनले भने।

‘गैरआवासीय नेपालीको अभियान स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने नारासहित शर्माले अध्यक्षमा उम्मेदवारी घोषणा गरे।

शर्माले उम्मेदवारी घाेषण समाराेहबीच २४ महिनाकाे लागि २४ वाचा र याेजनासहित प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन्।

यस्ता छन्, शर्माका २४ महिनाका २४ वाचा

१. एनआरएनहरूबीचको एकताः पहिलो प्रतिबद्धता

सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई एकताको मालामा उन्ने र साझा हक हितका बिषयमा एकताबद्ध भएर लड्ने विशुद्ध उद्देश्य राखेर एनआरएनएको स्थापना भएको हो। तर, केही समययता हामी सबै एकताबद्ध भएर अगाडि बढ्न सकेका छैनौँ। त्यसले, कहीं कतै हाम्रै अभियानलाई असर पुर्याउदै गएको छ। हामी फुटेर होइन, जुटेर मात्र लक्षित उद्देश्य हासिल गर्न सक्दछौं।

तसर्थ, मेरो नेतृत्वमा आइसिसी गठन हुने बित्तिकै सबै गैरआवासीय नेपालीलाई एकताको मालामा उन्ने अभियानमा लाग्नेछु। मेरो कार्यकालमा फुटेको होइन, जुटेको एनआरएनु बन्नेछ। यो मेरो पहिलो प्रतिबद्धता हो।

२.वैदेशिक रोजगारः दक्ष जनशक्ति,

देशभित्र पर्याप्त रोजगारी नभएपछि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य कहिले हुने हो, थाहा छैन। वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन, कामदारलाई पारदर्शी भर्ना गर्न, र सरकारलाई आवश्यकता अनुसार नीतिगत सुधार गर्नको लागि उपयुक्त सुझाव दिन एनसिसीलाई परिचालन गरिनेछ।

बैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनाको कार्यक्रम सञ्चालन गरिने छ। कोषमा आबद्धताको निरन्तरताको लागि भुक्तानी विधि सरलीकृत गर्न पहल गरिनेछ । कोषबाट दिइने थप कार्यक्रमहरु प्रभावकारी बनाउनको लागि कोषमा एनआरएनको प्रतिनिधित्व सुनिश्चित गरिनेछ।

मलेसिया लगायत गन्तव्य मुलुकको सामाजिक सुरक्षा सम्बन्धी संस्थामा जम्मा रहेको नेपाली श्रमिकको रकम निजको करार अवधि समाप्ति पश्चात् नेपालको सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने वा कामदारको सम्झौता अवधि समाप्त भए पश्चात जम्मा भएको निज स्वयंले नै रकम फिर्ता पाउने गरी द्विपक्षीय समझदारीमा समावेश गर्न सरकारसँग पहल गरिनेछ गन्तव्य देशको सरकारले सञ्चालन गर्ने सामाजिक सुरक्षा कोषमा नेपाली श्रमिकको सहभागिता गर्न पहल गरिनेछ।

विश्व बजारमा सूचना प्रविधिमा आएको परिवर्तनसँगै रोजगारीका क्षेत्र पनि परिवर्तन भएको हुँदा सो अनुसारको रोजगारी प्राप्त गर्ने गरी विदेश जान सरोकारवाला निकायसँग समन्वय गरी सूचना प्रविधिमा आधारित तालिम लगाएतका कार्यक्रम सञ्चालन गरिने छ।
वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरी दर्ता गर्ने विभिन्न संयन्त्रहरू र उपलब्ध सेवाहरुको बारेमा श्रमिकहरुलाई जानकारी दिइनेछ।
वैदेशिक रोजगारीको क्रममा मृत्युवरण गर्नुपरेका व्यक्तिको परिवारलाई दिने राहत रकमलाई बढाउने र उनीहरुका परिवारलाई देशभित्र रोजगारीका अवसर प्रदान गर्ने व्यवस्था गर्न सरोकारवाला निकायसंग समन्वय गरिने छ।
पछिल्लो समय बैदेशिक रोजगारको गन्तव्य मुलुकका सम्भावना बोकेका देशहरूसँग श्रम सम्झौता गर्न पहल गरिने छ।
मध्यपूर्व, मलेसिया हुँदै अहिले पूर्वी युरोप अनि युरोप मा बढ्न थालेको श्रमिकको चापलाई मध्यनजर गर्दै संघमा श्रम समस्या सहजीकरण गर्नको लागि अलग विभाग राख्ने व्यवस्था मिलाइने छ। श्रमिकहरूको संख्या बढी भएका देशहरूको एनसिसीमा श्रम डेस्क नै राखेर श्रमिकका समस्या समाधानको व्यवस्था मिलाइनेछ। श्रमिकको संख्या बढी भएका देशका एनसिसीका अध्यक्षलाई पदेन श्रम दूत बनाउन पहल गरिने छ नेपाली दूतावासबाट प्रभावकारी श्रम कुटनीति र कन्सुलर सेवा प्रवाह गर्न सकिदैन। जहाँ जहाँ जनशक्ति र श्रोतको अभाव हुन्छ, त्यस ठाउँमा एनआरएनएबाट आवश्यकता अनुसार स्वयंसेवी खटाइनेछ। भाषा,कानुन र स्वास्थ्यको अज्ञानताको कारण श्रमिकहरु कानुनी झमेलामा पर्ने र उनीहरूको स्वास्थ्यमा असर पर्ने भएकाले उनीहरुलाई कानुन र आधारभूत स्वास्थ्यको जानकारी निःशुल्क दिने व्यवस्था मिलाइने छ र कामदारको सुरक्षाका लागि सम्बन्धित रोजगारदाताले पूरा गर्नुपर्ने कर्तव्य रोजगार करारमा स्पष्टरूपमा राख्ने व्यवस्था गर्न पहल गरिनेछ।


परदेशमा एक्लो रहँदा कामदारको मानसिक स्वास्थ्यमा असर परिरहेको छ। जसले गर्दा आत्महत्या बढिरहेको छ। आत्महत्यालाई न्युनीकरण गर्नको लागि प्रत्येक एनसिसी मार्फत मनोपरामर्श सेवा दिने व्यवस्था गरिनेछ। विदेशबाटै पुनः श्रम स्वीकृति प्राप्तिको लागि रकम भुक्तानी सरलीकरण गर्न नेपाल राष्ट्र बैंकसँग समन्वय गरी देशगत रुपमा निकास निकालिनेछ। श्रमिकको राहत, उद्धार तथा कल्याणकारी क्रियाकलाप सञ्चालन गर्न वैदेशिक रोजगार बोर्डबाट मात्रै सम्भव छैन। यसको लागि श्रम गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरुमा राहत उद्धार कोष स्थापना गर्न पहल गरिनेछ यो कोषमा दूतावासबाट दिइने सेवा बापत प्राप्त सेवा शुल्कको निश्चित प्रतिशत रकम जम्मा गर्नुपर्दछ यो कोषमा एनआरएनले पनि थप योगदान गर्नेछ। पछिल्लो समय श्रम गन्तव्यको रुपमा आकर्षण बढ्दै गएको युरोपमा मृत्यु पश्चात् नेपाली कामदारको शव व्यवस्थापन तथा ढुवानी चुनौतीपूर्ण बन्दै गएको छ यसको सबै खर्चको जिम्मेवारी कामदारकै काँधमा आउने गरेको छ । शव व्यवस्थापन तथा ढुवानीको सम्पूर्ण खर्च रोजगारदाता वा वैदेशिक रोजगार बोर्डबाट नै मिलाउन पहल गरिनेछ ।

इराक लगायत गन्तव्य देशको कानुनी प्रक्रिया पुरा गरेका तर नेपालबाट श्रम स्वीकृति नलिई गएका नेपाली नागरिकले श्रम स्वीकृति पाइरहेको छैन । यो समस्यालाई समाधान गर्न गन्तव्य मुलुकको कानूनी प्रकृया पुरा गरेका व्यक्तिलाई नेपाली दूतावास मार्फत नै निश्चित अवधि तोकेर श्रम स्वीकृति दिने व्यवस्था मिलाइनेछ।

३.हाम्रो नीतिः सुधारौ श्रमिकको आर्थिक स्थिति

लामो समयदेखिको प्रयासपछि सरकारले विदेशमा बस्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय गरेको छ। विदेशमा बस्ने सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अभिप्रेरित गरि ती श्रमिक र तिनीहरूमा आश्रित परिवारको आर्थिक र सामाजिक सुरक्षाका लागि विशेष पहल गरिने छ। नेपाल सरकार, सामाजिक सुरक्षा कोष र अन्य सम्बन्धित निकायहरुसँग अन्तरक्रिया गरी सामाजिक सुरक्षा कोषमा हाल कायम रहेका योजनाहरुलाई गैरआवासीय नेपालीमैत्री बनाउन पहल गरिनेछ। सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकका ल्याइने आइपिओमा आरक्षण कोटा बढाएर श्रमिकको सहभागिता बढाउन विशेष पहल गरिनेछ।

४. व्रिपेषण रकमको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ

बैदेशिक रोजगारको विकल्प तत्काल देखिदैन । तर, देशका लागि विप्रेषण (रेमिट्यान्स) दिगो स्रोत होइन । अबको केही वर्षसम्म विप्रेषण आउने क्रम जारी रहने आँकलन गरिए तापनि त्यसपछि पनि त्यसरी नै सहजरुपमा विप्रेषण आइरहनेछ भनेर भन्न सकिने अवस्था छैन।

त्यसरी प्राप्त हुने विप्रेषण पनि अधिकांश रकम उपभोग्य वस्तु आयात गर्न मै खर्च भएको छ। त्यसैले, अहिले देशले प्राप्त गरिरहेको विप्रेषण रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने र बैदेशिक रोजगारको विकल्प खोज्नुपर्ने देखिएको छ। त्यसका लागि विशेष पहल गरिनेछ। विश्वले स्वच्छ उर्जा उत्पादनमा ध्यान केन्द्रित गरिरहेको छ हाम्रो देशको झण्डै ४२ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भए पनि उपयोग नभएर त्यसै खेर गएको अवस्था छ। जलविद्युत्‌मा विप्रेक्षण रकमलाई लगानी गर्दै क्रमशः नेपालमा आयात हुने एलपी ग्यास खपतलाई विस्थापन तर्फ लैजाने र पेट्रोलियम पदार्थको आयात घटाउने घटाइ विदेशी मुद्रा बचाउने र निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने नीतिमा जोड दिने कार्यलाई प्राथमिकतामा राखी कार्य गर्नका लागि विशेष पहल गरिनेछ स्वदेशमा विद्युत् खपत बढाउने, विदेशी संस्थाहरुको डाटा सेन्टर खोल्ने र मलकारखाना स्थापना गर्ने व्यवस्था मिलाउनका लागि विशेष पहल गरिनेछ।

५. एनआरएनएको निरन्तर खटनः ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठन’


सामान निर्यात गरी विदेशी मुद्रा भित्र्याउने निर्यातकर्तालाई सरकारले प्रोत्साहन रकम उपलब्ध गराउँछ तर, श्रम निर्यात गरी विप्रेषण रकम भित्र्याउने नेपालीलाई सरकारले कुनै प्रोत्साहन रकम उपलब्ध गराउने गरेको छैन। त्यसैले, नेपाल सरकारबाट ‘गैरआवासीय नेपाली भविष्य सुरक्षा प्राधिकरण’ गठन गराउनका लागि निरन्तर रुपमा बहस र पैरवी गरिनेछ।

औपचारिक माध्यमबाट विप्रेषण पठाउने व्यक्तिलाई प्रोत्साहन गर्न पठाउने व्यक्तिको नामबाट भित्रिएको रकमको दुई प्रतिशत रकम सरकारले उक्त व्यक्तिको नाममा राखिदिने र पठाएको रकमको १० प्रतिशत रकम वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सहमतिमा गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरणमा रहेको भविष्य सुरक्षा खातामा जम्मा गर्ने व्यवस्था मिलाउनका लागि पहल गरिनेछ। यसरी जम्मा हुँदै र बढ्दै गएको रकममा हरेक वर्ष एक निश्चित प्रतिशत ब्याज प्रदान गर्ने व्यवस्था मिलाउनका लागि पनि पहल गरिने। यसरी जम्मा भएको रकमलाई उत्पादनमूलक आयोजनामा लगानी गरी वैदेशिक रोजगारीमा रहेका उक्त प्राधिकरणमा रकम जम्मा गरेका योगदानकर्तालाई जम्मा भएको रकमको आधारमा लाभांश वितरण गर्ने व्यवस्था मिलाउनका लागि पनि पहल गरिनेछ  यस्तो व्यवस्थाबाट वैदेशिक रोजगारमा रहेका नेपालीहरुले पठाएको रकमका आधारमा प्रोत्साहन रकम पाउने, उनीहरुको बचत रकम बढ्दै जाने र भविष्यमा हुने आर्थिक सुरक्षाको चिन्तामा कमी आउँदै जाने अपेक्षा गरिएको छ।


६.सांगठनिक पुनर्संरचनाः कार्यदलबाट गहन योजना

सम्बन्धित विज्ञबाट अध्ययन गराई सांगठनिक पुनर्संरचना गरिनेछ। संघको मूल मर्मअनुसार लक्षित उद्देश्य हासिल गर्न योजना कार्यान्वयन बलियो हुनुपर्छ तसर्थ, केन्द्रिय कार्यालय साधन र स्रोतको व्यवस्था मिलाई थप सबल र सक्षम बनाइनेछ। घोषणा गरिएका कार्यक्रमहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विशेष कार्यदल गठन गरिनेछ। कार्यदलका लागि लिखितरूपमा (कार्य विवरण) तयार गरी प्रदान गरिनेछ । त्यही कार्यविवरणका आधारमा हरेक कार्यदलले गरेको कार्य सम्पादनको मूल्यांकन गरिनेछ। आन्तरिक व्यवस्थापन र संघको लेखापरीक्षणलाई अन्तर्राष्ट्रियस्तरको गराइनेछ संघको कार्य प्रगति नियमितरूपमा अनुगमन गर्ने र पदाधिकारी तथा कार्यसमितिलाई जानकारी गराउने व्यवस्था मिलाइनेछ। केन्द्रीय कार्यालयमा रहेका हरेक विभागका लागि विभाग प्रमुख चयन गरिनेछ। हरेक विभाग प्रमुखले प्रतिबद्धतासहितको जिम्मेवारी ग्रहण गरी कार्यसम्पादन प्रतिवेदन पदाधिकारीलाई मासिकरूपमा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ। हाल कायम रहेका एनआरएनए एनसीसीहरुलाई नेपालीहरू बस्ने सबै देशहरुमा पुऱ्याइनेछ। संघलाई आर्थिक रूपमा सम्पन्न र बलियो बनाउन संघ सञ्चालन कोषको रकमलाई बढाउँदै लगिनेछ र उक्त कोषलाई आर्थिक प्रशासन नियमावली अनुसार प्रभावकारी रूपमा व्यवस्थापन गरिनेछ।

७. मानव संशाधन स् सबलीकरणयुक्त कार्यसम्पादन

निर्वाचन सकिएलगत्तै आईसीसी पदाधिकारी र कार्यसमितिका सदस्यहरुका लागि ‘अभिमुखीकरणु कार्यक्रमको आयोजना गरिनेछ। कार्य जिम्मेवारीअनुसार सचिवालयमा आवश्यक पर्ने कर्मचारीको पद र संख्या निर्धारण गरिनेछ। त्यसैका आधारमा आवश्यक परेमा थप कर्मचारी भर्ना गर्ने व्यवस्था मिलाइने छ। हरेक पदका लागि आवश्यक पर्ने योग्यता र सीपको विवरण विषय विज्ञबाट तयार गराइनेछ। हरेक कर्मचारीलाई कार्यविवरण तयार गरी लिखित रुपमा दिइनेछ। कार्य विवरणका आधारमा वार्षिक कार्यसम्पादन मूल्यांकन गरिनेछ। सम्पूर्ण पदाधिकारी तथा कर्मचारीलाई आवश्यकताअनुसार आन्तरिक तथा बाहय तालिमको व्यवस्था मिलाइनेछ।

८. संस्थागत सुशासनः शून्य सहनशील स्वअनुशासन

गैरआवासीय नेपालीप्रति नेपाली दाजुभाइ दिदीबहिनीहरूको ठूलो आशा र भरोसा छ। हामी कहीं कतै चुक्यौं भने संस्थाप्रति नै नकारात्मक धारणा बढ्दै जान्छ। तसर्थ, सबै गैरआवासीय नेपाली स्वअनुशासनमा बस्न अभिप्रेरित गरिनेछ। संस्थागत सुशासनमा ‘शून्य सहनशीलत’ को नीति लागू गरिनेछ। सशक्त र बलियो अनुशासन समिति बनाइनेछ। एनआरएनए पदाधिकारी र अन्य सदस्यहरुले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा एक मार्गदर्शन बनाई लागू गरिनेछ र सबै सदस्यहरुलाई वितरण गरिनेछ।


८. एनआरएनए निर्वाचनः सबैले गर्न पाऊन मतदान

गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदेखि अन्तराष्ट्रिय समन्वय परिषद् सम्मको निर्वाचन निकै खर्चिलो र भड्किलो हुने गरेको अनुभव गरिएको छ। सूचना तथा प्रविधिको उच्चतम् प्रयोग गर्ने व्यवस्था मिलाई उक्त प्रचलन र प्रणालीमा सुधार गरिनेछ। गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा अहिले डेलिगेट्सबाट नेतृत्व चयन हुने गरेकामा त्यसलाई पञ्जीकृत सदस्यले चुन्ने व्यवस्था गराइने छ। अनलाइनबाट पञ्जिकृत सदस्यले भोट गर्ने र राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचन एकैदिन हुने व्यवस्था मिलाइनेछ।
कार्यसमितिलाई समावेशी बनाउने नीति लिइनेछ।

१०. आर्थिक कुटनीतिः लगानी प्रबर्द्धन मुख्य नीति

देशको विकासका लागि आर्थिक कुटनीति र लगानी प्रबर्द्धनको कार्यक्रम सञ्चालन गरिनेछ। सम्भाव्य देशहरूका एनसिसीमा नेपालमा लगानी आकर्षण गर्नको लागि छुटै डेस्क सञ्चालन गरिनेछ। लगानीका सम्भावना भएका देशका एनसीसीहरुमा नेपालमा लगानी भित्र्याउन लगानी सम्मेलन आयोजना गर्न पहल गरिनेछ। नेपालमा लगानी भित्र्याउने सम्भावना भएका देशहरुका एनसीसीले त्यहाँका लगानीकर्तासँग अन्तरक्रिया कार्यक्रम गर्न प्रोत्साहन गरिनेछ। विदेशमा बहुराष्ट्रिय कम्पनीको उच्च पदमा कार्यरत नेपालीहरूको रोष्टर तयार गरेर ति कम्पनीको लगानी नेपालमा भित्र्याउन विशेष पहल गरिनेछ। अन्तर्राष्ट्रिय जिल्ला समाजहरुसँगको सहकार्यमा सम्भव भएसम्म सबै जिल्लामा एक जिल्ला एक उत्पादनको कार्यक्रम सञ्चालन गर्ने कार्यका लागि पहल गरिनेछ।

११. गरौं उच्चतम् प्रयोग सूचना प्रविधिः हुन्छ विकास र समृद्धि

पछिल्लो समय सूचना प्रविधिमा नेपालमा लगानी बढ्दो क्रममा रहेको छ त्यति मात्र होइन, निर्यात गर्न निकै ठूलो सम्भावना रहेको क्षेत्र हो सूचना प्रविधि। त्यसैले, विदेशका सफल कम्पनी र लगानीकर्तालाई नेपालमा लगानी गरी सफ्टवेयर निर्यात गर्ने कार्य गर्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ। आइटी क्षेत्रमा लगानी भित्र्याउनको लागि यस सम्बन्धी छुटै विज्ञ सम्मेलन गरिनेष्ठ विश्वमा प्रतिष्ठित सूचना प्रविधि कम्पनीमा कार्यरत नेपालीहरुको सूची बनाएर नियमित अन्तरक्रियात्मक कार्यक्रम गर्ने व्यवस्था मिलाई त्यसको लाभ मातृभूमिमा ल्याउने प्रयास गरिनेछ।

१२. नेपाली रोजौं, नेपाली खोजौं स् निर्यात बढाउन जोडतोडले लागौं

नेपालको बढ्दो व्यापार घाटा कम गर्न हरेक एनसीसीले नेपालको वस्तु निर्यात प्रबर्द्धनका लागि पहल गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।
मुख्यरुपमा नेपालका चिया, अलैची, अदुवा जस्ता वस्तुहरुको निर्यातलाई एनसीसीहरुले सम्बन्धित देशमा प्रवर्द्धन गर्ने कामलाई प्राथमिकतामा राखिनेछ। विदेशी नेपालीलाई नेपाली उत्पादन प्रयोग गर्न प्रोत्साहन गराउने कार्यक्रम सञ्चालन गरिनेछ।

१३.गैरआवासीय सरोकार स् जहाँ भए पनि नागरिकता र मताधिकार

विश्वव्यापी मान्यताअनुसार १८० दिनभन्दा बढी समय नेपाल बाहिर बस्ने नेपालीलाई गैरआवासीय नेपालीको मान्यता दिलाउन पहल गरिनेछ।
बंशजको नागरिकताको निरन्तरताको लागि पहल गरिनेछ। २०८४ सालको निर्वाचनमा विदेशमा नै मताधिकार कार्यान्वयन गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग समन्वय गरिनेछ। बर्मा, थाइल्याण्ड तथा मलेसियामा लामो समयदेखि बस्ने नेपालीलाई गैरआवासीय अभियानभित्र ल्याउन पहल गरिनेछ। गोर्खाजको मुद्दालाई सरकारी वा सम्मानित निकायद्वारा सम्बोधनको लागि पहल गरिनेछ गैरआवासीय नेपाली अभियानले सम्बोधन गर्नुपर्ने विद्यार्थीहरु अभियानमा जोडिन सकेका छैनन्। ऐन संशोधन गरेर विद्यार्थीलाई अभियानमा समेट्ने र उनीहरुले सिकेको सिप र ज्ञानलाई नेपालसँग जोड्न अभिप्रेरित गरिने छ।

१४. नेपाल समृद्धिको दस्ताः गैरआवासीय दोस्रो पुस्ता

गैरआवासीय अभियानमा अहिलेसम्म नेपालमा जन्मेर हुर्केको पुस्तामात्र संलग्न रहदै आएका छौं। सम्बन्धित देशमा जन्मी हुर्की त्यहाँको नागरिकता लिएका दोस्रो र तेस्रो पुस्ताका गैरआवासीय नेपालीले नेपाल बिर्सिदै जाने सम्भावना बढ्दै गएको छ। तसर्थ, उक्त जोखिमलाई न्यूनीकरण गर्न एनआरएनए अभियानमा दोस्रो पुस्तालाई जोड्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। दोस्रो पुस्तालाई गैरआवासीय अभियानमा लक्षित कार्यक्रम गर्ने उनीहरूका ज्ञान सिप कार्यक्रमको ल तथा नेपाल भ्रमण गराउने र खेलकुद जस्ता प्रतियोगिताको आयोजना गर्ने नेपालबाट बाध्यताले बाहिरिएका खेलाडी, कलाकारलाई प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालनमा ल्याइने छ।

१५.अबको समृद्धिः जगेर्ना गरौं भाषा र संस्कृति

नेपाली तथा नेपालभित्र बोलिने मातृभाषाको जगेर्नाको लागि हरेक एनसिसीहरुमा विभिन्न कार्यक्रम तथा महोत्सवहरूको आयोजना गरिनेछ।विदेशमा जन्मेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन इच्छुक तथा सक्षम व्यक्तिहरूसँग एनसिसीहरुले सहकार्य गरी क्यालेण्डर बनाई निःशुल्क नेपाली कक्षा सञ्चालन गरिनेछ। संसारभरि रहेका अन्य नेपाली भाषा बोल्ने समुदायसँग समेत समन्वय गरी नेपाली भाषा, कला तथा संस्कृतिको प्रबर्द्धन गर्न विशेष पहल गरिनेछ।

१६. एनआरएनए शक्तिः अधिकारसम्पन्न एनसीसी

गैरआवासीय अभियानमा सबैभन्दा महत्वपूर्ण भूमिका सम्बन्धित देशमा गठन गरिष्ठको एनसिसीको हुन्छ। त्यसैले, उनीहरुलाई थप बलियो र अधिकार सम्पन्न बनाउन जोड दिइनेछ। एनसिसी धेरैजसो देशमा सम्बन्धित देशमा नै दर्ता भएका छन्। तर, कतिपय एनसिसीको विधान आईसीसीको विधानमा भएका व्यवस्थासँग बाझिएको पनि भेटिएको छ। त्यसैले ती व्यवस्थामा एकरूपता ल्याउने व्यवस्था मिलाइनेछ। प्रत्येक एनसिसीको कार्य मुल्यांकन गरी मासिक रुपमा अब्बल एनसिसी घोषणा गरी प्रोत्साहित गर्ने व्यवस्था मिलाइनेछ।

१७. विदेशमा सिकेको ज्ञानः देश निर्माण अभियान

विदेशमा आर्जेको ज्ञान, सीप र पुँजीलाई राष्ट्र विकासमा परिचालन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरुमा एनआरएनए समन्वय विभागको छुटै व्यवस्था गर्न गराउन विशेष पहल गरिनेछ। विश्वका विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरूको प्रोफाइल तयार गरेर उहाँहरुको क्षेत्रगत विज्ञताका आधारमा एकीकृतरुपमा नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने व्यवस्था मिलाउन पहल गरिनेछ। प्रवासमा बसोवास गरिरहेका भौतिक पूर्वाधार विज्ञहरुलाई देशको पूर्वाधार विकासका लागि योगदान दिन अभिप्रेरित गरिनेछ। शिक्षा क्षेत्रका विज्ञलाई मातृभूमिमा २१ औं शताब्दीका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा योगदान दिन आव्हान गरिनेछ। माथि उल्लेखित क्षेत्रका अतिरिक्त अन्य पेशागत क्षेत्रमा आबद्ध विज्ञहरूको अलगअलग विभाग गठन गरेर उहाँहरुको ज्ञान र सीपलाई देश विकासमा उपयोग गर्न आहवान गरिनेछ।

१८.देश विकासको बलः एक एनसीसी, हजार पर्यटक

पर्यटन प्रवर्द्धनका लागि आवश्यक्ताका आधारमा उपयुक्त व्यक्तित्वलाई ‘ब्रान्ड एम्बासडर’ को रूपमा नियुक्त गरी विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ। एनसिसीहरुमार्फत सम्बन्धित देशका उच्च ुब्रान्ड भ्यालुु भएका व्यक्तित्वहरुमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न गराउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ। हरेक एनसीसीबाट दुई वर्षको कार्यकाल अवधिमा सम्भाव्यताका आधारमा कम्तीमा एक हजार जना सो देशका नागरिकलाई नेपाल भ्रमण गराउन पहल गरिनेछ।

१९.घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम


विदेशबाट फर्केकालाई उहाँहरूको योग्यता, सीप तथा रुचिका आधारमा सरोकारवाला निकायहरुसँग समन्वय गरी स्वेदशमै स्वरोजगार हुने व्यवस्था मिलाउन पहल गरिनेछ। त्यसका लागि केन्द्रिकृतरुपमा डाटा बैंक स्थापना गरिनेछ। आन्तरिक रोजगारको मागलाई पहिचान गरिनेछ। स्वदेशी श्रमिकलाई तुलनात्मक रुपमा बढी पारिश्रमिक दिने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्यवय गरी छिमेकी देशबाट आउने श्रमिकको संख्या स्वतः घट्ने वातावण सिर्जना गर्न गराउन पहल गरिनेछ।विदेशबाट फर्केर उद्यमी र स्वरोजगार बनेकाहरुको तथ्यांक संकलन गरेर उनीहरुलाई स्वदेशमै आई उद्यमी बन्न अभिप्रेरित गरिनेछ। विदेशबाट फर्केर उद्यम गर्नेलाई सहजरुपमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउन पहल गरिनेछ। कम्तीमा ५० लाख रुपैया सम्मका कर्जा परियोजना धितोका आधारमा मात्र उपलब्ध गराउने योजना ल्याउन सम्बन्धित निकायसँग समन्वय गरिनेछ।

२०. अग्रजलाई सम्मानःयुवा परिचालन र विज्ञबाट ज्ञान
अग्रजको प्रयास र योगदानका कारण आज हामी एनआरएनए अभियानमा लामो फड्को मार्न सफल भएका छौं। त्यसैले उहाँहरूको सल्लाह र सुझावलाई मनन गर्दै र अनुभवलाई उपयोग गर्दै अगाडि बढ्न ुअग्रजको योगदान, हाम्रो सम्मानु कार्यक्रम ल्याइनेछ।

स–शरीर उपस्थित हुने गरी वा सूचना प्रविधिको उपयोग गर्ने गरी एनआरएनए अभियानलाई अझ व्यापक रूपमा फैलाउन युवाहरुलाई विशेष रूपमा परिचालन गरिनेछ।
कर्णप्रिय कार्यक्रमहरुभन्दा पनि विज्ञहरुबाट प्राप्त सल्लाह र सुझावका आधारमा प्रवासी नेपाली र मातृभूमिलाई विशेष फाइदा पुग्ने व्यावहारिक कार्यक्रम सञ्चालन गरिनेछ र सम्बन्धित निकायमा बहस र पैरवी पनि सोही अनुसार गरिनेछ।

२१.नेपाली धन, नेपाली श्रमः अबको उद्यम

ठूला परियोजना सञ्चालन गर्न ठूलो रकमको आवश्यकता पर्छ। तथापि, स्वदेशी धन र श्रम परिचालन गरी उद्यम गर्न सकिएमा उक्त धन नेपालमा नै रहन्छ राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, श्रम मन्त्रालय र अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी स्वदेशमै रोजगारी सिर्जना हुने कार्यक्रम ल्याउन र संख्यात्मकरूपमा धेरै जनाले लगानी गर्ने उपयुक्त लगानीको क्षेत्र पहिल्याउन र कार्यान्वयनको वातावरण बनाउन लगानी बोर्ड तथा अन्य सरोकारवाला निकायहरुसँग समन्वय गरी नेपाली धन, स्वदेशी श्रम, अबको उद्यमु कार्यक्रम लागू गर्न पहल गरिनेछ।

२२. समावेशी अभियानः महिला सदस्यलाई प्रोत्साहन

आधा आकाश ढाक्ने महिलाको विकास नभई, उहाँहरूले नेतृत्व नलिई र उहाँहरु नेतृत्वको अग्रपंक्तिमा नआई कुनै पनि क्षेत्रमा विकासको कल्पना गर्न सकिंदैन। एनआरएनएमा महिला विभाग र महिला सशक्तीकरण तथा नेतृत्व विकास र महिला उद्यमशीलता समिति गठन गरी कार्य अगाडि बढाइएको भएता पनि महिला सहभागिता अझै पनि अपर्याप्त भएको अनुभव गरिएको छ। तसर्थ, महिला सदस्यता वृद्धि, महिला नेतृत्व विकास तथा महिला उद्यमशीलता बढाउन एक छुटै कार्यक्रम बनाई लागू गरिनेछ।

२३. चुस्त व्यवस्थापन मुख्य सरोकारः बनाऔ प्रभावकारी सञ्चार

एनआरएनएले आफ्ना सदस्यहरूको हित र देश विकासका लागि धेरै कार्य गरेको छ। ती कार्यहरुको जानकारी सरोकारवाला पक्षहरुका छिटो, छरितो र प्रभावकारी रुपमा नपुगेको महसूस गरिएको छ। त्यस्तै गरी, आईसीसी, एनसिसी र विभिन्न तथा समितिहरुबीचको सञ्चार पनि चुस्त र प्रष्टरूपमा नभएको अनुभव गरिएको छ। फलस्वरूप, एकापसमा समन्वय प्रभावकारी रुपमा हुन सकेको छैन त्यसैले, प्रभावकारी सञ्चार व्यवस्थापनका लागि प्रणालीगत संरचनाको विकास गरिनेछ।
त्यस्तैगरी, एनआरएनएले नेपाल सरकार र त्यसअन्तर्गतका मन्त्रालय तथा विभाग, विभिन्न दूतावास, नियमनकारी निकायहरू तथा विभिन्न सरोकारवाला निकायमा सम्बन्ध स्थापना गर्ने सम्बन्ध स्थापना भइसकेको हकमा त्यसलाई अझ बलियो, चुस्त र प्रगाढ बनाउनुपर्ने हुन्छ । त्यस्का लागि विशेष अभियान चलाई सम्बन्ध बलियो बनाउने कार्यमा भएको प्रजातिको मूल्यांकन गरिनेछ।

२४.योजनाबद्ध कार्यान्वयनः न्यायपूर्ण कार्यसम्पादन मूल्यांकन
आईसीसीको चुनाव सकिने बित्तिकै हरेक कार्यक्रम लागू गर्न शुरु मिति र कार्यक्रम सम्पन्न हुने अन्तिम मिति सहितको समय तालिका र ‘कार्यसम्पादन सूचक’ उल्लेख गरिएको योजना बनाइनेछ। कार्यक्रम कार्यान्वयन गर्न एकल र संयुक्त रुपमा जिम्मेवार हुने गरी कर्मचारी वा पदाधिकारी वा कार्यसमिति सदस्यलाई जिम्मेवारी तोकिनेछ।

यस्तै उनले समारोहमा संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै शर्माले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउने दृढता व्यक्त गरे।

यसैगरी स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन गर्दै आएको एनआरएनले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ। 

प्रकाशित मिति: : 2023-10-13 19:37:00

प्रतिकृया दिनुहोस्