७० मुलुकका आइटी अफिसरहरु अबुधाबीमा भेला

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) र अरब क्षेत्रीय साइबर सुरक्षा केन्द्र (एआरसीसी)सँगको सहयोगमा संयुक्त अरब इमिरेट्स (युएई)ले आजदेखि आगामी बिहीबारसम्म क्षेत्रीय साइबर सुरक्षा २०२३ आयोजना गर्दैछ।

‘साइबर सुरक्षा नवप्रवर्तन र उद्योग विकास’ शीर्षकमा अबुधाबीमा समारोह सुरु भएको हो। युएईद्वारा प्रायोजित क्षेत्रीय साइबर सुरक्षा २०२३ अरब र इस्लामिक मुलुकहरूमा सबैभन्दा ठूलो साइबर कार्यक्रम हो।

साइबर सुरक्षाको क्षेत्रमा उत्कृष्ट अन्तर्राष्ट्रिय रणनीति र अभ्यासहरूमाथि छलफल गर्न इस्लामिक सहयोग सङ्गठन (ओआईसी) का ५७ सदस्य राष्ट्रसहित ७० मुलुकबाट एक सयभन्दा बढी विज्ञ र वक्ताहरूका साथै १० वटा अन्तर्राष्ट्रिय संस्थाहरू यो साता भेला हुनेछन्।

यो साता सहभागीहरूलाई यथार्थपरक ढङ्गले साइबर हमलाको अनुभव प्रदान गर्ने नयाँ भर्चुअल पूर्वाधार मोडेलसमेत प्रस्तुत गरिने छ।

यो साता साइबर सुरक्षामा पछिल्लो प्रवृत्ति र विकासक्रम, साइबर सुरक्षाले सामन गरिरहेको चुनौती र जोखिम, साइबर सुरक्षा घटनाको प्रतिक्रिया र पुनरप्राप्ति तथा साइबर सुरक्षा शिक्षा र जागरणसहितका साइबर सुरक्षाकाको विस्तृत दायरा समेट्ने ५० वटा कार्यक्रम हुने बताइएको छ।

युएई सरकारको साइबर सुरक्षासम्बन्धी कार्यालयले विश्वव्यापी डिजिटल अर्थतन्त्रको आकार बढिरहेको बताएको छ। यो सन् २०२५ सम्ममा २० खर्ब अमेरिकी डलरको हाराहारीमा पुग्ने सो कार्यालयले उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2023-10-08 18:57:00

प्रतिकृया दिनुहोस्