श्रीमतीसहित ग्वाटेमालाका प्रभावशाली नेताको हत्या

बिएल संवाददाता

ग्वाटेमाला सिटी

ग्वाटेमालाका एक प्रभावशाली नेताको दिनदहाडै श्रीमतीसहित हत्या भएको छ। राष्ट्रपति निर्वाचित पार्टी सिडका राजनीतिज्ञ अनिबल रामिरेजलाई बिहीबार मेक्सिकोको सीमानजिकै गोली हानेर हत्या गरिएको उनको पार्टी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रपति निर्वाचित बर्नार्डो अरेभालोको सेमिल्ला (सिड) पार्टीका लागि पश्चिमी सहर सान पेड्रो नेक्टाका पूर्वउम्मेदवार रामिरेज र उनकी पत्नी मर्सी मोरालेसलाई कामको सिलसिलामा पिकअप भ्यानमा गइरहेका समयमा गोली हानेर मारिएको सिडले जनाएको छ।

नेता रामिरेज आफ्नो समुदायलाई रुपान्तरण गर्न प्रतिबद्ध रहेका तथा सधैँ भ्रष्टाचारको निन्दामा उत्रिएकाले उनीसहित उनकी श्रीमती मर्सीको हत्या भएको सिडले बताएको छ। उक्त पार्टीले हत्याका दोषीलाई कारबाही गर्न माग गरेको छ।

सिडका नेता अरेभालोले गत महिना अप्रत्याशित रूपमा राष्ट्रपति पदको चुनाव जितेपछि ग्वाटेमालाका अधिकारीहरूले बारम्बार उनी र उनको पार्टीविरुद्ध कारबाही गर्न कानुनी माध्यम प्रयोग गर्दै आएका छन् भने विपक्षी तथा माफियाले हिंसाको बाटोसमेत अँगालेका छन्।

प्रकाशित मिति: : 2023-09-16 06:10:00

प्रतिकृया दिनुहोस्