गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा साथै आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन्।

आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि शुक्रबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा  श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्। सो अवसरमा उनले आगामी दुई बर्षको लागि  पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरे।
समारोहमा संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउने दृढता व्यक्त गरे।

‘सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए” बनाउने मेरो प्रमुख उद्देश्य र सर्वोच्च प्राथमिकता हुनेछ,’ उनले अगाडि भने,‘एनआरएनएमा विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नुहुने सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई म पद र प्रतिष्ठाका लागि भन्दा पनि संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुंदै आएको छु। विजयी भएर शपथ लिएका दिनदेखि वार्षिक क्यालेन्डर र कार्ययोजना  बनाएर सबैको विश्वास जित्नेगरी काम गर्ने संकल्प व्यक्त गर्दछु।’

यस्तै अध्यक्षमा उम्मेदवारी घोषणासगै प्रतिबद्धताहरु सार्वजनिक गर्दै श्रेष्ठले दुई बर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने मात्र होइन, गैरआवासीय नेपालीहरुको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको रु १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने पहिलो प्राथमिकतामा राखेको बताए।

‘जन्मभूमिको विकासका लागि योगदान गर्न चाहने सबै गैरआवासीय नेपालीहरु समेट्ने उद्देश्यले सो कोषमा न्यूनतम २५० डलर लगानीको अवसर प्रदान गर्ने मेरो लक्ष्य छ। गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई पनि लगानी कोषमा समेट्नका लागि आवश्यक कानुनहरुलाई समयानुकूल परिमार्जित तथा संशोधन गर्दै गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन दिनरात प्रयास गर्नेछु,’ उनले प्रतिबद्धता जनाए।


 

प्रकाशित मिति: : 2023-09-15 19:34:00

प्रतिकृया दिनुहोस्