जब कसैले बाँच्नका लागि सबै बाटाहरू बन्द भएको देख्न थाल्छ, त्यो एउटा मानसिक समस्या हो। जहाँ अन्तिम रोजाइ हुन्छ ‘आत्महत्या’।
तथ्याङ्कहरूले देशभरिमात्रै होइन, संसारभरि नै आत्महत्याको ग्राफ उकालो लागिरहेको छ।
आफ्नै कार्मक्षेत्र रुकुम पश्चिममा मात्रै पछिल्लो ३ वर्षमा ९४ जनाले आत्महत्या गरेका छन्। २०७७/०७८ मा ३७ जनाले आत्महत्या गरेका थिए। २०७८/०७९ मा २७ जनाले आत्महत्या गरेका थिए भने २०७९/०८० मा ३० जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।
आत्महत्याको कारणहरूमा विभिन्न प्रकारका हिंसा, आर्थिक समस्या अर्थात व्यवहार बिग्रनु, सम्बन्धहरूमा समस्या आउनु, महामारी, जटिल प्रकारका शारीरिक रोगहरू देखिएका छन्।
हरेक व्यक्तिहरूको समस्यासँग जुध्ने क्षमता फरकफरक हुन्छ। कसैले त्यही समस्यालाई सजिलै सामना गर्नसक्छन् भने कसैलाई त्यही समस्याले आत्महत्याको स्थितिसम्म पनि पुर्याउन सक्छ।
दश वर्षसम्म देशमा चलेको सशस्त्र युद्धको असर पनि आत्महत्या बढ्नुको एउटा कारण भएको विज्ञहरू बताउँछन्।
घरभित्र हुने चरम गरिबीसँगै हुने हिंसा, बहु-विवाह, दाइजोका कारण, बोक्सीको आरोप लगाइएका घटना, कानुनी तथा सामाजिक न्याय नपाएको अवस्था, छोरा नपाएको निहुँमा हुने हिंसाले आत्महत्या बढाएको हो।
हालको आर्थिक संकट, कोभिड-१९ जस्ता महामारीले आर्थिक अवस्था अस्तव्यस्त र बेरोजगारी पनि बढाएको छ।
जटिल शारीरिक रोगहरू, महिलाको उमेर ढल्किँदै जाँदा मेनोपोजको अवस्थामा श्रीमानले भनेको समय र उसको आवश्यकताअनुसार यौन सम्बन्धको लागि तयार नहुँदा भोगेको यातनाले समेत कतिपय महिलाले आत्महत्याको बाटो रोजेको देखिन्छ।
पुरुषहरूमा पनि विभिन्न खालका समस्या हुँदा उनीहरूमा मानसिक पीडा भएर त्यसलाई सामना गर्न नसकेपछि आत्महत्या रोजेको पाइन्छ।
प्रत्येक नागरिकले शारीरिक, मानसिक, सामाजिक र भावानात्मकरुपले स्वस्थ रही उत्पादनशील र गुणस्तरीय जीवनयापन गर्न पाउने व्यवस्था मौलिक हकको रुपमा संविधानले मान्यता प्रदान गरिसकेको छ।
स्वास्थ्य भन्नाले कुनै पनि रोगविहीन वा अशक्त हुनुमात्र नभई शारीरिक, मानसिक र सामाजिकरुपले स्वस्थ्य भएको अवस्था हो। जसले मानसिकरुपमा स्वस्थ हुनु कति महत्वपूर्ण छ भन्ने पनि दर्साउँछ।
हाल दीगो विकास लक्ष्य प्राप्त गर्नका लागि मानसिक स्वास्थ्यको पनि महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा मानसिक स्वास्थ्य दीगो विकास लक्ष्यमा समावेश भएसँगै नै प्रस्ट हुन्छ।
यतिबेला तत्कालीन युद्धमा आफन्त गुमाएका, बेपत्ता पारिएका परिवार, यौनहिंसा पीडित, यातना पीडितहरू आज पनि मनमा अनेक प्रकारका पीडा बोकेर बाँचिरहेका छन्।
उनीहरूमा सामान्य मनोविमर्शले पनि परिवर्तन आएको तथ्यहरू छन्।
देशमा रहेको तीन तहको सरकारले आज पनि मानसिक स्वास्थ्यलाई गतिलो गरी सम्बोधन गर्न सकेको छैन। चरम गरिबी, बेरोजगारीसँगै व्यक्तिका अपेक्षा बढ्दै जाँदा आत्महत्या घट्नुको साट्टा झन् बढिरहेका छन्।
केही उदाहरण:
रुकुम जिल्लाको दुर्गम बाँफीकोट गाउँपालिकाकी निर्मला (नाम परिवर्तन) १८ वर्षको उमेरमा परिवारको स्वीकृतिबिना प्रेम विवाह गरिन्। प्रेमीसँग बिहे गरेर घर गएकी उनले केही समय रमाइलोमा बिताइन्।
बिहे गरेको १ वर्ष नपुग्दै बच्चा जन्माएकी उनले लगातार २/२ वर्षको फरकमा ३ वटा बच्चा जन्माइन्।
श्रीमानको मजदूरी र उनले घरधन्दा गरेर दैनिकी नियमित बनिरहेको थियो। तर विस्तारै निर्मलाले श्रीमानको स्वभाव फेरिँदै गएको अनुभूत गर्छिन्। केही दिनसम्म घरमा नआउने आएपनि कुटपिट गर्ने, छोरीहरूकै अगाडि अश्लील गाली गर्ने र मानसिक यातना सुरु हुन्छ।
अर्की महिलासँग श्रीमानको सामीप्य रहेको उनको कानसम्मै पुग्छ। ‘म अर्की बिहे गर्छु, तँ घरबाट निस्की’ सम्म भन्न थालेपछि निर्मला विक्षिप्त हुन्छिन्।
जीवन जिउने गोरेटो बन्द देखेपछि निर्मलाले आत्महत्याको योजना बनाउँछिन्।
हरेक रात डोरी सिरानमा राखेर सुत्ने उनी मृत्युको योजना बनाउन लागिन्। कति रात ननिदाएरै बिताएकी निर्मलाले विकल्प मृत्युमात्रै देख्थिन्।
एकदिनको साँझपख उनी डोरी लिएर रुखको हाँगामा चढ्छिन्। त्यहीबेला परको घरमा कान्छी छोरी रोएको आवाज सुनिन्छ। सानी छोरीको माया पलाएर आउँछ। डोरी फुकालेर घर फर्किन्छिन्।
मृत्यु कुर्दै दिनरात काटिरहेकी निर्मलाले साथीको सहयोगमा मनोविमर्शकर्ता भेट्छिन्। पटकपटक ७ पटकसम्म मनोविमर्श सेवा पाएपछि निर्मलालाई बाँच्ने रहर फेरि जाग्छ।
बाँच्ने जिजिविशा पलाएसँगै फेरि उनले खुसी जीवन बिताइरहेकी छिन्।
०००
मुसीकोट–८ की हरिसरा (नाम परिवर्तन) अहिले ४२ वर्षको भइन्। १४ वर्षको उमेरमा परिवारको दबाबमा बिहेपछि नारकीय जीवनको यात्रा सुरु हुन्छ। दुर्गम ठाउँ। उकाली ओराली। साँझ बिहान हातपाखुरा नचलाएसम्म खान पुग्दैनथ्यो।
विवाह गरेको १२ वर्षभित्र ३ सन्तान पनि भए। राम्रैसँग बितेका दिन एक्कासी बदलिन थाले।
हरिसराकी आफ्नै बहिनीसँग उनका श्रीमान लहसिन थाले। प्रेम बढ्न थाल्यो। घरमा बसिनसक्नुको तनाव सुरु भयो। हरेक दिनको यातना, कुटपिट सुरु भयो।
‘तेरै बहिनी ल्याउँछु’ भन्दै धम्काउन थाले। दिक्क भएर आत्महत्या रोज्न लागेकी उनलाई छिमेकी मनोविमर्शकर्ताले बचाइन्।
प्रतिनिधि यी घटना हेर्दा समयमै मानसिक समस्याको पहिचान गर्दै कम्तीमा पनि मनोविमर्श सेवा दिनसकेमा आत्महत्या कम गर्न केही हदसम्म सहयोग पुग्ने देखिन्छ।
आत्महत्याको न्यूनीकरण गर्न स्थानीयस्तरमा यी कार्य गर्न जरुरी छ–
समुदायस्तरमा मानसिक स्वास्थ्यमा सचेतना कार्यक्रमहरू गर्ने, जसले मानसिक रोगप्रतिको गलत धारणामा परिवर्तन ल्याउँछ।
मानसिक स्वास्थ्य समस्याको रोगभारको अनुपातमा सञ्चालित कार्यक्रमहरू र विनियोजन हुने बजेट न्यून भएकाले यस क्षेत्रमा पर्याप्त कार्यक्रम योजना र बजेट विनियोजन गर्ने।
मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति र परिवारको सदस्यप्रति व्याप्त रहेको लाञ्छना, अपहेलना, विभेद र मानव अधिकारको हनन रोक्न र कम गर्न नीतिहरू बनाउने।
मानसिक स्वास्थ्यमा काम गर्ने दक्ष जनशक्तिको उत्पादन र मनोविमर्शकर्तालाई पनि समावेश गर्ने।
एक वडा एक मनोविमर्श केन्द्रको स्थापना।
जिल्लास्तरमा मनोचिकित्सकको व्यवस्था।
पालिकास्तरमा मानसिक स्वास्थ्यको उपचार निःशुल्क।
वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू तथा लैंगिक हिंसाबाट प्रभावित व्यक्तिमा व्यापक रूपमा रहेको मानसिक स्वास्थ्य समस्या र आत्महत्याको अवस्थालाई तुरुन्त सम्बोधन गर्ने।
सहरमा समेत अभाव हुने मनोचिकित्सक जिल्ला जिल्लामा प्रयाप्त नहुनु र आमनागरिकले आफूलाई मानसिक समस्या भएको स्वीकार नगर्नु पनि अर्को मुख्य समस्या हो। हामीकहाँ कडा प्रकारका मानसिक रोगलाई मात्र समस्याका रुपमा हेर्ने चलन छ। व्यक्तिका लागि मानसिक स्वास्थ्य निकै महत्वपूर्ण हुन्छ भन्ने आमबुझाई नहुँदा पनि आत्महत्या घट्न सकेको छैन।
जनस्वास्थ्य सेवा ऐन २०७५ मा मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा समावेश गरिएको छ। यसैगरी जनस्वास्थ्य नियमावली २०७७ मा पनि मानसिक स्वास्थ्य समस्याहरूलाई क्रमशः आधारभूत र आकस्मिक स्वास्थ्य सेवामा समावेश गर्दै संघ, प्रदेश र स्थानीय स्तरबाट उपलब्ध गराउने व्यवस्था गरेको छ।
स्वास्थ्य मन्त्रालयले २०७१ मा नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजनामा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्षेत्रहरू तोकिनुको साथै कार्यान्वयनको तहमा ल्याएको छ।
यसको अतिरिक्त नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७२/२०७७ ले पनि मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अंगको रूपमा समावेश गर्दै आधारभूत स्वास्थ्य सेवा सूचीमा इपिलिप्सि, स्किजोप्रेनिया, बाइपोलार डिसअर्डर र एन्जाइटी डिसअर्डरलाई समावेश गर्दै त्यसको निःशुल्क उपचार तथा मनोविमर्श सेवा प्रदान गर्ने व्यवस्थासमेत गरिएको छ।
राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ ले मानसिक स्वास्थ्यलाई सबैको सहज, सुलभ र समान पहुँचका लागि पाँच वर्षको कार्ययोजना बनाएको छ। जसमा आत्महत्या रोकथाम लागि पनि कार्ययोजना समावेश गरिएको छ।
नेपालमा कूल नसर्ने रोगहरूको समस्यामध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ। अपांगता गराउने प्रमुख १० कारकमध्ये ४ वटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन्।
विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा बर्सेनि ७ लाख व्यक्तिहरूले आत्महत्याको कारणबाट ज्यान गुमाइरहेका छन्। हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गरिरहेका छन्।
नेपालमा पनि मानसिक स्वास्थ्यसम्बन्धी अवस्था नाजुक छ।
नेपाल प्रहरीको रिपोर्टअनुसार, नेपालमा विगतका केही वर्षहरूमा महिलाहरूको आत्महत्या गर्ने संख्या निकै बढेको छ।
आर्थिक वर्ष २०७८/७९ मा ६८३०, २०७७/७८ मा ७१४९, २०७५/७६ मा ६,२७९ जना मानिसले आत्महत्या गरेका छन्।
नेपालमा प्रत्येक दिन सरदर २० जनाले विभिन्न कारण आत्महत्या गरिरहेका छन्। नेपालमा १४–१९ उमेर समूहका २२ प्रतिशत महिलाहरूमा नैराश्यताका लक्षणहरू र ५ प्रतिशत महिलाहरूमा मानसिक चिन्ताका लक्षण देखिएको थियो। लक्षण देखिएकामध्ये १९ प्रतिशत महिलाहरूले मात्र २ हप्ता भित्रमा मानसिक चिन्ता र नैराश्यतासम्बन्धी जाँच गराउने र सुविधा लिन सकेका छन्।
समस्या भएर पनि प्रभावितहरू खुलेर बोल्न र सेवा लिन सकेको अवस्था छैन।
ग्रामीण क्षेत्रका बासिन्दाहरूमा आत्महत्या दर उच्च देखिएको छ र खासगरी भेदभावपूर्ण व्यवहारबाट उत्पीडनमा परेका व्यक्तिहरू र समूहहरू बढी जोखिममा रहेको देखिन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विभिन्न सामाजिक मारमा परेका, प्राकृतिक विपद, हिंसा, दुर्व्यवहारका पीडित, आफ्ना गुमाएका र आफूलाई एक्लो ठान्ने मानिसहरू बढी जोखिममा छन्।
आत्महत्या र मानसिक स्वास्थ्यमा विचलनका बीच (विशेषगरी, डिप्रेसन र मदिराको अम्मल) को सम्बन्ध सामान्यतया स्पष्ट नै रहेको छ। तर धेरैजसो आत्महत्याको घटना संकटका बेला आवेशमा आएर हुने गर्छन्।
जिन्दगीका विभिन्न तनावपूर्ण अवस्थाहरूमा आर्थिक समस्या, निजी सम्बन्धहरूमा अवरोध, हिंसा साथै दीर्घ पीडा वा रोगका बेला आफूलाई सम्हाल्न सक्दैनन् र आत्महत्याको बाटो रोज्न पुग्छन्।
बनेका कानुन र नीतिअनुरूप काम नहुँदा धेरै मानिस आत्महत्या गर्न बाध्य भएका छन्।
आत्महत्या भनेको आफैँले आफैँलाई मार्नु हो। यस्तो सोचाइ आउनु भनेको मर्नै खोजेको होइन, बाँच्न गाह्रो भएको हो। कसैलाई पनि मर्न मन हुँदैन तर उसको मनको अवस्थाले गाह्रो भएको हुन्छ।
कहिलेकाहीँ लामो समयसम्म समस्या भएर योजनाबद्ध तरिकाले आत्महत्या गर्छन् भने कहिलेकाहीँ तत्कालीन अवस्थाको कारण पनि आत्महत्या हुन्छ। त्यसैले बाँच्नका लागि जीवनका सबै ढोकाहरू खोलौँ।
(लेखक मनोविमर्शकर्ता तथा ओरेक रुकुमका जिल्ला संयोजक हुन्।)