रुसी राष्ट्रपति जी ट्वेन्टी शिखर सम्मेलनमा सहभागी नहुने

बिएल संवाददाता

नयाँदिल्ली

विश्वका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी ट्वेन्टीको आगामी महिना भारतको नयाँदिल्लीमा हुने शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन्। 

आगामी सेप्टेम्बर ९ र १० मा हुने उक्त शिखर सम्मेलनमा सहभागी नहुने जानकारी राष्ट्रपति पुटिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएका हुन्। उनले प्रधानमन्त्री मोदीलाई फोन गरेर विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो तर्फबाट शिखर सम्मेलनमा सहभागी हुने जानकारी दिएको भारतीय  प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

यसअघि रुसी सरकारका प्रवक्ताले व्यस्त कार्यतालिका भएकाले राष्ट्रपति पुटिन जी २० शिखर सम्मेलनमा सहभागी नहुने बताएका थिए।

अन्तरराष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका असर घटाउने र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्ने जी २० मा अमेरिकी राष्ट्रपति जो बाइडेन, संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकलगायत विश्वका नेताहरु सहभागी हुने कार्यक्रम रहेको बताइएको छ। 

प्रकाशित मिति: : 2023-08-30 05:57:00

प्रतिकृया दिनुहोस्