युवा पुस्तामा जुम्बा आकर्षक

तेजन खड्का

उर्लाबारी

मनोरञ्जनका लागि मात्र नभएर स्वस्थ हुन र तौल घटाउन पनि नृत्य लोकप्रिय हुँदै गएको छ। यही नृत्यभित्र लोकप्रिय बन्दै छ ‘जुम्बा’।

अहिलेका युवापुस्तादेखि वृद्धवृद्धा जुम्बा नृत्यप्रति आकर्षित हुँदै गएका छन्। जुम्बा फिटनेसका लागि डान्स मुभमेन्टमार्फत् गरिने थेरापी हो। मोटोपन घटाउन होस् वा स्वस्थ रहन जुम्बाको आकर्षण बढ्दो छ।

जुम्बा मोटोपन घटाउन मात्र नभएर थाइराइड, युरिक एसिड आदि रोग नियन्त्रणका लागि पनि उपयोगी मानिन्छ। रमाइलो तरिकाले सङ्गीतको धुनमा कसरत गरिने भएकाले यसको आकर्षण बढ्दै गएको  क्रियटर आर्ट्स फाउन्डेसनद्वारा सन्चालित जुम्बा नृत्यकी प्रशिक्षक सरस्वती कार्की श्रेष्ठ बताउछिन्। उनले उर्लाबारीमा जुम्बा सिकाउन क्लास  सन्चालनमा ल्याएकी छन्।

जुम्बाले शारीरिक एवम् मानसिक रूपमा शरीरलाई स्वस्थ राख्न सघाउ पु-याउँछ। जुम्बाप्रति पुरुषको तुलनामा महिलाको आकर्षण बढी छ।

जुम्बा तौल घटाउने सबैभन्दा सजिलो उपाय  भएको उनी बताउँछिन्। उनी भन्छिन्, “सानै उमेरदेखि नाच्न रुचि थियो पढाइले गर्दा समय नै दिन पाइरहेको थिइनँ। तौल बढी भएपछि विभिन्न उपाय अपनाएँ तर भएन र साथीहरूले जुम्बा नृत्य गर भनेपछि सुरु गरेँ। नाच्दा–नाच्दै तौल घटेको थाहै भएन, रमाइलो पनि भयो तौल पनि घट्यो,” श्रेष्ठले भनिन्, “नृत्यले पूरै शरीरलाई व्यायाम पुग्ने भएकाले स्वास्थ्य, आत्मविश्वास बढेको छ अहिले प्रशिक्षण समेत दिन्छु।” व्यायाम, अन्य थेरापीभन्दा जुम्बाको नृत्य अभ्यास उत्कृष्ट रहेको उनले बताइन्।

उर्लाबारीकी अन्जु स्याङ्बो एक वर्षअघिदेखि जुम्बा नृत्यमा रमाइरहेकी छन्। पहिलो उद्देश्य तौल घटाउनु र अर्को उद्देश्य स्वस्थ रहन व्यायाम गर्नु हो, उनले भनिन्। जुम्बा सुरु गरेर धेरै तौल घटिसकेको उनले बताइन्।

नाच्दा रमाइलो हुने र सिकिने भएकाले नाचेर तौल घटाउने, शरीर बनाउने व्यायाममा  आकर्षण रहेको जुम्बा प्रशिक्षक सरस्वति कार्की श्रेष्ठ बताउँछिन्। “मोेटोपन भएका स्कुले बालबालिकादेखि  सबै उमेर समूह यहाँ आउँछन्,” उनले भनिन्। रमाइलो गर्दै तौल घटाउन सकिने भएकैले जुम्बा बजारमा फेसन बनिसकेको उनको अनुभव छ। तर, जुम्बा नृत्यसहित खानपिनमा क्यालोरी मिलाए मात्र तौल घट्ने उनी बताउँछिन्।

जुम्बामा बेसिक, गोल्ड, आक्वा, गोल्ड टोयनिङ, इन द सर्किट, टोयनिङ, अटोमिक, जुम्बा सेन्टो, जुम्बा किड्स आदि स्टेप हुन्छन्। जुम्बा क्लास व्यक्तिअनुसार फरक–फरक हुन सक्छ। सिकारु र वृद्धहरूका लागि जुम्बा बोल्ड, स्विमिङ पुलमा गरिने अक्वा जुम्बा, बालबालिकाका लागि जुम्बा किड्स, जुम्बा बेसिक स्टेप, कुर्सीको सहारामा गरिने जुम्बा सेन्टर सञ्चालनमा छन्।

जुम्बामा चार वटा रिदम हुन्छन् साल्सा, मेरिङ्गे, बेग्रेटोन तथा कुम्बिया। जुम्बाको कोरियोग्राफर अल्बेर्टो बेटो पेरेजले सुरुवात गरेका हुन्। हाल विश्वका १८५ देशमा यसको अभ्यास गरिन्छ।

जुम्बाका फाइदा

जुम्बा गर्दा शरीरका मांशपेशी मजबुत हुनुका साथै शारीरिक फिटनेस हुन्छ। शारीरिक फिटनेसका लागि पनि जुम्बा आवश्यक छ। जुम्बा गर्नाले शरीरका मांशपेशी मजबुत हुन्छन्। शरीरमा भएको मोटोपना घट्छ। पूरै शरीरको व्यायाम हुनाले हड्डीसमेत मजबुत हुन्छ। जुम्बा गर्दा मज्जाले नाचिन्छ। पूरै शरीर चल्छ। जसको कारणले शरीर लचकदार मात्रै हुँदैन शरीरमा रक्तसञ्चार पनि राम्रो हुन्छ। शरीरमा रक्तसञ्चार राम्रो भएपछि आवश्यक खाद्यतत्व शरीरमा राम्रोसँग पुग्न सहयोग हुन्छ।

शरीरिक सुन्दरता राम्रो हुने भएकाले पछिल्लो समय जुम्बा डान्स गर्नेको संख्या बढिरहेको छ। नियमित जुम्बा डान्स गर्ने व्यक्तिको अनुहारमा पनि चमक आउँछ। पसिनाको माध्यमबाट शरीरमा भएका विकारवस्तु बाहिर जाने भएकाले अनुहार तथा छालामा चमक आउँछ। छाला चम्बिलो हुन्छ। जसले सुन्दरतामा सहयोग हुन्छ।

जुम्बा डान्स गीत-संगीतको धुनमा नाच्ने भएकाले आनन्द पनि हुन्छ। रमाइलो हुन्छ। रमाइलोले मनै आनन्दित हुन्छ। मनै आनन्द भएपछि तनाव कम हुन्छ। तनाव कम भएपछि व्यक्ति मानसिक रुपमा पनि फ्रेस हुन्छ।

दैनिक एक घण्टा जुम्बा डान्स गर्ने मानिसको ६ सयदेखि एक हजारको हाराहारीमा क्यालोरी घट्ने विश्वास गरिन्छ। त्यसैले स्वास्थ्यका हिसाबले दैनिक एक घण्टा नाच्नु उपयोगी हुन्छ। जुम्बा डान्स गर्दा मोटोपना त घट्ने नै भयो। शरीर पनि फिट रहन्छ।

जुम्बा गर्नाले डान्स गर्ने सीपको विकास हुन्छ। विवाह, भोज तथा पाटीमा जाँदा पनि व्यक्ति फिट र सुन्दर देखिन्छ। हिनताबोध हुँदैन। आत्मविश्वास बढ्छ। शरीर टिप टप हुन सहयोग हुन्छ। जसले व्यक्तिको व्यक्तित्व नै वृद्धि हुन्छ।

उमेरले छेक्दैन

दुब्लो पातलो सबै व्यक्तिले जुम्बा डान्स गर्न मिल्छ। दुब्लो व्यक्तिले पनि जुम्बा गरेर स्वस्थ रहन सकिन्छ। यो डान्स गर्न कुनै उमेर समूहले छेक्दैन। बालबालिकादेखि बुढा पाकासम्मले पनि यो किसिमको डान्स  गर्न सकिन्छ। सामान्यतः जुम्बा डान्स गर्न १७ देखि ५० वर्ष उमेर समूहका व्यक्ति नै बढी आकर्षित भएको देखिन्छ।

प्रकाशित मिति: : 2023-08-10 13:20:00

प्रतिकृया दिनुहोस्