सिरियामा टेलिभिजन पत्रकार मारिए

[File: Omar Sanadiki/Reuters]

सिरियाको दक्षिणी प्रान्त दारामा बुधबार सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक सिरियाली टेलिभिजन पत्रकारसहित दुई जना सैनिक जवानको मृत्यु भएको छ।

निजी स्वामित्वमा रहेको सामा टिभीका संवाददाता फिरास अल–अहमद र सशस्त्र सेनाका दुई सदस्य दारा प्रान्तमा लागुऔषध विरुद्धको अभियानबाट फर्कने क्रममा बाटोमा छाडिएको बम विस्फोटमा मारिएका राज्य सञ्चालित टेलिभिजनले जनाएको छ।

आतङ्कवादीहरूले सडकमा बम राखेका सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै उक्त टेलिभिजनले जनाएको छ।

दारा राष्ट्रपति बसर अल–असदको शासनविरुद्धको विद्रोहमा खरो उत्रिएको स्थान हो। त्यहाँ रूसको समर्थनमा युद्धविराम सम्झौता भएपछि उक्त प्रान्त दमास्कसको नियन्त्रणमा आएको हो। यो प्रान्त वर्षौंदेखि हिंसाको चपेटामा परेको छ।

प्रेस स्वतन्त्रता समूह रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार सन् २०११ मा गृहयुद्ध सुरु भएयता सिरियामा कम्तीमा दुई सय ७९ पत्रकार मारिएका छन्। सिरिया द्वन्द्वले पाँच लाखभन्दा बढीको ज्यान लिइसकेको छ।

प्रकाशित मिति: : 2023-08-10 05:29:00

प्रतिकृया दिनुहोस्