बन्दुक बोकेका जनसेनाको ‘लालघेरा’भित्र चियाएर हेर्दा कुनैबेला ‘जनसरकार’का प्रमुख सन्तोष बुढा मगरले पारि क्षितिजमा ‘साम्यवाद’को अलिकति उज्यालो देख्थे। अनि मुठ्ठी कस्थे– हो, त्यो पक्कै आउने छ।
तर सत्य, कम्युनिस्टको त्यो ‘प्रचण्ड अभीष्ट’मात्रै थियो। साम्यवादको त्यो क्षितिजमा सन्तोषजस्ता ‘योद्धा’हरू पुग्नसक्थे न, प्रचण्ड सपनाका खातिर आहुति दिन होमिएका हजार नयाँ सपनाहरू।
बरू त्यो क्षितिजको यात्रालाई प्रचण्डले दश वर्षमै बिसाइदिए। त्यसलाई उनले ‘क्रान्ति’कै अर्को रूप त भने तर, सन्तोषहरूको मन सन्तोषै भएन। अनि विप्लवहरूलाई अघि लाएर उनीहरू प्रचण्डको त्यो नयाँ बाटोबाट अलग भए।
संसदीय व्यवस्था अन्त्यका लागि ‘क्रान्ति’ भन्दै उनीहरूले जुन बाटो रोजे, नेपाली माटोकाे त्यो बाटो दश वर्षमै कतै नपुगिने भइसकेको थियो। फेरि पनि विप्लवहरूले त्यसलाई पछ्याउन खोजे।
फेरि उही ‘भूमिगत’ जीवनको आदतलाई ब्युँझाएर विप्लव अनि सन्तोषहरू त्यही बाटोमा छुटेका पाइलाहरू पछ्याउन लागे।
प्रचण्ड–बावुरामहरूले रोजेको बाटोलाई ‘आत्मसमर्पणवाद’को पगरी भिराएर उनीहरू फेरि मूलधारबाट हराए। केही वर्ष ‘भूमिगत’ जीवनमा हराएका उनीहरूलाई पछि शर्मा ओलीले खोजी ल्याए।
२०७७ साल फागुन २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवलाई बालुवाटार भित्र्याए। अनि एउटा सादा पन्नामा ‘सहमति’का ३ बुँदा लेखेर मुनितिर विप्लवलाई सहीछाप गराए।
त्यसमा लेखिएका थिए–
– नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता र संवादबाट समाधान गर्न सहमत भएका छौं।
– नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ।
– नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाइ गर्न र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ।
त्योबेला एउटा संयोग पनि पर्यो, कुनैबेला एउटै मोर्चामा बन्दुक समाएर हिँडेका विप्लव अनि बादलको त्यो अनौठो संयोग थियो। रामबहादुर थापा ‘बादल’ कुनैबेला प्रचण्ड–बाबुरामले समाएको बाटो छोडेर उनै विप्लवसँगै गएका थिए। फेरि फर्की आए। अनि गृहमन्त्री भए।
उनी नै गृहमन्त्री भएका बेला ‘हिंसात्मक गतिविधि’को आरोपमा सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगायो। अनि उनै गृहमन्त्री बादलकै संयोजकत्वमा फेरि विप्लवसँग वार्ता भयो र विप्लव फेरि सब छोडेर, राजनीतिको अर्को बाटोमा आए।
‘राजनीति त्यसमा पनि अझ कम्युनिस्टको राजनीति, यो यात्रा यस्तै रहेछ। यही जीवनकालमा ६ पटक भूमिगत जीवन बिताउनुपर्यो’, बुढा भन्छन् ‘त्यसमाथि पनि एउटा कम्युनिस्ट सरकारले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनुपर्ने स्थिति आयो। क्रान्तिकारीको जीवनमा भूमिगत वा खुल्ला राजनीति भनेको घाम–जुनजस्तै रहेछन्।’
विप्लव फेरि शान्तिपूर्ण राजनीतिक गतिविधिको मूलबाटोमा फर्किँदा कुनैबेला उनका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक जीवनमा अनेक आरोह–अवरोह आइसकेका थिए। सँगै गठबन्धन गर्दै चुनाव लडेर माओवादीलाई एमालेमा समाहित गरेका प्रचण्ड र केपी ओलीबीचको आन्तरिक झगडा संसद विघटनसम्मै पुगिसकेको थियो। र, विप्लव फर्किँदा त्यो झगडाले ओली–प्रचण्डलाई फेरि अलगअलग बनाइसकेको थियो।
मिल्दै, छुट्टिँदै हिँड्ने बानी परेका प्रचण्डका लागि त यो ‘निरन्तरतामा क्रमभंग’ हो, अथवा त्यो ‘क्रान्तिको अर्को रूप’ हो।
र, अब ‘वैज्ञानिक समाजवाद’को एउटा नयाँ कम्युनिस्ट भाष्य बनाएर हिँडेका विप्लवहरू फेरि उही ढोका ढक्ढक्याउँदैछन्, जसलाई उनीहरूले फेरि ‘कम्युनिस्ट’ एकताको जलप लगाइदिए।
फेरि माओवादीमा विप्लव ‘इन्ट्री’
थरिथरिका राजनीतिक दलहरूसँग मिलेर सरकार चलाइरहेका प्रचण्डले यसपालि फेरि एउटा अर्को गठजोड बनाए ‘समाजवादी मोर्चा।’ जहाँ उपेन्द्र यावद अनि माधव नेपालहरू पनि छन्। विप्लव अनि प्रचण्ड त त्यसका रणनीतिकार नै भए।
बिएल नेपाली सेवासँगको एउटा अन्तर्वार्तामा विप्लव समूह(नेकपा)का जनपरिषद प्रमुख रहेका सन्तोष बुढाले त्यो मोर्चालाई ‘कम्युनिस्ट मिलाउने प्रेस्क्रिप्सन’ भनेका छन्।
‘सकेसम्म सबै कम्युनिस्ट एकैठाउँमा हुने। सबलाई एकता गर्ने भन्ने हो। हामीबीच धेरै मतभेदहरू छन्। तर पनि मिल्नैपर्नेछ। त्यसका लागि ती मतभेदहरूलाई माझ्न त पर्यो। मिल्नुभन्दा अघि ती मतभेदहरूलाई मेटाउन एकै ठाउँ जम्मा हुने एउटा फोरम नै समाजवादी मोर्चा हो’, बुढा भन्छन्, ‘यहाँबाट सकेसम्म देशका सबै कम्युनिस्टहरू मिल्न सकिन्छ। नभए पनि कम्तीमा माओवादीका टुक्राहरूलाई एकै ठाउँमा ल्याउन सकिन्छ भन्ने हाम्रो मान्यता हो।’
संसदीय राजनीतिक व्यवस्था अन्त्य गर्ने अभिष्ट बोकेका यी कम्युनिस्टहरू फेरि ‘समाजवाद’को एउटा अर्को घेरामा आफूलाई हुलेका छन्। तर यहाँ अर्का ‘कम्युनिस्ट’ बाबुराम भने छुटे। माधव नेपाली अलि फरक धारमा छन्। तर त्यहाँ भित्रिएका उपेन्द्र यादव पनि माओवादीबाट छुट्टिएका एक टुक्रा हुन्।
‘उहाँ त आफैँ छुट्नुभएको हो’, बुढा भन्छन्, ‘तर बाबुरामजीमात्रै होइन, अन्तत: सबै कम्युनिस्टहरू अटाउने र आउनैपर्ने एउटामात्रै मोर्चा समाजवादी मोर्चा नै हो। उहाँ पनि आउनुहुन्छ।’
जसले जसरी नै व्याख्या गरेपनि परिभाषाका अनेक भाष्य बनाए पनि अन्तत: हुनसक्ने भनेको प्रचण्ड अनि विप्लवहरूको मिलन नै हो। जहाँ प्रचण्डका चाहना, अनि विप्लव आंकाक्षाहरू पनि गाँसिएका छन्।
तर बुढाका अनुसार अहिले नै मिलिहाल्ने भन्ने कुनै योजना होइन। अथवा यो समाजवादी मोर्चा भनेको ‘प्रचण्ड–विप्लव’मात्रै मिलाउने अन्तिम रेखा होइन। उनी त भन्छन् बरू यो सबका सब कम्युनिस्टहरू मिलाउने एउटा चौतारीजस्तो पो हो!
‘अहिले नै मिलिहाल्ने, आज या भोलि नै पार्टी एकता गरिहाल्ने भन्ने त होइन। तर अन्तत: यो पार्टी एकता गर्ने विन्दुसम्मै पुर्याउने मोर्चा हो। पहिला यहीँ बसेर विगतको समीक्षा गरौं। अब नफुट्नेगरी जुटौं भन्ने हो’, बुढा भन्छन्, ‘हामी धेरै फुट्यौं। धेरै टुक्रा भयौँ। अब नफुटौं। जुटौं र अघि बढौं भन्ने हो।’
एकातिर ‘समाजवादी’को यो मोर्चालाई कतिपयले ‘सरकार टिकाउने’ खेल भनेका छन्। कतिपयले कांग्रेस र एमाले तर्साउने हतियार भनेका छन्। अनि माओवादी पार्टीभित्रै विप्लव छिराउने योजनाका रुपमा यसलाई बुझ्नेहरू पनि छन्।
प्रचण्डपछि अहिले माओवादीभित्र पनि शक्ति संघर्ष चलिरहेको छ। ‘जनयुद्ध’भन्दा अघिदेखि नै एउटा मोर्चा सम्हालेर बसेका प्रचण्डलाई अहिलेसम्म सबैले स्विकार्दै आएका छन्। अझै विकल्प त छैन तर पनि एक तहका नेताहरूमा त्यो छटपटि भने छ, प्रचण्डपछि उनको उत्तराधिकारी को हुने?
जनार्दन शर्मा, वर्षमान पुन अनि शक्तिबहादुर बस्नेतहरूको पुस्तालाई लागिसकेको छ, अब त पालो हाम्रै हुनुपर्छ। त्यसमा पनि सबको मनमा हुने नै भयो– मेरै नेतृत्व।
आकांक्षाको यो हुलदंगालाई प्रचण्डले सम्हाल्नैपर्नेछ। त्यसैले उनी चाहन्छन्, योभित्र विप्लव छिरुन्। अनि विप्लव पनि चाहन्छन्, भड्किरहेको यो राजनीतिक जीवनको सहज अवतरण।
समाजवादी मोर्चा यी दुई नेताको अन्त:स्करणमा सलबलाएका यी भावहरूको मिलान रेखा पनि बन्नसक्छ।
‘त्यसमा हुँदैन भन्ने त के नै छ र? मिल्ने नै हो भने त सब कुरा सम्भव छ। यस्तो हुँदैन वा उस्तो हुन्छ भनेर त भएन नि। त्यसैलाई पहिला क्लियर गरौं भनेर त हामी समाजवादी मोर्चामा अटाएका छौं। भोलि सबै एकै ठाउँमा हुन्छौं’, बुढा भन्छन्, ‘हामी सबै कम्युनिस्ट मिल्नुपर्छ, अब पनि टुक्रियौं भने हामी सबै सकिने हो, प्रचण्ड पनि सकिने हो। केपी ओली, बाबुराम, माधव नेपाल सबै त उही हो नि।’
मिल्ने अभिलाषाको यो यात्रामा उनले उज्यालोमात्रै देखेका छन्।
‘एउटा सच्चा कम्युनिस्ट अर्थात् भनौं क्रान्तिकारी योद्धाले आफ्नो भविष्य कहिले पनि अँध्यारो देख्दैन। हामी सधैं उज्यालो भविष्य देखेर अनि त्यसैलाई हेरेर अघि बढ्छौं’, बुढा भन्छन्, ‘यो भनेको अन्तत: समाजवादको उज्यालो नै हो। जसका लागि हामी फेरि एकै ठाउँमा होमिएका हौं।’
जनयुद्ध बिसाएपछि छिन्नभिन्न भएका ‘सहयोद्धा’ अनि टुक्रा–टुक्रा भएर बाँचेको माओवादीको पार्टी जीवनलाई प्रचण्ड धेरैपटक भावुक भएका छन्। कहिले कता कहिले कता मिल्न जान्छन्। फेरि छुट्टिएर आउँछन्। छुट्टिएकाहरूलाई बोलाउँछन्।
समाजवादी मोर्चा बनाउने अभियानकै बेला एकपटक प्रचण्डले यिनै सन्तोष बुढासँग भनेका थिए, ‘हामीले सँगसँगै जनयुद्ध गर्यौं। फेरि सँगसँगै अर्को राजनीतिक यात्रामा आयौं। अनि फेरि तपाईंहरू भूमिगत हुनुभयो। म संसदीय राजनीतिको बाटोमा लागें। तपाईंहरूले फेरि पनि भूमिगत जीवनको अनुभव गर्नुभयो। मैले पनि यो संसदीय राजनीतिको अनुभव गरें। अब सँगै मिलेर फेरि यसको फ्यूजन गरौं।’
त्यसपछि बुढालाई लाग्यो, अब मिलन धेरै टाढा छैन। ढिलोचाँडो मिलापको त्यो विन्दुमा पुगिन्छ नै। त्यसका लागि अहिले माओवादीभित्र चलिरहेको ‘नेतृत्व’ वा ‘उत्तराधिकारी’को द्वन्द्वले खासै असर पार्ने छैन।
‘त्यस्तो हुँदैन। जसले विप्लव माओवादीमा छिर्दा आफू पछि परिन्छ भन्ने ठान्नुभएको छ भने त्यो कायरता हो। त्यस्तो गर्नुहुन्न’, बुढालाई लाग्छ, ‘हाम्रो विप्लव कमरेड माओवादीको महासचिव नहुने भन्ने के छ र? उहाँहरूभन्दा धेरै क्रान्तिकारी पनि हो। साँच्चै भन्नुभएको हो भने त जसले यस्तो भनिरहनुभएको छ, उहाँहरूभन्दा त सिनियर पनि हो।’
भिडियाे तथा तस्विरहरू: रविन पुन मगर (आइडु)