फेरि एनआरएनए मलेसियामा काँध थाप्दैछन् विनोद

डिल्ली पाण्डे

क्वाललाम्पुर

विनोद थापा, मलेसियामा बसोबास गर्ने नेपालीका लागि नौलो नाम होइन। दुई दशकअघि सामान्य श्रमिकका रुपमा मलेसिया छिरेर सफल व्यवयासी बनेको सफलता र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई लिएर थापा पहिलेदेखि नै चर्चामा छन्।

तर, यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नेतृत्वलाई लिएर उनको चर्चा फेरि चुलिएको छ। ३० जुलाइमा हुँदै गरेको संघको निर्वाचनले मलेसियाको नेपाली समुदायमा रौनक थपेको छ।

अहिले मलेसियाका प्रत्येक सहरमा बस्ने नेपालीमाझ थापाकै चर्चा छ।

सम्भवतः एनआरएनए मलेसियाको नेतृत्व फेरि उनै थापाको काँधमा पर्दैछ। दुई वर्षे कार्यकाल सफलापूर्वक निर्वाह गरेका थापालाई नेतृत्व दोहोर्‍याउन चौतर्फी दवाव बढेको छ।

यसअघि निर्विरोध चुनिएका थापालाई अहिले पनि सहमतिमै नेतृत्व दिनुपर्छ भनेर आवाज समेत उठिरहेको छ।

‘सामाजिक सेवाको लागि पदमै बसिरहनुपर्छ भन्ने मलाई लाग्दैन। मन भए कुनै पदमा नबसि पनि काम गर्न सकिन्छ,’ थापा भन्छन्, ‘एक पटक नेतृत्व गरिसकेको थिएँ। फेरि आउने मेरो व्यक्तिगत चाहना होइन। तर, साथीहरूले तपाईं नै आउनुपर्छ भनेर जोडबल गरिरहनुभएको छ। साथीहरूकै आग्रह टार्न नसकेपछि पुनः उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ।’

श्रमिक हकहितका निम्ति सधैं दह्रो आवाज उठाउने थापा एनआरएनएभित्र एक स्वच्छ छवि बनाएका अभियान्ता हुन्। थापाले दुई वर्षे कार्यकाल विवादरहित चलाए। मलेसियाको नेपाली समुदायलाई थप मजबुद बनाउन प्रयास गरे।

‘क्लिन’ पृष्ठभूमि रहेका थापा एनआरएनएभित्र एक रोजाइका पात्र हुन्। त्यसो त थापालाई अहिले नै केन्द्रीय समिति (आइसीसी) मा लैजान प्रयास पनि भइरहेको छ। विभिन्न प्यानलबाट उनलाई आफ्नो टीममा आउन अनुरोध आएको थियो। तर, उनको आइसीसीमा जाने पनि कुनै मोह छैन।

‘पद नै ओगटेर बस्नुपर्छ भन्ने लाग्दैन। केन्द्रतिर रहेका साथीहरूले अहिले नै तपाईं आइसीसीमा आउनुपर्छ भनेर अनुरोध गर्नुभएको थियो,’ उनले भने, ‘मलाई हतार केही छैन। मलेसियावासी नेपालीकै मुद्दामा अझै काम गर्छु।’

थापा मलेसियावासी नेपालीको भावनालाई कदर गर्दै नेतृत्व दोहोर्‍याउन राजी भएका हुन्। निर्वाचन समितिले निर्विरोध नेतृत्व चयन गर्ने प्रयास गरेपनि अहिलेसम्म सहमति भने जुटिसकेको छैन। अध्यक्ष पदकै लागि राकेश महतो र सन्तोष कार्कीको उम्मेदवारी परेको छ।

मलेसियामा झण्डै ५ लाख नेपाली कार्यरत छन्। तीमध्ये ९५ प्रतिशत श्रमिक वर्ग हुन्। विनोद आफै लामो समयसम्म सामान्य श्रमिकका रुपमा काम गरेकाले उनलाई उनीहरूको पीडा राम्रोसँग थाहा छ।

नेपालीको संख्या बढेसँगै मलेसियामा समस्या पनि उत्तिकै छन्। एक्लो व्यक्ति र संस्थाले सबै समस्या एकैपटक समाधान गर्न सम्भव त हुँदैन तर, समस्या न्यूनीकरणका लागि भने भूमिका खेल्नसक्छ।

मलेसियामा नेपालीले भोग्ने हरेक समस्यासँग उनी जानकार छन्। नेपालीलाई आइपर्ने समस्या समाधान गर्न उनले नेपाली दूतावासलगायत अन्य सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्दै आएका छन्।

उनले कोभिड–१९ महामारीमा खेलेको भूमिका प्रसंशनीय मानिन्छ। कोभिड महामारीमा मलेसिया पूर्णत: प्रभावित रह्यो। यस अवस्थामा हजारौं श्रमिकले रोजगारी गुमाए। धेरै नेपाली सडकमा आए। देश फर्किनुपर्ने अवस्था आयो। योबेला पनि उनी धेरै खटिए। नेपाल फर्काउन सहयोगी भूमिका खेले।

खान नपाएकालाई गास दिए। आर्थिक सहयोग गरे। बिरामी परेकालाई उपचारको व्यवस्था गरे। मलेसियाका जेलमा बन्दी जीवन बिताइरहेका दर्जनौं नेपालीलाई रिहाइका लागि पहल गरे। संघको केन्द्रसँग मिलेर त्योबेला दजर्नौं कैदीबन्दीलाई देश फर्काइएको थियो।

योबाहेक नेपालको पयर्टन प्रवर्द्धनमा पनि उनले भूमिका खेलिरहेका छन्। दुई दशकअघि श्रमिका रूपमा मलेसिया आएका भोजपुर नेपाले–डाँडाका विनोद थापा अहिले मलेसियामा जमेका छन्।

मनमा इच्छाशक्ति र कडा मेहनत गरेपछि असम्भव के नै हुन्छ र! भन्ने उदाहरणका रूपमा उनै विनोदलाई हेर्न सकिन्छ। एकजना आफन्तको भरमा क्याम्पस पढ्नका लागि नेपाले–डाँडादेखि काठमाडौंसम्म पुगेका उनी त्यसपछि मलेसियालाई नै आफ्नो कर्मभूमि बनाए।

त्योबेला विनोदका लागि काठमाडौं पनि उत्तिकै बिरानो लाग्थ्यो। तर पनि आफन्तले क्याम्पस भर्ना गरिदिए। अनि खर्च अभाव हुन थालेपछि एउटा मारवाडीको पसलमा काम गर्न थाले। विनोदलाई ती मारवाडीले महिनाको १५ सय रूपैयाँ पारिश्रमिक दिन्थे। सुरू–सुरूमा एक्लै थिए, उनी। खाना, बस्न र पढ्न पुगेकै थियो। लगतै विनोदले भाइलाई पनि पढ्नका काठमाडौं ल्याए। अनि पैसाको अभाव हुन थाल्यो।

एकजनाको कमाइले दुई भाइको गुजारा चल्नै छाड्यो। सोच–विचार गरेर बढी तलव पाइने रोजगारीको खोजीमा निस्के, विनोद। त्योबेला भर्खरै मलेसिया रोजगारीमा जाने लहर चलेको उनले सुइँको पाए।

उनी मलेसिया पठाउने  म्यानपावर कम्पनीको खोजीमा निस्के। अन्ततः ८० हजार रूपैयाँ तिरेर मलेसिया उडे।

०००

सामान्य श्रमिकका रूपमा मलेसिया पुगेका उनी केही समय कठिनाइहरूसँग निकै जुधे। र पनि उनी आत्तिएनन्। अझ कडा मेहनत गर्दै गए।  विनोदको इमान्दारिता र कामप्रतिको लगाव देखेर उनका हाकिमहरू दंग पर्थे। उनको भिसा र्शीषक परिवर्तन हुनथाल्यो। दर्जा बढ्दै गयो। विभिन्न सामानहरू विदेश निर्यात गर्ने कम्पनीमा काम गर्थे, उनी। हुँदा–हुँदा पछि म्यानेजर नै बने।

लगत्तै उनलाई कम्पनीले पत्याएर जापान पठायो। जापानमा पनि विनोदले उत्तिकै क्षमता देखाए। त्यहाँदेखि साहुजन झन् खुसी भए। उनको बोली बिक्न थाल्यो। थापालाई झन्–झन् विश्वास गर्न थाले। उनलाई अब आफैँ केही गरौँ भन्ने सोच आयो। अनि साहुसँग सल्लाह गरेर आफैँ गर्छु भनेर लागे।

त्यसपछि उनले मलेसियाकै स्थानीयसँग मिलेर सुरक्षा गार्ड सप्लाई गर्ने एजेन्सी चलाउन थाले। कुनैबेला सामान्य श्रमिक भएर मलेसिया छिरेका उनले अहिले दैनिक सयौं श्रमिक मलेसिया उर्ताछन्। उनीहरू नेपाललगायत विभिन्न देशका श्रमिकहरू हुन्।

०००

श्रमिकका पीडा बुझेका विनोदको श्रमिकप्रतिको माया र ममता उत्तिकै छ। श्रमिक भएकै कारण आफ्नो व्यवसाय चलेको भन्दै उनले श्रमिकलाई सुरक्षित राख्नु आफ्नो धर्म ठान्छन्।

‘नेपाले–डाँडाबाट खाली खुट्टा काठमाडौं छिरेको हुँ। भाइबहिनी पढाउन र परिवारको खर्च धान्न मुस्किल भएर मलेसिया आएको हुँ। अहिले लाखौँ त नभनौँ हजारौँको परिवार पाल्दै आएको छु’, उनले भने।

सुरुमा उनी श्रमिक थिए। त्यसपछि व्यवसायी भए। अब उनी व्यवसायी मात्रै होइनन्। अर्को परिचय पनि थपिएको छ– गैरआवसीय नेपाली संघ मलेसियाका अध्यक्ष।

श्रमिकले भरिभराउ मलेसियाजस्तो मुलुकमा एनआरएनएलाई स्थापित गर्ने कुरा चानचुने थिएन। विनोदले सबैलाई समेटेर एनआरएनए मलेसियाको उचाइ ह्वात्तै माथि पुर्‍याए।

मलेसियामा एनआरएनएको बोर्ड नै राखेर कार्यालय सञ्चालन गर्न सहज थिएन। तर उनी नेतृत्वको टोलीले कार्यालय मात्रै खोलेन, दुःखमा परेका नेपालीलाई राख्नका लागि सेल्टरसमेत बनायो।

समस्यामा परेका नेपालीको उद्धारदेखि देश फर्काउनेसम्मका काममा विनोद नेतृत्वको समूह रातदिन खटिएको हुन्छ। ‘समस्यामा परेको भन्दै नेपाली दाजुभाइको रात १२ बजे फोन आउँछ। सुनेपछि उद्धार गर्नैपर्‍यो। नेपाली दूतावासको पनि उत्तिकै सहयोग छ। जसका कारण उद्धार गर्न निकै सहज भएको छ,’ विनोदले भने।

र, फेरि एकपटक विनोद नेपालीका लागि त्यही नेतृत्वमा दोहोरिन चाहेका छन्। 

प्रकाशित मिति: : 2023-07-20 21:10:00

प्रतिकृया दिनुहोस्