वि.सं २०११ साल धर्तीमा उदाएकी सीता दाहाल २०८० असार २७ बिहान अस्ताइन्। भौतिकरूपमा अस्ताए पनि हजाररुपमा फेरि उदाएकी छिन्, सीता।
इतिहासमा विरलै हुने एउटा क्रान्तिकारी मान्छेको साथी, सारथी र असल सल्लाहकार बनेर लगभग गुमनाम जिन्दगी बिताएकी सीता सदैव हाम्रो क्रान्ति सपनाको स्राेत अनि ऊर्जा रहिरहनेछिन्।
संसारमा जति पनि पुरुष छन्, ती सबैको सफलताको पछाडि रहस्य हुन्छ। जुन अदृश्य हुन्छ, छायामा हुन्छ। हो तिनै छाया हुन्, सीता पनि। जसले नेपाली क्रान्तिको कमाण्डरलाई कहिल्यै एक्लै हुन दिइनन्।
सबैले साथ दिए। साथ हिँडे, फेरि छोड्दै गए। तर निर्णयको अन्तिम बिन्दुमा जीवनसङ्गिनी नै प्रचण्डका लागि अन्तिम सल्लाहाकार बनिन्। त्यही अन्तिम सल्लाह जो निर्णायक हुन्छ, सफलता र असफलताको हिस्सा त्यहीँ निर्भर गर्दछ।
वास्तवमा सीता दाहाल जनयुद्धको जुन स्थानमा थिइन्, त्यो निकै महत्वपूर्ण र संवेदनशील थियो। उनी पार्टीको केन्द्रीय सल्लाहकार त थिइन् नै तर सुप्रिम कमाण्डरको वास्तविक शक्ति पनि थिइन्। त्यसो नहुँदो त प्रचण्ड र सीताबीच त्यो प्रेमील सम्बन्ध सम्भव पनि हुने थिएन।
पुष्पकमल अर्थात् प्रचण्ड र सीताबीचको सम्बन्ध मात्रै त्यो परिवारको थिएन, त्यसको प्रभाव सिङ्गो पार्टी अनि पूरै अभियानलाई पनि हुनसक्थ्यो। जसलाई सीताले जोगाउँदै लगिन् र दश वर्षको त्यो सशस्त्र क्रान्तिलाई एउटा ठाउँमा बिसाउन प्रचण्डको सहयात्री बनिरहिन्।
सीता पनि एक सामान्य नारी नै हुन्, सायद। तर उनले जुन जिन्दगी बाँचिन्, त्यो सामान्य थिएन। उनको जीवनशैली, रहनसहन, स्वभाव, व्यवहार सबै सामान्य भए पनि जिन्दगीको भूमिका असाधारण थियो र सधैँ रहिरहनेछ।
घर परिवारमा बुहारी हुँदाको अवस्था, साना चिचिला छोराछोरीहरू छोडेर श्रीमान भूमिगत हुँदाको अवस्था, छोरीछोरीमात्रै जन्माइस् भनेर सासू-ससुरा र समाजले गरेको हेला-हिंसा सहँदै बाँचेको जिन्दगी कहाली लाग्दा छन्। महिला हुनुको नाताले उनले सहनशीलताको सगरमाथा चढेकी छिन् र आज त्यो उचाई कायम गर्न सफल भएकी पनि छिन्।
गरिबी, अभाव त एकातिर छँदैथियो, त्यति हुँदाहुँदै पनि सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी सीताले आफ्ना श्रीमानको पढाइ खर्चसम्म माइतीबाट जोहो गरिन्। पुष्पकमल पढाइमा अब्बल थिए, त्यो पूरा गराउनुमा उनको ठूलो भूमिका देखिन्छ।
अधिकांश मानिस जुन उच्च ओहोदामा पुगेका छन्, धेरै जसोका छवि बिग्रिनुका पछि श्रीमतीहरूका नाम जोडिएका छन्। एउटा पुरुषलाई भ्रष्ट बनाउन या भ्रष्टाचारबाट अक्षुण राख्न महिलाको कति ठूलो भुमिका हुन्छ भन्ने कुरा अहिलेको राजनीतिमा छताछुल्ल भएको छ।
सत्ता र शक्तिको दुरुपयोग प्रधानमन्त्री या मन्त्रीपत्नीहरूले कसरी गर्दा रहेछन् भन्ने विषयले नेपाली जनता वाक्क भएको बेला सीता दाहाल एउटा ऐतिहासिक र उदहरणीय पात्रका रूपमा बाँचिरहिन्। आफ्ना श्रीमान र सन्तानको भूमिका अनि शक्तिको दुरुपयोग कहिल्यै गरिनन्। बरु एउटा सामान्य जीवनशैली बाँचिरहिन्।
पार्टीको केन्द्रीय सल्लाहाकार समितिको सदस्यको हैसियतले शान्ति प्रक्रियापछि पार्टीमा देखा परेको गुट र फुटले उनलाई पिरोलिरह्यो। जतिबेला शक्तिशाली पार्टीको खाँचो थियो, जतिबेला एकताको खाँचो छ, त्यतिबेला टुटफुट हुनुहुँदैन, पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ भन्ने सीता दाहालको सल्लाह महान थियो भन्ने कुरा अहिले आएर सबै कुरा बिग्रिसकेपछि टुटफुटवादीहरूले सायद बुझ्न थालेका छन्।
त्यतिबेलाको सीता दाहालको त्यो सल्लाहलाई एउटा अनपढ, अशिक्षित गृहिणी महिलाले दिएको सामान्य र हल्का कुराका रूपमा लिनेहरूलाई निश्चय पनि पश्चाताप भएकै होला। कसैलाई आफ्ना श्रीमानलाई कमान्डर बनाउन हतार थियो त कसैलाई आत्मरतिमा रमाउन हतार थियो। तर आन्दोलनको त्यो आवश्यकतालाई गहिरो गरी बुझ्न जरूरी भएन। हो, त्यही टुटफुटका कारण आज नेपाली जनता र नेपाली समाजको गति धेरै पछि परेको छ।
त्यो एकता र त्यो शक्तिलाई फेरि पनि जीवित राख्न सकियो भने साँच्चिकै सीता दाहालप्रति न्याय अनि सच्चा श्रद्धाञ्जली हुने थियो। जीवनमा आइपरेका भयानक दुःखहरूलाई सम्हाल्दा सम्हाल्दै एउटा दुर्लभ रोगबाट पीडित हुन पुगेकी सीता दाहाल भौतिक रूपमा हामीमाझ नरहे पनि उहाँको आदर्श, उहाँका विचार र उहाँले देखाएका ती मुख्य नारी हामी सबैलाई एउटा प्रेरणाको जिउँदो स्रोत बनिरहनेछिन्।
जीवनका ती कठिन यात्राहरू कत्ति पनि विचलित नभइकन नेपाली समाजलाई सीता दाहालले दिएको योगदान अवर्णनीय छ। आज भौतिक रूपमा उनी हामीमाझ छैनन्। उनले कोरेका मार्गरेखाहरू आदर्शको रूपका स्थापित भएका छन्। हार्दिक श्रद्धाञ्जली सीता दाहाल!
(लेखक नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा किसान मोर्चाका इन्चार्ज हुन्)
- आर्काइभ।