दैलेखमा व्यावसायिकरूपमा कृषि पेसा गर्ने किसानलाई कृषि विकास कार्यालयले पुरस्कृत गरेको छ। व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभरिका ५० व्यावसायिक किसानलाई पुरस्कृत गरिएको हो।
कार्यालयले प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत नगदसहित उनीहरुलाई सम्मान गरेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिएका छन्।
कृषि पेसालाई सम्मानित बनाउनका लागि र कृषकको हौसला बढाउन पुरस्कृत गरिएको उहाँले बताउनुभयो। प्रोत्साहनस्वरुप पाँच कृषकलाई जनही रु १० हजार, ४१ कृषकलाई जनही रु १५ हजार र चार कृषकलाई जनही रु २० हजार नगदसहित सम्मान गरिएको हो। व्यावसायिकरूपमा कृषि गर्ने किसानलाई बर्सेनि पुरस्कृत गरिने पाण्डेले बताएका छन्।
पुरस्कारले व्यवसायप्रति थप जिम्मेवारी बढाउनुका साथै हौसला मिलेको चामुण्डा बिन्द्रासैनी– ७ का कृषक सागर शाहीले बताएका हुन्।
उनले भने, 'उत्पादनका हिसाबले दिइने सम्मानले पेसाप्रति लगाव बढ्छ।' कृषि उत्पादन बढाउन र कृषकलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ।