प्रचण्डकाे सचिवालयले भन्याे- भ्रष्टाचारविरुद्धकाे अभियान रोक्ने मनसायले प्रधानमन्त्रीको राजीनामा मागियाे

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको  जनाएकाे छ।

प्रधानमन्त्री प्रचण्डले असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्ति दिएका थिए। साेही अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गर्दै प्रचण्डकाे राजीनामा माग गरेपछि प्रधानमन्त्रीकाे सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएकाे हाे।

संसदबाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही भएकाे भन्दै संसदमा प्रष्टिकरणको मौकासमेत नदिई उनको भनाईको आसयविपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले विज्ञप्तिमार्फत जनाएका छन्।

सचिवालयले भनेकाे छ, ‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ।’

जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको आचार्यले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।

‘प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि ०६७/०६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको थियो’ विज्ञप्तिमा भनिएकाे छ, ‘सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको थियो।’

सिंहले अनौपाचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गरेकाे सचिवालयले जनाएकाे छ।

‘नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले अनौपाचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आउनु भएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा सम्माननीय प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गर्नुभएको प्रष्ट नै छ। यसै क्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो। तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् छ’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2023-07-06 14:13:00

प्रतिकृया दिनुहोस्