नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संसदमा राजीनामा मागिनु जायज नभएको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले मंगलबार एक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्ति दिएपछि बुधबारकाे संसद बैठकमा प्रतिपक्ष दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीको राजीनामा मागेका थिए।
प्रतिपक्ष दलले राष्ट्रको हितविपरीत प्रधानमन्त्रीकाे अभिव्यक्ति आएको भन्दै संसद बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टालाई बैठक स्थगन गरेका छन्।
संसद बैठक स्थगितपछि बिएल नेपाली सेवासँग कुरा गर्दै माओवादी केन्द्रका सांसद सापकोटाले प्रतिपक्षको माग जायज नभएको प्रतिक्रिया दिए। उनले अगाडि भने, ‘उहाँहरुले सदनमा कुरा राख्न पाउनुहुन्छ। तर, उहाँहरुले प्रधानमन्त्रीको राजीनामा माग्नु जायज छैन।’
सापकोटाले संसद बैठक सुचारु हुने पनि बताए। ‘प्रतिपक्षले प्रधानमन्त्रीको जवाफ माग गरेपछि उहाँले जवाफ दिनुहुन्छ र संसद बैठक सुचारु हुन्छ,’ उनले भने।