तीनतिरबाट भारत र उत्तरतिर चीनले घेरिएको भूपरिवेष्टित राष्ट्र नेपालको कतिपय सन्दर्भमा गौरवमय इतिहास छ। हाम्रा छर–छिमेकका देशहरुलगायत विश्वका अधिकांश देशहरु उपनिवेशवादको शिकार हुँदा पनि नेपाल कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश हुन परेन। सुगौली सन्धिले गर्दा भूगोल र जनसंख्याका दृष्टिले सीमित हुन परेपनि त्यसअघि हामी भू-आकार र जनसंख्या दुवै दृष्टिले ठूलै देशमा पर्दथ्यौं। राष्ट्रिय स्वाभिमानका दृष्टिले यो हाम्रो गौरवमय पक्ष हो।
तथापि सुगौली सन्धिपछि नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको दृष्टिले हामी निरन्तर प्रताडित छौँ। माथि भनिएझैँ वैधानिक दृष्टिले हामी कहिल्यै कसैको उपनिवेश भएनौँ। तथापि व्यावहारिक दृष्टिले हामी अझै पूर्ण स्वाधीन हुन सकेका छैनौं। यस परिस्थितिलाई ‘नव उपनिवेशवाद’ ‘प्रभुत्ववाद’ वा ‘विदेशी थिचोमिचो’ वा यस्तै रुपमा बुझ्न सकिन्छ।
भारतमाथि बेलायतको कब्जा हुँदा पनि हामी त्यसबाट मुक्त हुन सक्नु आफैँमा महत्वपूर्ण कुरा भएपनि ब्रिटिश भारतको थिचोमिचो नेपालले भोग्नुपर्यो। राणाकालमा नेपालको आन्तरिक मामलामा बेलायतको प्रभुत्व नै रह्यो। राणाकालमा बेलायती साम्राज्यवादको विश्वव्यापी हितको पक्षमा लागेर तत्कालीन नेपालले आफ्नो स्वतन्त्र निर्णय कतिपय सन्दर्भमा गुमायो। बेलायतको पक्षमा लागेर भारतीय जनताको स्वतन्त्रता संघर्षलाई हिंसात्मक रुपले दबाउनेसम्मका कार्य त्यस अवधिमा भए।
त्यो कालखण्डको विश्वपरिवेश पनि त्यस्तै थियो। विश्वका अधिकांश मुलुकहरु उपनिवेशवादको कब्जामा थिए। विश्व व्यवस्था नै सीमित साम्राज्यवादी उपनिवेशवादी शक्तिहरुको एकलौटी प्रभुत्व थियो। तर विस्तारै त्यो परिवेश फेरियो। एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा भारी उपनिवेशवादविरुद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा अभूतपूर्व संघर्ष भए। समाजवादी सोभियत संघको स्थापनाले अन्तर्राष्ट्रिय परिस्थितिमा धेरै फेरबदल ल्यायो। अझ दोस्रो विश्वयुद्धपछि त विश्वका साना, गरीब र कमजोर मुलुकहरुमा आन्तरिक व्यवस्थामा मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्धमा समेत अपूर्ण क्रान्ति देखियो।
भारत लामो बेलायती गुलामीबाट स्वतन्त्र भयो। उता, चीनमा जनवादी क्रान्ति सम्पन्न भयो। विश्वको समग्र राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा फेरबदल देखापर्यो। दशकौँदेखि उत्पीडित राष्ट्रहरुमा स्वाभिमानको सञ्चार भयो। भारत स्वतन्त्र भएपछि नेपाल र भारतबीच समानता र आपसी सम्मानका साथ सम्बन्धको नयाँ युगको सुरुवात हुने अपेक्षा थियो। तर बिडम्बना लामो गुलामीबाट मुक्त भारतले आफ्नो सानो छिमेकीप्रति ठुला र विशाल भावना देखाउन सकेन। फलस्वरुप नवस्वतन्त्र भारतले नेपालसँग सन् १९५० को असमान सन्धिको प्रस्ताव गर्यो। नेपाली जनताले आफ्नो निरंकुश सत्ता ढलाउन थालेको बुझेका राणाहरुले नयाँ भारतीय शासक वर्गलाई खुसी पार्न उक्त असमान सन्धिमा हस्ताक्षर गरेर आफ्नो राष्ट्रिय हितलाई कुठाराघात गरे।
२००७ को क्रान्तिपछि नेपालमा आन्तरिक रुपमा मात्र युगान्तकारी परिवर्तन भएन, अन्तर्राष्ट्रिय रुपमा पनि नेपालले आफ्नो बेग्लै स्वतन्त्र पहिचान स्थापना गर्ने भावना तीव्र भयो। तर भारतीय शासक वर्गले लगातार स्वतन्त्र र सार्वभौम राष्ट्र नेपाल तथा नेपालीको चाहनालाई प्रत्यक्ष परोक्ष अवरोध सिर्जना गर्दै नेपालमा आफ्नो प्रभुत्व कायम राख्ने कार्यलाई निरन्तरता दिए।
हाम्रा शासक वर्गमा पनि आफ्ना निश्चित स्वार्थका लागि भारतलाई खुसी पार्ने कार्यलाई निरन्तरता दिएर फलस्वरुप कोसी, गण्डकी हुँदै नेपालको जलस्रोत भारतीय कब्जामा जाने क्रम सुरु भयो। विगत सात दशकदेखिको यो क्रम जारी छ। अहिले चीन वा अन्य देशको लगानीमा निर्माण गरिएका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत भारतले नकिन्ने निहुँ बनाएर नेपालको सम्पूर्ण जलस्रोत भारतीय पोल्टामा पार्ने कार्य भइरहेको छ।
कहिले नाकाबन्दी, कहिले व्यापार पारवाहनमा अवरोध, कहिले भूपरिवेष्टित राष्ट्रले पाउने अधिकारलाई चुनौती, कहिले संविधान बनाउने लगायत नेपाली जनताका सार्वभौम राजनीतिक, आर्थिक, सामाजिक, संवैधानिक कानुनी अधिकारमा हस्तक्षेप, सीमामा निरन्तर अतिक्रमणलगायतका थुप्रै अमैत्रीपूर्ण व्यवहार भारतबाट नेपालले भोग्न बाध्य छ। यसका साथै विश्व शक्ति सन्तुलनले ल्याएको परिवर्तनसँगै नेपालमा अमेरिका, युरोपको चासो निकै बढेको छ। उत्तरी छिमेकी चीनले पनि आफ्नो विश्वव्यापी शक्तिको विस्तारसँगै नेपालमा आफ्नो चासो हिजाभन्दा झनझन बढाएको छ। नेपालको भू-राजनीतिक अवस्थाले पनि छरछिमेकको साथै विश्वका ठूला र सामरिक रुपले शक्तिसम्पन्न राष्ट्रहरुको ध्यान नेपालतिर छ।
नेपाल सानो, कमजोर र गरीब मुलुक भएपनि नेपाली जनतामा देशभक्तिको लामो र गौरवमय परम्परा छ। शासकहरुले आफ्ना स्वार्थले बेला मौकामा विदेशीहरुसामू लम्पसार परेपनि जनताले राष्ट्रिय स्वाधीनता र हरेक खाले विदेशी थिचोमिचोको विरोध गर्दै आएको छ। चाहे १९५० को असमान सन्धि होस्, चाहे कोशी, गण्डकी, महाकालीलगायतका जलस्रोतसम्बन्धी नेपालमा ठगिएका सन्धि सम्झौता हुन्, चाहे सीमाना मिचिएका कुरा हुन्, चाहे पटकपटक विना कारण लगाएका नाकाबन्दी हुन्, चाहे हाम्रो इतिहास, हाम्रो भावना, हाम्रो अस्मितामाथि प्रहार होस्। नेपाली जनताले सधैँ त्यसको प्रतिकार गरेको छ। देशको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता, स्वाभिमानविरुद्ध वैदेशिक थिचाोमिचोविरुद्ध लामो र देशभक्तिपूर्ण संघर्षले नेपालले आफ्नो अस्तित्वको रक्षा गर्न सकेको हो भन्ने कुरा अतिरञ्जित रुपमा लिनुहुँदैन।
तर राष्ट्रियताको सन्दर्भमा यता केही वर्षदेखि अत्यन्त गलत, अत्यन्त आत्मघाती भाष्यको निर्माण गर्ने प्रयास गरिएको छ। यस भाष्य निर्माण र प्रसारमा केही जानीजानी लागेका छन् भने केही नजानेर पनि उपबुज्रुक भएर लागेका छन्। उनीहरुले नेपाली जनताले वैदेशिक थिचामिचोविरुद्ध आवाज उठाउनासाथ ‘नक्कली राष्ट्रवादी’ जनता पगरी लगाइदिएर नेपालको देशभक्ति पूर्ण आन्दोलनलाई कमजोर पार्ने काम गरेका छन्।
हाम्रो सीमा मिचियो आवाज उठाउनुपर्यो भन्दापनि ‘नक्कली राष्ट्रवादी’ छरछिमेकलगायत विश्वका प्रायः सबै मुलुकमा वैवाहिक अङ्गिकृत नागरिकता दिन निश्चित वर्षको प्रावधान छ। यहाँ पनि लागु गरौँ भन्दा पनि ‘नक्कली राष्ट्रवादी’ भारतीयहरुले हाम्रो सीमा लगातार मिचिरहेको छ। गलत नक्सा बनाएर भ्रम फैलाउने कुरा गरिरहेको छ भन्दा पनि ‘नक्कली राष्ट्रवादी’, हामीमाथि भारतलगायत विश्व शक्तिहरुले नव उपनिवेश लगाइरहेका छन् भन्यो कि ‘नक्कली राष्ट्रवादी’। हाम्रा जलस्रोत एकाएक गरी भारतीय कब्जामा जान थाल्यो, उसले निश्चित रणनीतिअन्तर्गत हाम्रो जलस्रोत हत्याउने प्रयास गरिरहेको छ भन्यो कि ‘नक्कली राष्ट्रवादी’, १९५० को सन्धिलगायत सबै असमान सन्धि सम्झौता खारेज वा पुनरावलोकन गर्ने आवाज उठाउनेलाई ‘नक्कली राष्ट्रवादी’।
वैदेशिक सहयोग वा ऋण लिँदा अपमानपूर्ण र असमान सर्तहरुलाई अस्वीकार गर्ने माग गर्यो कि ‘नक्कली राष्ट्रवादी’, भारतसँगको खुला सीमानालाई कुनै न कुनै किसिमले व्यवस्थित गर्नुपर्ने विचार राख्यो कि ‘नक्कली राष्ट्रवादी’, सहयोगको नाममा एमसिसी जस्ता राष्ट्रहित प्रतिकुल सहयोग अस्वीकार गर्नुपर्दछ भन्यो कि ‘नक्कली राष्ट्रवादी’, भाषा संस्कृति, नेपाल र नेपालीको मौलिकतामाथि सांस्कृतिक अतिक्रमण गलत र खतरनाक हस्तक्षेप भैरहेकोछ, त्यसको प्रतिरोध गर्नुपर्दछ भन्ने धारणा राख्नेलाई ‘नक्कली राष्ट्रवादी’, आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको स्थापना गर्नुपर्दछ भन्ने दृष्टिकोण राख्नासाथ ‘नक्कली राष्ट्रवादी’ उदाहरण सयौं छन्।
देशभक्ति, वैदेशिक थिचोमिचोको विरोध गर्नासाथ ‘कुन देशमा बनाएको जुत्ता कपडा लगाएका छौं’,‘अमेरिकन डि.भि भर्नेको यत्रो लाइन छ’ आफ्ना छोराछोरी विदेशमा छन्, देशमा केही उत्पादन हुँदैन, राष्ट्रियताका ठुलाठुला कुरा गर्ने भनेर उडाउने। कति हो कति? यस्ता कुतर्क गर्नेहरुको कुरा हो भने कुनै गरीब, अर्काको घरमा काम गरेर खाने, कमजोर व्यक्तिकाे परिवार छ भने त्यस्ताले छिमेकीले अपमान अझ बलात्कार भएपनि त्यसको प्रतिरोध गर्नुहुँदैन, त्यस्तो प्रतिरोध ‘नक्कली स्वाभिमानी’ हुन जान्छ?
राष्ट्रवादको अर्थ देशप्रेम, स्वतन्त्रता, स्वाभिमान र सबैखाले वैदेशिक थिचोमिचो र हस्तक्षेपको विरोध हो। संसारमा राष्ट्रवादका नाममा आफ्ना जनतालाई जात, धर्म, नश्ल, भाषा, संस्कृतिका नाममा दमन गर्ने फासिष्ट प्रवृत्ति नदेखिएको होइन। छिमेकी भारतमा राष्ट्रिय स्वयंसेवक संघ वा भारतीय जनता पार्टी अथवा यस्तै अन्य प्रवृत्ति प्रवल छ। जसले आफ्ना जनतामाथि जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विभेद गर्दछ। एक भाषा, एक धर्म, एक संस्कृति वा एक समुदायको नारा दिएर त्यसदेखि बाहेक अन्य समुदायलाई विरोध वा दमन गर्नु नक्कली राष्ट्रवाद हो।
सामान्यतः नेपालमा यस्तो संस्कृति कमजोर छ। २०४७ काे सालको संविधानमै नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसंस्कृतिको मुलुकका रुपमा उल्लेख गरिसकेको थियो। नयाँ गणतान्त्रिक संविधानमा उक्त भावनालाई थप प्रखर रुपमा उल्लेख गरिएको छ। राष्ट्रवादको नाममा हुने जुनसुकै आन्तरिक विभेद अस्विकार्य छ। यसैगरी राष्ट्रवादको नाममा ठुलो राष्ट्रको ‘अहंकारवाद’को नाममा साना गरीब, कमजोर मुलुकमाथि गरिने आक्रमण, हस्तक्षेप, समानताको आधारमा हुने अन्तराधिन सम्बन्धमा अस्विकार्य छ।
नेपाल जस्तो सानो मुलुकले अरु मुलुकमाथि हस्तक्षेप गर्ने कुरा अकल्पनीय छ। बरु हामीले निरन्तर वैदेशिक हस्तक्षेपको सामना गरिरहेका छौं। यस्तो हस्तक्षेपको विरोध गर्नु ‘नक्कली राष्ट्रवाद’ होइन, मुलुकको स्वाभिमानको रक्षा गर्नु हो। जुन हरेक देशभक्त नागरिकको सर्वाेच्च दायित्व हो। जसलाई नागरिकको कर्तव्यका रुपमा हाम्रो संविधानले पनि उल्लेख गरेको वैदेशिक थिचोमिचोविरुद्ध गरिने देशभक्तिपूर्ण संघर्षलाई ‘नक्कली राष्ट्रवाद’ देख्नु चरम राष्ट्रघात हो। देशभक्तिपूर्ण आन्दोलनलाई ‘नक्कली राष्ट्रवाद’ भन्नेहरुले के कुरा बुझ्न जरुरी छ भने मुलुकभित्र उत्पीडक वर्गका विरुद्ध उत्पीडित वर्गले संघर्ष गर्नु जति जायज छ, राष्ट्र-राष्ट्रका बीच पनि उत्पीडित राष्ट्रले उत्पीडक राष्ट्रका विरुद्ध संघर्ष गर्नु त्यतिकै जायज छ।
नेपालको देशभक्तिपूर्ण आन्दोलन र वैदेशिक थिचोमिचोविरुद्धको आन्दोलन एकअर्काको परिपूरक रुपमा रहँदै आएको इतिहास छ। चाहे २००७ को दिल्ली सम्झौता होस्, चाहे सन् १९५० को भारतसँग भएको असमान सन्धि होस्, चाहे कोशी, गण्डकी वा अन्य नदीनालामा ठगिएको सुस्ता महेशपुरलगायत सीमा मिचिएको विषयमा नेपालको देशभक्तिपूर्ण आन्दोलनले विगतदेखि नै सशक्त विरोध गर्दै आएको छ। तर अहिले आफूलाई ‘वामपन्थी प्रगतिशील’ भन्ने केही जमातसमेतले यस्ता वैदेशिक थिचोमिचोको कुरा गर्यो कि ‘नक्कली राष्ट्रवादी’ को संज्ञा दिइहाल्छन्।
वाम प्रगतिशील देशभक्त शक्तिले जसरी आन्तरिक उत्पीडितको विरोध गर्नुपर्दछ, त्यसैगरी वैदेशिक उत्पीडनको पनि विरोध गर्नुपर्दछ। मुलुकभित्र उत्पीडक र उत्पीडितबीच अन्तरविरोध भएझैं मुलुक-मुलुकबीच उत्पीडक मुलुक र उत्पीडित मुलुकबीच अन्तरविरोध हुन्छ भन्ने सामान्य कुराको समेत ख्याल नगर्नु उदेकपूर्ण छ। वास्तवमा अहिले नेपालको प्रमुख अन्तरविरोध आन्तरिक रुपमा उत्पीडित वर्ग र उत्पीडक वर्गबीच रहेझैं बाह्य प्रमुख अन्तरविरोध उत्पीडक राष्ट्र र नेपाल जस्तो उत्पीडित राष्ट्रबीच रहेको छ।
राष्ट्रिय स्वाधीनता, अखण्डता र राष्ट्रको स्वाभिमानका पक्षमा हरेक खाले वैदेशिक हस्तक्षेप र थिचोमिचोको विरुद्धमा आवाज उठाउनासाथ ‘नक्कली राष्ट्रवादी’ को पगरी गुथाउनु अत्यन्तै गलत र भ्रामक कुरा हो। राष्ट्रवाद (राष्ट्रियता) को सन्दर्भमा विगत केही वर्षदेखि स्थापना गर्न खोजिएको यस्तो गलत भाष्यले नेपालको राष्ट्रिय स्वाधीनता र वैदेशिक थिचोमिचोविरुद्धको आन्दोलनलाई कमजोर पार्न सक्छ। जो कुरा त्यस्तो गलत भाष्य निर्माण र प्रचार गर्नेहरुका लागि समेत आत्मघाती हुन जानेछ।