सामान्य परिवारमा हुर्किएका टंक गिरी उमेरले ४८ वर्षका भए। उनकाे मुजा परेकाे अनुहारले भन्छ उमेर बढी छ। झट्ट हेर्दा नै अनुमान लगाउन सकिन्छ कि उनले खाइ नखाइ पसिना बगाएर धान सम्पत्ति जाेडेका हुन्। उनकाे जीवनलाई केलाउने हाे भने कपालका राैंभन्दा बढी दु:ख भेट्न सकिन्छ।
आर्थिक अभावका कारण उनले कक्षा ६ मा पढ्दा पढ्दै स्कुल छाेड्नु परेकाे थियाे। सयाैं प्रकारका दु:ख कष्ट सहेर थाेरै बचत गर्दै उनी जडिबुटी व्यवसायमा लागे। त्यसपछि उनले आफ्नाे जीवन बदल्ने यात्रा सुरु गरे। ‘नेपालमा हुने, नेपाल सरकारबाट अप्रतिबन्धित सबै प्रकारका जडीबुटीकाे व्यापार गरें। सरकारलाई राजस्व तिरें। केही नाफा हुन थाल्याे, बचत गर्न थालेँ।’
यतिले उनकाे जीवन त बदलियाे। तर, उनले भाेगेकाे समाज बदलिनेवाला थिएन। लामाे समय गरिबीकाे दुश्चक्रमा फसेकाे समाज सजिलै फेरिनेवाला थिएन। त्यसैले उनकाे मनमा बारम्बार प्रश्न खेलिरहन्थ्याे कि समाजलाई परिवर्तन कसरी गर्ने ? रुपान्तरण कसरी गर्ने ? राेजगारी कसरी दिलाउने ?
यही बिचमा इटालीबाट ल्याइएका फुजी स्याउ नेपालमा राम्राे भइरहेकाे उनले देखे। ठुलो परिमाणमा खेती गर्न सकिएकाे खण्डमा राेजगारी दिलाउन सकिने र आफू समाज परिवर्तनकाे हिस्सा बन्ने ठाने। परिणामा जिल्लाकै भव्य बगैँचा बनाउने अभियानमा जुटे।
लामाे आकारकाे बगैँचाकाे स्याउ गाडीले समेत टिप्न मिल्ने गरे व्यवस्थापन गरिएकाे छ। हरेक बाेटमा गाडी पुग्ने गरी बिरुवा लगाइएकाे छ। उच्च तहकाे दुरदर्शिता अपनाइएकाे छ। याे व्यवस्थापनका निम्ति १६ जना स्थायी कर्मचारी खटिएका छन्। जाे नियमित काम गरिरहेकाे छन्।
उनीहरुलाई एक वर्षकाे नियुक्ति दिइएकाे छ। नियमअनुसार हरेक वर्ष नियुक्ति नवीकरण गर्ने व्यवस्था मिलाइएकाे छ। कर्मचारीलाई विभिन्न खालका सुविधा पनि दिइएकाे छ। शनिबार, दशैँ, तिहार नयाँ वर्षमा बिदा, सिजनअनुसारको लुगा र दशैँ भत्ता लगायतका सुविधा उपलब्ध गराउने गरिएकाे छ।
‘याे ठाउँलाई परिवर्तन गर्नुपर्छ। समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने साेच छ,’ उनले भने, ‘त्यसका लागि राेजगारीकाे सृजना गर्नुपर्छ भन्ने लागेर नै बगैँचा स्थापना गरेकाे हुँ।’
समाजका अधिकांश मानिसले व्यवस्थित खेती प्रणाली अपनाउन सके समाजमा व्याप्त बेराेजगारी कम हुँदै जाने उनकाे विचार छ। साेही विचार बमोजिम नै उनकाे भव्य बगैँचा बनेकाे हाे। जहाँ हालसम्म साढे ८ कराेड लगानी भइसकेको छ। उनले भने,‘मैले बगैँचालाई साेचेअनुसारकाे बनाउन चानचुन ३८ कराेड जति लगानी गर्नु पर्ने अनुमान गरेकाे छु।’
उनले तिब्बतीयन च्याङ्ग्रा पालन, कालिज पालन, रेन्बाे ट्राउट माछा पालन, माैरी पालन, हाेमस्टे संचालन, सिमी, आलु, जाैँ, गाैँ, फापर उत्पादन र जडीबुटी खेतीकाे विस्तार गर्ने साेच राखेका छन्। यी सबैका लागि ३८ कराेड लगानी लाग्न सक्ने प्राराम्भिक अनुमान गरेका छन्।
हालकाे लगानी जुटाउन उनले सिटिजन बैंकबाट १ कराेड ८७ लाख ऋण लिएका छन् भने २०५२ साल यताकाे जडिबुटीबाट व्यवसायबाट प्राप्त भएकाे आम्दानी र केही साथी-भाइकाे सहयाेग लिएका छन्।
पछिल्लो समय उनी केन्द्र सत्तादेखि विकट र दुर्गमकाे विकास भयाे भने सिंगाे देश विकास हुने मत राख्छन्। ‘देश विकास हुनु भनेकाे आर्थिक रुपमा सक्षम र सबल हुनु हाे। यसपछि भाैतिक विकासका साथ साथै सामाजिक विकास हुन्छ,’ उनले भने,‘समग्रमा देश विकास गर्न उत्पादन जरुरी छ। जबसम्म आफ्नाे उत्पादन हुँदैन तबसम्म आत्मनिर्भरताकाे नारा खाेक्राे भाषण मात्रै हुन्छ।’
पछिल्लो समय सरकार आफैं पनि रकम जुटाउने मामलामा चुक्दै गएकाे छ। यस्ताे अवस्थामा व्यक्ति तथा फर्महरु उत्पादनमा लागे भने सरकारलाई स्राेतकाे हर्ज हुँदैन। यसरी सरकारदेखि व्यक्ति सबैकाे आर्थिक स्थिति मजबुत बनाउन उत्पादन जरुरी रहेकाे गिरीकाे भनाइ छ।
‘हिजाे कुनैबेला कर्णालीकाे आफ्नाे उत्पादन थियाे। त्यसलाई विनिमयकाे माध्यम बनाइएकाे थियाे। भेडा, च्याङ्ग्रालाई यातायातकाे साधन बनाइएकाे थियाे,’ उनले भने, ‘जे चिज आफूसँग छैन, त्यसैकाे मात्रै जाेहाे गर्नुपर्थ्याे। जसले सिङ्गाे सिंजा साम्राज्य र सभ्यता धानेकाे थियाे। कर्णालीलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन सकिएकाे खण्डमा हामी हिजाे जत्तिकै सक्षम र आत्मनिर्भर हुनेछौँ। त्यसैले आज उत्पादन उद्यमशीलता चाहिएकाे छ।’
माटाे सुहाउँदाे उत्पादन, त्यसकाे विकास र विस्तार गर्ने विषयमा ध्यान नदिँदा आर्थिक प्रगतिकाे पथमा लम्किन नसकिने उनकाे निष्कर्ष छ। ‘नयाँ आइडिया, नयाँ विचार र नयाँ साेचले पुँजीकाे विकास गर्ने बाटाेमा डाेर्याउँछ,’ उनले भने, ‘यही उद्देश्यका साथ मैले हिमाली टि एण्ड एन एग्राे फार्म कम्पनी रजिस्ट्रारकाे कार्यालयमा दर्ता गरी संचालनमा ल्याएकाे हुँ।’
फर्मले अपार सम्भावना बाेकेकाे जुम्लामा फुजी स्याउ खेती गरेर आफ्नाे उत्पादनमार्फत् बजारमा उपस्थिति जनाउने उद्देश्य राखेकाे छ। हाल फुजी स्याउका साथै रेड, गाेल्डेन र गाला नामका गरी चार जातकाे स्याउ राेपिएकाे छ। २२ हेक्टर क्षेत्रफल जमिनमा १४ हजार बिरुवा राेपिएकाे गिरीले बताए। उनले भने, ‘आगामी दिनमा उत्पादनकाे विकास र बिस्तार गर्ने उद्देश्य लिएका छाैँ।’
आकर्षक पर्यटकीय गन्तव्य गुठीचाैरकाे द्वारमा रहेकाे सानाे गुठीचाैरमा बनाइएकाे गिरीकाे बगैँचाकाे आकार सबै आकर्षक छ। यसैकारण कृषि पर्यटनलाई पनि प्रवर्द्धन गर्न सकिने उनकाे साेच हाे। ‘हाम्राे याे कामले थाेरै भए पनि आत्मनिर्भर हुन उत्पादन जरुरी हुन्छ भन्ने अभियानलाई सार्थक तुल्याउन टेवा पुगाउनेछ,’ उनले भने।
कर्णाली प्रदेश सरकारले आफ्नाे नीति तथा कार्यक्रममा अर्गानिक कर्णाली प्रदेशलाई निरन्तरता दिएकाे छ। लामाे समय अघिदेखि जुम्ला अर्गानिक जिल्ला भनेर घाेषणा गरिएकाे छ। यस्ताे अवस्थामा उत्पादन बढाउन जैविक मल कारखाना खाेल्नु अतिआवश्यक छ। यसका लागि स्थानीय सरकारले पहल कदमी गर्दा आफ्नाे बगैँचाकाे लागि चाहिने जति मलकाे सहज उपलब्धता हुने उनकाे आशा छ।
तर, बाेली एक र व्यवहार अर्काे हुँदा आशा निराशा बदलिने गरेका कयाैँ उदाहरण छ। त्यसैले गिरी भन्छन्,‘सबै तहका सरकारले आफ्नाे बाेली अनुसारको व्यवहार प्रदर्शनी गरिदेउन।’
१६ जना नियमित कामदार भए पनि सिजनमा सयाैँले राेजगारी पाउने र हरेक नयाँ खालकाे उद्यम सुरु गरेसँगै कर्मचारी थपिने गिरीकाे दाबी छ।
भिडियाे :