नाथ सम्प्रदायका धरोहर योगी विश्वनाथको कथन, ‘भारतसँगको सीमाना र बिहाबारीसमेत तुरुन्त बन्द गरिनुपर्छ।’
हाँडीगाउँस्थित श्री गोरखनाथ मन्दिरमा भेटिनु हुने योगी विश्वनाथ महन्त महाराजसँग कुराकानी गर्दा सुतिरहेको चेतना जागृत हुन्छ। योगी नरहरीनाथपछि त्यस् महानस्थानमा योगी विश्वनाथलाई राख्न सकिन्छ। उहाँको विद्वता, त्याग र तपस्याले त्यसको पुष्टि गर्दछ।
उहाँकाअनुसार नाथ सम्प्रदाय एक किसिमले राज्यको प्रतिपक्षको भूमिकामा हुने गर्दछ। फलस्वरुप लिच्छबी, मल्ल, शाह, राणा, पञ्च हुँदै बहुदलीय व्यवस्थामा पनि नेपालमा नाथ सम्प्रदाय कोपभाजनको सिकार भइरह्यो। लामो समयदेखि यहाँका शासकहरुले नाथ सम्प्रदायलाई बुझ्न नसकेको प्रष्ट हुन्छ। जबकि, नाथहरु सारा ब्रह्माण्डकै रक्षा तथा हितार्थ तपस्या र साधना गर्ने गर्दछन्।
देश, काल र परिस्थितीउपर अत्यन्तै सजग योगी विश्वनाथ भन्नुहुन्छ,‘मुलुक बचाउने हो भने यहाँ तत्काल राजा महेन्द्रपथ अपनाउनु जरुरी भइसकेको छ। राजा महेन्द्रबाहेक कसैले यो देश बचाउन सक्दैनन्।’
उहाँसँग लगातार केही दिन विभिन्न विषयमा भलाकुसारी गर्दा कस्तो लाग्यो भने, जीवित अवस्थामा यस्ता सनातनी गुरुलाई भेट्न पाउनु र उहाँका प्रखर र सटिक वाणीहरु सुन्न पाउनु हाम्रो अहोभाग्य हो।
उहाँ राजनीतिप्रति सचेत हुनुहुन्छ। मोबाइलमा समाचार र राजनीतिक टीकाटिप्पणीहरु सुनिरहनुहुन्छ। देश र जनताको औधी चिन्ता छ। समाजमा धर्मकर्मको हुर्मत काढिएकोमा आपत्ति पनि छ। देश बचाउन अझै पनि क्रान्तिमा होमिने हिम्मत जिउँदै छ।
‘सबैलाई बेद नपढाउनु नै हाम्रो ठुलो भूल थियो। सबैलाई सनातन धर्म अध्ययन गर्न दिनु नै यस धर्मको विशेषता हो। तर, धर्मअनुसार यहाँ कर्म भएन। फलस्वरुप यहाँ धर्मको हुर्मत काढिएको छ,’ उहाँको निचोड छ।
कुनै समय आफैँ कम्युनिस्ट रहेका महन्थको आरोप छ, ‘नेपालका सबै कम्युनिस्टहरु नक्कली हुन्। यिनको कुरा गर्नु बेकार। नेपालमा अहिलेसम्म सच्चा कम्युनिस्ट जन्मिएकै छैन। एउटै कम्युनिस्ट जन्मिएका थिए र ती राजा महेन्द्र हुन्। अरु हामी त ठुलो मान्छे बन्न नपाएर मात्रै कम्युनिस्ट भएका हौं। राजा महेन्द्रले रुस र चीनभन्दा पनि तीव्र गतिमा देशलाई हाँकेका थिए। छोटो समयमा पनि उनले अत्यधिक विकास गरेका थिए। उनी देश र जनताका लागि औधी चिन्तित थिए। त्यो चिन्ता नहुने व्यक्ति कदापि कम्युनिस्ट वा राष्ट्रवादी हुन सक्दैन। नालायक व्यक्तिहरुलाई नेता मान्दा नै आज हामी दर्दनाक अवस्थामा पुगेका हौं।’
कुराकानीका क्रममा महन्थले अगाडि भन्नुभयो, ‘भारतले नेपालको सोझोपनको फाइदा उठाएको छ। भारत अन्यायी र अपराधी हो। पृथ्वीमा भारतभन्दा हाम्रो अर्को कुनै ठुलो दुश्मन छैन। भारत र उसको अत्याचारबाट त्राण पाउन अब हामीले वीर गोर्खालीको शक्ति उजागर गर्नुपर्छ। पछि हट्नै हुँदैन। भारतसँगको सिमाना र बिहाबारी समेत तुरुन्त बन्द गरिनु पर्छ।’
योगीजीको कथन छ, ‘बालेन शाहले अहिले विशाल नेपालको जुन नक्सा देखाए त्यो उत्कृष्ट काम हो। उनलाई त म कोटीकोटी तोपको सलामी दिन्छु। भारतले अहिले देखाएको नक्सा पूर्णतः गलत छ। उसले हामीसँग निहुँ खोजेको छ र यसमा उसको हार निश्चित छ।’
उहाँकाअनुसार नेपालका सारा युवाहरुको एकता हुनु अति जरुरी छ। यो काम गर्न ढिला पनि भइसक्यो। अब नजागी सुखै छैन। यहाँ शान्तिपूर्ण हिसाबमा राजतन्त्र कायम गराएर देशमा सुशासन ल्याउनुपर्छ। यदि त्यसो हुँदैन भने क्रान्तिका लागि पनि तयार रहनु पर्दछ। यो भूमि राजाको हो र यो उनीहरुको हुनुपर्छ। राजा र जनता एक हुनुपर्छ र दुवै पक्ष राष्ट्र र जनताप्रति उत्तिकै बफादार र समर्पित हुनुपर्दछ। भ्रष्टाचारको जरो उखेल्नु पर्छ। मानिलिऊ आज २५ हजार तलब खाने सिपाहीलाई त्यसको दोब्बर तलब दिनुपर्छ। त्यस् उपरान्त उसले एक पैसा मात्रै पनि घुस खाएको खण्डमा गोली हान्नु पर्छ। जबसम्म यहाँ यस्तो कानुन बन्दैन, तबसम्म यो देशमा केही हुनेवाला छैन।
उहाँको आक्रोश छ, ‘नेताहरु देशद्रोही हुन्। यिनीहरुलाई देशको माया छैन। यिनीहरु देश बेच्न पनि पछि पर्दैनन्। यहाँ कस्तो विकराल स्थिती छ भने, भोट दिन्छन् जनता, अनि शासन चाहिँ चलाउँछ भारत। हामीले भोट दिएपछि त प्रधानमन्त्री हामीले नै बनाउनु पर्ने हो। तर भारतले बनाउँछ।’
योगी जी प्रश्न गर्नुहुन्छ, ‘हामीले भोट दिएको कुनै महत्व वा अर्थ छ ? देश र जनताका लागि यो भन्दा अर्को दुर्भाग्य के होला ?’
योगीजीको निष्कर्ष छ, ‘नेपालमा अब महेन्द्रपथ र बैदिक साम्यवाद लागू हुनुपर्छ। सबैलाई प्रकृति विद्या र बेद पढाउनुपर्छ। ब्राह्मणले मात्रै बेद पढ्ने कुरा गलत हो। यो सबैले पढ्न नपाएका कारण नै आज हाम्रो धर्म तहसनहस भएको हो। सर्वजातिले सनातन धर्म अध्ययन र अभ्यास गर्न पाउनुपर्छ। साथै जबसम्म यो भूमिमा देवीदेवता र नाथ योगीको मर्यादा हुँदैन, तबसम्म यहाँ शान्ति हुँदैन। यस देशमा देवी देवता र नाथ योगीहरुको ठुलो अपमान भएको छ। अनि मात्रै यहाँ शान्ति हुन्छ।’
उहाँले केही पटक सर्वजाति यज्ञहवन अनुष्ठानहरु पनि गरिसक्नुभएको छ। त्यसो गर्दा हेपिएका जाति र कथित दलितहरु अत्यन्तै खुशी भएको उहाँको अनुभव छ। शुद्ध भएर नियमअनुसार जसले पनि बेद पढ्न र हवनादि कार्य गर्न पाउनु नै सनातन धर्मको विशेषता भएको दाबी उहाँले गर्नुभयो।
सिन्धुलीको गोलञ्जोरमा २००३ साल वैशाख २१ गते अक्षय तृतीयाका दिन जन्मिएका योगी विश्नाथ महाराजले १९ वर्षको उमेरमा गोलञ्जोर छाड्नु भयो। बुबा हुनुहुन्थ्यो, रिपुमर्दन चौहान र आमा शक्तिदेवी। उहाँले ११ वर्षको उमेरमा ३ कक्षामा पढ्दै गर्दा ठुलाहरुको लहैलहैमा कम्युनिस्टका झण्डा बोक्नु भयो। जिन्दावाद वा मुर्दावादका नाराहरु लगाउन सिक्नु भयो। २०२२ सालमा गाउँ छाडेपछि महोत्तरीमा ७ वर्ष र धनुषामा १४ वर्ष किसानको जिन्दगी बित्यो। यसैबीच उहाँको सक्रिय राजनीति सुरु भयो। २०२३ सालदेखि चौंथो महाधिवेशनसँग आबद्ध हुनुभयो। ऋषि देवकोटा ‘आजाद’ उहाँका सहकर्मी थिए।
उहाँ २०३६ सालसम्म कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो। बुबाको मृत्युपछि धर्मकर्म र आध्यात्म रोज्नु उचित लाग्यो। सिद्धान्त अरुको होइन, आफ्नै बोक्नुपर्छ भन्ने बोध भएपछि राजनीति चटक्कै छाडिदिनु भयो।
२०४७ सालबाट पूर्णरुपमा गृहत्याग। अनि पवित्र पाशुपत क्षेत्रको मृगस्थलीस्थित गोरक्ष पीठमा सेवा सुरु भयो। उहाँका सन्यास गुरु श्यामनाथ योगी। चीरा गुरु भीमनाथ योगी।
त्यसको २ वर्षअघि नै देवघाटमा उहाँको योगी नरहरीनाथ गुरुसँग भेट भइसकेको थियो। यसपश्चात १२ वर्ष गुरुको सान्निध्यमा रहनुभयो। देह त्यागका बेला उहाँ योगी नरहरीनाथसँगै हुनुहुन्थ्यो।
योगी विश्वनाथ स्मरण गर्नुहुन्छ, ‘अन्तिम ३ महिना गुरुले गुप्त साधना गर्नुभएको थियो। उहाँलाई अलिक कष्ट पनि थियो। तर उहाँ त हवनकुण्ड भित्रै पसेर ध्यान र हवनसमेत गर्नुहुन्थ्यो। उहाँ एक सिद्ध पुरुष र जगदगुरु हुनुहुन्थ्यो। तर राज्यले उहाँलाई कहिल्यै चिनेन।’
२०५८ सालमा उहाँ गोरक्ष पीठका कार्यवाहक महन्थ हुनुभयो। उहाँ अलिक बिद्रोही स्वाभावका। चाकडी र चाप्लुसीवाजहरुले देखिसहेनन्। कार्यकाल त्यति सहज थिएन। गर्न खोजेका सुधारका कामहरु गर्न सकिएन। त्यसै त्यसै मन मरेर आयो।
उहाँले उर्लावारीको थापाचोकमा २०६२ साल फागुन २५ देखि वैशाख ५ गतेसम्म सर्वजाति हवन गर्नुभयो। हेपिएका र कथित दलित भनिएका ७ सय ५६ जनाले एकसाथ हवनादि पवित्र कर्म गर्न पाउँदा उनीहरु अति प्रसन्न भएका थिए।
२०६६ साल श्रावण १ गतेदेखि उहाँ मृगस्थली छाडेर हाँडिगाउँस्थित गोरखनाथ मन्दिरमा बस्न थाल्नुभयो। यहाँका संघर्षका छुट्टै कथा छन्।
कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ हाँडीगाउँमा वर्षमा २६ वटा जात्राहरु हुने गर्दछन्। तर, यहाँ गोरखनाथ जात्रा चाहिँ रहेनछ। तसर्थ, योगी विश्वनाथकै पहलमा २०७७ सालबाट ५ किलो चाँदीको चलमूर्ति बनाएर प्रत्येक वर्ष पौष १२ का दिन ५ नम्बर वडाभित्र गोरखनाथ जात्राको थालनी भएको छ। यो जात्रा ऐतिहासिक मानिन्छ।
भिडियोग्राफी: आरके ढुंगाना
भिडियाे :