अमेरिकामा टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) मा रहेका नेपालीको टीपीएस अवधि २०२५ को जुन २४ सम्मका लागि थप गरिएको छ । यसबाट अमेरिकामा टीपीएस स्टाटसमा बस्दै आएका १४ हजार ५ सय टीपीएसधारी नेपालीको बसाई अरू लम्बिएको छ ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै सन् २०२३ को डिसेम्बर २५ देखि १८ महिना थप्ने निर्णय गरेपछि टीपीएसको अवधि बढेर २०२५ को जुन २४ सम्म पुगेको हो ।
यसअघि टीपीएसको अवधि नथपिए पनि टीपीएस कागजातको अवधि भने सन् २०२४ को जुन ३० सम्म स्वत: थपिएको थियो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो निर्णयबाट चाँहि टीपीएसकै अवधि थपिएको हो ।
यसरी थपिएको टीपीएसको सुविधा कायम राख्न अक्टोबर २४ देखि डिसेम्बर २३ सम्म रजिष्ट्रेशन गर्नुपर्ने बताइएको छ । त्यसका लागि चाँडै नै आवश्यक प्रक्रियासहितको सूचना फेडरल रजिष्टरमा चाँडै प्रकाशित हुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।
२०१५ को जुन २४ सम्म अमेरिका आएका कागजपत्रविहीन नेपालीहरु टीपीएसको सुविधा लिएर अमेरिका बस्दै आएका छन् । सन् २०१५ गएको महाभूकम्पका कारण यो सुविधा प्राप्त भएको हो ।