विस्फोटक उपकरणबाट एक बालकको मृत्यु, अर्का घाइते

अफगानिस्तानको पूर्वीवर्दक प्रान्तमा विगतका युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा एक बालकको ज्यान गएको छ  भने अर्का एक जना घाइते भएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सैद अबाद जिल्लाको शनिजदरा गाउँमा शुक्रबार बालबालिकाले खेलौना जस्तो यन्त्र फेला पारेको र त्यो खेलाउँदा विस्फोट भएको थियो। त्यसक्रममा एक बालकको घटनास्थलमै मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।

यसरी द्वन्द्वग्रस्त मुलुकमा निर्दोष बालबालिकाको ज्यान गएको यो दोस्रो घटना हो। अघिल्लो यस्तै प्रकारको घटनामा मे २३ मा अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको थियो। सो घटनामा विगतका युद्धबाट बाँकी रहेको खानी बिस्फोट हुँदा एक बालकको मृत्यु भएको थियो र दुई जना घाइते भएका थिए।

अफगानिस्तान विश्वव्यापीरूपमा सबैभन्दा धेरै खानी प्रदूषित देशमध्ये एक मानिएको छ। विगत चार दशकका विभिन्न किसिमका युद्ध र गृहयुद्धबाट बाँकी रहेका विस्फोटन नगरिएका हतियारको विस्फोटका कारण हरेक महिना जसो दर्जनौँ मानिस, प्रायःबालबालिका मारिने र अपाङ्ग हुने गरेका छन्।

प्रकाशित मिति: : 2023-05-28 06:23:00

प्रतिकृया दिनुहोस्