नीति तथा कार्यक्रम वर्तमान समस्याको समाधान गर्न सफल हुन्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता माधवकुमार नेपालले नीति तथा कार्यक्रम वर्तमान समस्याको समाधान गर्न सफल हुने बताएका हुन्।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री नेपालले जनशक्ति पलायनको समस्या, आर्थिक तरलता, उच्च ब्याजदर, जमिन बाँझो, खाद्य अवस्था सङ्कटलगायतको समस्या समाधान गरेर देश रुपान्तरण गर्न आगामी वर्षको नीति तथा कार्यक्रमले सहयोग पुग्ने बताए।

देशमा सहकार्यको आवश्यकतामा जोड दिँदै नेता नेपालले व्यक्तिवाद र सर्वशक्तिमान सोचले सहकार्यमा अप्ठ्यारो हुने गरेको बताए। जनता र देशलाई केन्द्रविन्दुमा राख्ने नै सफल हुने भएकाले असल नागरिक बन्ने र बनाउन सके देश रुपान्तरणको सपना साकार हुने उनको भनाइ थियो।

'शिक्षा प्रणालीले नै नागरिक कस्तो बन्ने भन्ने निर्धारण गर्छ, असल मानिसको सम्मान हुन्छ, त्यहाँ सपना साकार हुन्छ, सपना देख्नुपर्छ साकार बनाउन यथार्थमा विपनामा काम गर्नुपर्छ, परियोजनाको प्राथमिकीकरण हुनुपर्छ, हावाका योजना कार्यान्वयन हुन नसक्ने पुष्टि भइसकेको छ', उनले भने।

त्रिभुवन विमानस्थलको विकल्पमा बाराको निजगढ विमानस्थल निर्माणमा ढिलाइ भइरहेको नेता नेपालले बताए। नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक अवस्थाको सुधारका लागि निजगढ विमानस्थलको आवश्यकता रहेको उनले उल्लेख गरे। योजनाले परिणाम र लगानीले प्रतिफल दिन नसके त्यसको आवश्यकता नहुने नेता नेपालले बताए।

फराकिलो सोच, भविष्यमा समस्या समाधानको उपाय खोजी गर्ने गरी लगानी गरिनुपर्ने उनको भनाइ थियो। नीति तथा कार्यक्रममा एक वडा एक खेल मैदान निर्माण, कभर्डहललगायत राम्रा कार्यक्रम रहेको नेता नेपालले बताए। देशभरका सबै वडामा एकैपटक स्वीच थिचेर योजना सुरु गर्नेजस्ता काम नगर्न प्रधानमन्त्रीलाई सुझाव दिँदै उनले यस्ता विषयमा सरकारको ध्यान जाने विश्वास व्यक्त गरे।

सडक निर्माण समयमा सुरु नहुने र गुणस्तरीय काम नहुने गरेको, पुल समयमा नबन्ने, पूर्व पश्चिमलगायत राजमार्गमा भएका खाल्डाखुल्डीलगायत समस्या समाधानमा सरकारको ध्यान जानुपर्ने नेता नेपालको भनाइ थियो। नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने, कुनै विषय पढ्न नपाएर विदेश जानुपर्ने अवरोध हटाउन र त्यसभित्रको मिलेमतो तोड्नुपर्ने उनको भनाइ थियो।

उत्पादन बढाउन नसके रोजगारी बढाउन नसकिने र आत्मनिर्भर पनि नभइने उल्लेख गर्दै नेता नेपालले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए। विश्व अर्थतन्त्र ठूलो सङ्कटमा रहेकाले त्यस अनुरुप काम गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए। सहकारीमा आएका समस्या समाधानमा पनि सरकारले ध्यान दिनुपर्ने नेता नेपालको भनाइ थियो।

रकमको वितरण विकास र जनताका लागि हुने गरी नीति र बजेट व्यवस्थित हुनुपर्ने उनको विचार थियो। नीति तथा कार्यक्रमले केही गर्न नसक्ने भनी आएका हावादारी टिप्पणीका पछि नलाग्न नेता नेपालले आग्रह गरे।

प्रकाशित मिति: : 2023-05-22 13:06:00

प्रतिकृया दिनुहोस्