उच्च तहमा पुगेका ३ महिला प्रहरी, जसले इतिहास रचे

नेपाल प्रहरीको इतिहासमा पहिलो पटक तीन महिला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) भएका छन्। त्यसो त ३०औं प्रहरी महानिरीक्षक नियुक्तिमा महिला प्रहरी एआइजी किरण बज्रचार्य पनि प्रतिस्पर्धामा थिइन्।

बज्रचार्य नेपाल प्रहरीको इतिहासमा पहिलो पटक महिला प्रहरी आइजीको प्रतिस्पर्धामा पुगेकी हुन्। उनलाई सरकारले आइजीमा नियुक्त भने गरेन। तर, प्रहरीको उच्च पदमा भने पुग्न सफल भइन्।

फौजी संगठनमा महिलाको सहभागीता बढ्दै गएको छ। त्यती मात्र होइन उच्च पद तथा नेतृत्वदायी भूमिकामा पुग्ने महिला प्रहरीकाे संख्यामा पनि वृद्धि हुँदै गएकाे छ। अहिले नेपाल प्रहरीका महत्वपूर्ण विभाग, व्युरो, प्रदेश तथा जिल्लाकाे पनि महिला प्रहरीले नेतृत्व गरिरहेका छन्।

एआइजी किरण बज्रचार्य पहिलो पटक आइजीको प्रतिस्पर्धी मात्र बनिनन्। नेपाल प्रहरीको महत्वपूर्ण विभाग हाँक्ने प्रहरी अफिसरसमेत बनेकी छिन्। २०५१ चैतमा प्रहरी संगठनमा प्रवेश गरेकी बज्रचार्यले जिल्ला, परिसर, इन्टरपोल, प्रदेश र व्युरोको समेत कमाण्ड गरेकी छिन्।

एआइजी किरणले केही दिनअघि मात्र नेपाल प्रहरीको गहन र गम्भीर प्रकृतिको अपराध अनुसन्धान गर्ने व्युरो केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को नेतृत्व गर्न पाएकी छिन्। उनको लागि यो अवसर र चुनौती दुबै रहने छ। उनी सिआइबीको नेतृत्व गर्ने पहिलो महिला प्रहरीसमेत बनेकी छिन्। यसअघि उनले सिआइबीमा नै कार्यरत हुँदा उत्कृष्ट कार्य गरे बाफत अन्तराष्ट्रिय अवार्डसमेत प्राप्त गरेकी थिइन्।

२०७७ मंसिर ७ गतेबाट लागु हुने गरी ३३ जना एसएसपीको सरुवा गरिँदा किरणले ललितपुरको कमाण्ड सम्हाल्ने मौका पाएकी थिइन्। त्यहाँ उनी खरो रुपमा उत्रिइन् पनि। त्यस्तै, बागमती प्रदेश प्रहरी प्रमुख भएर पनि उनले जिम्मेवारी बहन गरेकी थिइन्।

प्रहरीको ६५ वर्षे इतिहासमा पार्वती थापा र विमला थापा डिआइजीसम्म मात्र पुगेका थिए। त्यसपछि केही समय नेपाल प्रहरीमा प्राविधिकबाहेक महिला डिआइजी भएनन्। २०७८ मा पूजा सिंह डिआइजी भएकी थिइन्। डिआइजी भएपछि उनी वाग्मती प्रदेश प्रहरी प्रमुख भएकी थिइन्। त्यसपछि उनी २०७९ जेठमा एआइजी भइन्। त्यसैगरी उनी २०७९ को फागुन ७ गते अवकास पाइन्।

नेपाल प्रहरीको प्राविधिकतर्फ पनि एक महिला एआइजी रहेकी छन्। उनले अहिले नेपाल प्रहरीको प्रहरी अस्पतालको नेतृत्व गरिरहेकी छिन्। प्रहरी अस्पतालको प्रमुखमा एआइजी डाक्टर आशा सिंह छिन्।

त्यस्तै शुक्रबार मात्र सरकारले डिआइजी मिरा चौधरीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ। योसँगै नेपाल प्रहरीमा तीन जना महिला एआइजी भएका छन्। यो नेपाल प्रहरीको इतिहासमा पहिलो पटक हो। मिरा चौधरी यसअघि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख थिइन्। मिरा र किरण एउटै ब्याजी हुन्।

त्यस्तै किरण र मिरासँगै प्रहरी संगठनमा प्रवेश गरेका डिआइजी दुर्गा सिंह र किरण राना पनि रहेका छन्। राना अहिले लुम्बिनी प्रदेश प्रमुख रहेकी छिन्। एकै समयमा प्रहरी सेवामा प्रवेश गरेका चार जना महिला प्रहरी सर्वोच्च पदमा पुगेका हुन्।

त्यस्तै प्राविधिकतर्फ एसएसपी देउती गुरुङले पनि इन्चार्जको जिम्मेवारी सम्हालिरहेकी छिन्। उनी केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगञ्जको इन्चार्ज हुन्।

प्रहरीमा महिला प्रहरी जवान सबैभन्दा धेरै छन्। त्यसो त प्रहरी संगठनमा सबैभन्दा धेरै संख्या भएको पद पनि जवान नै हो। ५ हजार ६ सय ३० जना महिला प्रहरी जवान छन्। जबकि कुल पुरुष प्रहरीको संख्या ३७ हजार ८ सय ४९ रहेको छ। नेपाल प्रहरीभित्र ६८ जना एसएसपी रहेका छन्। जसमा महिला एसएसपीको संख्या ७ रहेको छ। प्रतिशतमा हेर्दा यो १० प्रतिशत हाराहारी हो।

एसपी दर्जामा रहेका प्रहरीभित्र कार्यरत महिला प्रहरीको संख्या ८ रहेको छ। अहिले देशभर एसपीको संख्या १ सय ६२ रहेको छ। कुल एसपीको संख्या हेर्दा महिला प्रहरी एसपीको प्रतिशत करिब ५ प्रतिशत मात्र हो। ४ सय ४१ जना डिएसपी छन्, नेपाल प्रहरीमा तर महिला डिएसपीको संख्या २८ रहेको छ।

प्रकाशित मिति: : 2023-04-09 18:20:00

प्रतिकृया दिनुहोस्