छरुवा प्रविधि मार्फत धान खेती गरिँदै

File Photo
File Photo

धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षणखेती गरिएको छ।

कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्थानमा ‘ड्रम सिडर’ मेसिनको प्रयोग गरी छरुवा प्रविधिबाट धानबालीको परीक्षण खेती थालेको हो।

गौरादह गाउँपालिका दुई र कमल गाउँपालिकाको एक स्थानमा परीक्षण खेती गरिएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए।

'धान उत्पादनमा केही भए पनि लागत घटाउने उद्देश्यले प्रविधिको प्रयोग गरेर परीक्षण खेती सुरु गरेका छौँ', उनले भने, 'परिणाम कस्तो आउँछ ? त्यो हेर्न बाँकी छ।'

अहिलेकै अवस्था हुने हो भने कृषकले धानखेती गर्न छाड्ने उनको भनाइ छ। उत्पादनमा उच्च लगानी र मूल्य नपाउँदा  किसानले आफूले खाने मात्र धान उत्पादन गर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।

छरुवा धान खेतीको प्रविधिबाट किसानको ब्याड बनाउने, बीउ उखेल्ने र रोप्ने खर्च बच्ने जनाइएको छ। यो प्रविधिबाट खेत हिल्याएर ‘ड्रम सिडर’ मेसिनको प्रयोगबाट सोझै धान छर्न सकिने प्रमुख विष्टले बताए। अहिले परीक्षण खेतीमा धान उम्रिसकेको जनाइएको छ।

प्रकाशित मिति: : 2023-03-06 15:18:00

प्रतिकृया दिनुहोस्