पूर्वशिक्षकद्वारा आर्थिक सहयोग

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्वशिक्षकले रु दुई लाख बढी आर्थिक सहयोग गरेका छन्।

अन्नपूर्ण –३ दानाका गङ्गाबहादुर पुर्जा र उहाँकी श्रीमती योमाया पुर्जाले रु एक लाख ५१ हजार एक सय पाँच सहयोग गरेका हुन्। यसअघि रु एक लाख सहयोग गरेका हाल बेलायतमा बसोबास गर्नुहुने गङ्गाबहादुरका भाई कमलबहादुर पुर्जा र उनकी श्रीमती शान्ति पुर्जाले थप रु ५० हजार उपलब्ध गराएका हुन्। 

बिदा मनाउने क्रममा नेपाल आउनुभएका पुर्जा परिवारले काभ्रेमा पुगेर विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकलाई नगद हस्तान्तरण गरेका थिए। पुर्जा दाजुभाईले बेलायती सेनामा भर्ती हुनुअघि मुस्ताङको सिमानामा रहेको सो विद्यालयमा अध्यापन गराएका थिए। पचास विद्यार्थी अध्ययनरत विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि सहयोग रकम परिचालन गरिने विद्यालयले जनाएको छ। 

शारीरिक रुपमा अपाङ्गता भएका पुर्जाले यसअघि पनि बेलायत सरकारले पेन्सन वापत दिने तलब वापतको रकम जिल्लाका विभिन्न विद्यालयलाई उपलब्ध गराएका छन्। सन् १९८९ मा गोर्खा सैनिकमा भर्ति भएका पुर्जा सन् २००६ मा सेवा निवृत्त भएका थिए।

सैनिक सेवामा प्रवेश गरेको तीन वर्षमै ढाडमा समस्या देखिएपछि उनी अहिलेपनि वैशाखीको साहराले हिँड्डुल गर्छन्। 

उनले प्रवासी नेपालीलाई  सहयोग गर्ने उद्देश्यले मद्दत समूह नामक संस्था पनि स्थापना गरेका छन्। शारीरिक रुपमा अशक्त भए पनि पुर्जाले दुःखमा परेका नेपालीलाई बेलायतमा सहयोग जुटाउन सक्रिय भूमिका निभाउँदै आएका छन्।  सो समूहलाई बेलायत सरकारले ‘क्वीन अवार्ड’ समेत प्रदान गरेको जनाइएको छ।

प्रकाशित मिति: : 2023-03-05 09:48:00

प्रतिकृया दिनुहोस्