नगद मार्जिन र प्रतिबन्ध हटेपछि पनि १९ प्रतिशतले घट्यो आयात, व्यापार घाटा भने १० खर्बको

File Photo
File Photo

नगद मार्जिन र प्रतिबन्ध हटेपछि पनि नेपालले गर्ने आयात भने १९ प्रतिशतले घटेको छ। सरकारले वैशाखदेखि लगाएको आयात प्रतिबन्ध पुसदेखि हटाएको थियाे। यो समयमा नेपाल राष्ट्र बैंकले लगाएको १५० प्रतिशतसम्मको नगद मर्जिन पनि हटाएको छ।

तर आयात भने गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा आयात १९.९० प्रतिशतले घटेको छ। सरकारले उच्च आयातका कारण तरलता अभाव भएको भन्दै आयातमा कडाइ गरेको थियो। जसले गर्दा गत वर्षको तुलनामा यो वर्ष आयात घटेको हो।

चालु आर्थिक वर्षको ७ महिनामा आयातसँगै निर्यात पनि घटेको छ। नेपालले गत वर्षको ७ महिनाको अवधिमा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो। तर, यो वर्षको सोही अवधिमा नेपालले ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ। जुन २९.०३ प्रतिशतले कम हो।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले गत वर्षको सोही अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँको वस्तु आयात गरेको थियो।

नेपालले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ। गत वर्ष नेपालले सोही अवधिमा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो।

 ७ महिनाको अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत वर्षको सोही अवधिमा नेपालले १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको भन्सार विभागले गत बुधबार जारी गरेको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: : 2023-02-28 11:46:00

प्रतिकृया दिनुहोस्