स्कुल फटाउने राजनीति

BreaknLinks
BreaknLinks

प्रश्न : कहाँ जान लागकाे? 
उत्तर : स्कुल।
पश्न : तिम्राे स्कुल याे हाेइन र? किन माथितिर जान लागेकाे? 
उत्तर : याे हाम्राे स्कुल हाेइन। याे त एमालेकाे स्कुल हाे। हाम्राे स्कुल माथि छ। 

छाेराकाे याे उत्तरसँगै आमाले केही वाक्य थपिन्, 'हामी मजदुर(नेमकिपा) काे स्कुल हप्र (माथि) छ। याे एमालेकाे स्कुल हाे। न्या पढेपछि हाम्म छाेराछाेरीकन फइल(फेल) गद्दिन्छुन्। त्यै भएर माथि जान्छन्, यिनीहरु।'

०००

याे दृश्य काल्पनिक हाेइन। आठ वर्षअघि सिंजा गाउँपालिका वडा नं ६, तत्कालीन शनिगाउँ गाविसकाे भाडगाउँमा देखिएकाे यथार्थ दृश्य हाे। लामाे समयदेखि जाेडु र भाडगाउँकाे वनकाे विषयमा झगडा थियाे। यसले बेलाबेलामा अरु विषयमा पनि टकराव गराइरहन्थ्याे। दुई गाउँकाे स्कुल एउटै थियाे, 'प्रावि जाेडु।' स्कुलकाे नाम फेरेर 'जाेडु-भाडगाउँ प्रावि' राख्न भाडगाउँले प्रस्ताव गरेकाे थियाे। सहमति गरेर निर्णय मन्त्रालय पठाइएको भएपनि नाम फेरिएकाे थिएन।

द्वन्द्वकालमा डिएफआइडीले भाडगाउँमा एउटा नयाँ विद्यालय भवन बनायाे। पछि भाडगाउँले त्यसैलाई आफ्नाे नजिककाे पायक पर्ने विद्यालयकाे रुपमा लियाे। जाेडुसँगकाे जाेडी खाेज्ने मेसाे पनि मिल्यो। त्यही बीचमा जिल्ला शिक्षा कार्यालयबाट भाडगाउँकाे विद्यालयमा लगानी भयाे। त्यसबेला शिक्षा कार्यालयमा एमाले समर्थक कर्मचारी बढी थिए भने भाडगाउँमा एमाले कार्यकर्ता बढी।

शिक्षा कार्यालयकाे आड पाएपछि लामाे समयअघि वनकाे विषयमा भएकाे दुई गाउँकाे झगडाले राजनीतिक रुप लियाे। राजनीति घुसेपछि झगडा गाउँगाउँकाे नभएर पार्टी-पार्टीको भयाे। त्यसपछि गाउँले चलाउँदै आएकाे अर्म-पर्म, अैंचाे-पैंचाे, बिहेबारी, सबैमा राजनीति पस्याे। पानी बारारबराकाे स्थिति बन्याे। यतिसम्म कि फरक पार्टी समर्थककाे घरमा बिहे गरेकी छाेरी माइत आउन समेत गाह्राे भयाे। यसकाे प्रभाव सबैभन्दा बढी स्कुलमै पर्‍याे।

एमाले र नेमकिपाकाे बाहुल्यता रहेका ती दुई गाउँका दुई स्कुलमा भाडगाउँकाे स्कुल एमाले र जाेडुकाे स्कुल नेमकिपाकाे भनि चनियाे। त्यसपछि जाेडुका एमाले कार्यकर्ताका छाेराछाेरी भाडगाउँकाे स्कुलमा अनि भाडगाउँका नेमकिपा कार्यकर्ताका छाेराछाेरी जाेडुमा पढ्न जानैपर्ने बाध्यात्मक परिस्थिति आइलाग्याे।

स्कुल आ-आफ्ना पार्टीका, विद्यार्थी र शिक्षकसमेत आ-आफ्ना पार्टीका बनाउन दुबै पार्टीका जिल्ला स्तरका शिक्षक नेताहरु समेत सक्रिय रहे। दुई मिनेटमा पुगिने स्कुल छाेडेर २५ मिनेटकाे उकालाेमा गर्ह्राैं भारी बाेकेर हिँड्नु परेकाे थियाे, विद्यार्थीले।

जाेडुकाे विद्यालय मावि भएकाे पनि धेरै भैसक्याे। भाडगाउँकाे विद्यालयमा आधारभूत तहकाे पढाइ हुन्छ। निमावि तहकाे पढाइ सकाउने विद्यार्थीहरु मावि पढ्न २५ मिनेट हिँडेर जाेडु जान छाेडी डेड घण्टाकाे बाटाे हिँडेर फुँग्र पुग्छन्।

०००

साेही गाविसकाे गाेराँ गाउँमा, त्यस्तै १० मिनेटको दुरीमा दुईवटा स्कुल छन्। कालिका निमावि र मन प्रावि। यी दुई स्कुलकाे कथा अलि फरक भएपनि परिणाम उस्तै हाे। ३०३२ सालमा स्थापना भएकाे कालिका प्राविमा २०६६ सालसम्म पनि ठकुरीबाहेक अरु व्यवस्थापन समितिकाे अध्यक्ष हुन नपाएपछि त्यहाँका रावल, रावत र दलितहरु मिलेर विद्राेह गरे। परिणाम अर्काे स्कुलकाे जन्म भयाे, मन प्रावि। कालिका निमाविमा मास्टरदेखि विद्यार्थीसम्म ठकुरी छन् भने मन प्राविमा तीबाहेक सबै।

०००

यी समस्या गाउँमा मात्र हाेइन, सदरमुकाममा पनि छन्। सरकारी स्कुलमा मात्र हाेइन, निजी पनि छन्। फलानाे स्कुल एमालेकाे, फलानाे माओवादीकाे र फलानाे काँग्रेसकाे भनी प्रष्टै चिनिने मात्र हाेइन, प्रचार गर्ने र आफ्ना पार्टी कार्यकर्ताका छाेराछाेरी सकेसम्म आफ्नै स्कुलमा पढाउन लगाउने भइरहेकाे छ।

स्कुलमा एमाले, काँग्रेस, माओवादी वा नेमकिपाकाे मात्र हाेइन, पार्टीका गुटसम्मकाे प्रभाव छ। मानाैं कुनै स्कुल एमालेकाे छ भने त्याे एमालेकाे भनेर मात्र चिनिएकाे छैन, त्यसमा 'नेपाल' वा 'ओली' गुट मध्ये फालानाेकाे सम्म भन्ने गरिन्छ।

यिनै चाँङमा थपिएकाे अर्काे विद्यालय हाे, हिमा गाउँपालिका-५ रुपाकाेट आधारभूत विद्यालय, बाँझागाड। विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा जुम्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका छन्। एउटा विद्यालय हाल आएर दुई भएकाे छ। एउटा काँग्रेसकाे विद्यालय, अर्काे नेकपाकाे।

विद्यार्थी कित्ताकाट गरिएकाे छ। विद्यालयमा रहेका एक सय छयासी विद्यार्थीमा ९१ नेकपाका र ९५ काँग्रेसका छन्। भवन फरक छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भने काँग्रेस र नेकपाका अलगअलक छन्। तर, शिक्षकहरु साझा छन्। उनीहरुलाई दुबैतिर नपढाई सुखै छैन। हेडमास्टर्नीलाई हैरान छ।

आ.व २०७३/०७४ मा जिल्ला शिक्षा कार्यालयले विद्यालय भवन निर्माणका १९ लाख बजेट विनियाेजन गरेकाे थियाे। यसरी बजेट आउने भएपछि भवन निर्माणकाे लागि उपभोक्ता समिति गठन भएको थियो। उपभोक्ता समितिको नेतृत्वमा तत्कालीन एमालेनिकट थिए।

शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका अनुसार स्कुल उपभोक्ता समितिले नयाँ भवनका लागि जग्गा नमिलेपछि अर्काे ठाउँमा जग्गा व्यवस्थापन गर्‍याे। जिशिकाले बजेट निकासा विद्यालय व्यवस्थापन समितिले परिचालन गर्ने गरी विद्यालयको खातामा  गर्‍याे। व्यवस्थापन समितिको नेतृत्वमा काँग्रेस निकट व्यक्ति थिए। बजेट निकासा विद्यालयकाे नाममा भएपछि उपभाेक्ता समितिले आपत्ति जनायाे।

स्थानीय तहको निर्वाचनमा पछि हेमा गाउँपालिकामा माओवादी निकट प्रतिनिधि निर्वाचित भए। पछि एमाले र माओवादी मिलेर नेकपा भयाे। गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा फेरि नयाँ भवन निर्माणका लागि २९ लाख विनियोजन गर्‍यो। पछिल्लाे रकम भने उपभोक्ता समितिकाे खातामा आयाे । उपभोक्ता समितिको अध्यक्ष नेकपानिकट थिए। यो बजेटले नेकपा पक्षधरले विद्यालयको पुरानै भवन भएको ठाउँमा नयाँ भवन बनायो। यसले विवाद झन् ठुलाे भयाे। विद्यालयमा भुसकाे आगाे त्यहीँबाट लागेकाे थियाे।

यसरी शृंखलाबद्ध रुपमा विद्यालयमा भएकाे राजनीतिका कारण एकपछि अर्काे गरी सतहमा आइरहेका घटनाक्रमले विगत केलाउन भनिरहेका छन्। हामीले पञ्चायती व्यवस्था फालेर नयाँ व्यवस्था ल्याएका हाैं। पञ्चायत हामीले नचाहेर फालेकाे हाे। राजतन्त्र ठिक नभएर फालेकाे हाे। तर, हामी अनुकुल नभएका पञ्चायत र राजतन्त्रले हाम्रा लागि एउटा ठुलाे गुन लगाएर गएका छन्। त्याे हाे जुम्लाका प्रत्येक गाउँमा कम्तिमा एउटा प्राथमिक विद्यालय। ती स्कुल खाेल्नमा गाउँलेहरुकाे पनि ठुलाे भूमिका छ।

यति ठुलाे भुमिका कि हामी त्यसलाई वर्णन गर्नै सक्दैनौं। त्यसबेलाका गाउँलेहरुले विद्यालय भनेकाे भव्य संरचना हुनुपर्छ भन्ने ठाने। गाउँकै 'ए वान' विद्यालय हुनुपर्ने माने। त्यसैले विद्यालय संरचना गाउँकै सबैभन्दा उत्कृष्ट बनाए। गाउँमा सबैका घर कच्चि, माटाेका छाना भएका, चुहिने हुँदा पनि विद्यालयकाे छानाे टिनकाे हाले। त्यसबेला गाउँमा कसैका घर विद्यालयभन्दा राम्रा थिएनन्।

सदरमुकाम काेसाैं टाढा भएपनि बाेकेर गाउँलेहरुले स्कुलका छाना टिनले छाए। जग्गा हुनेले जग्गा दान गरे, नहुनेले श्रम दान। विद्यालयबाट कसैले नाफाकाे आश गरेन। सबैकाे मेल थियाे। विद्यालयले ज्ञानकाे दैलाे उघारेकाे थियाे। बेमेलमा पनि मेल खाेज्ने उदेश्य राखेकाे थियाे। तर आज सब उल्टाे भएकाे छ। विभाजनका बडेमान खाडल सृजना गरिएका छन्। अदृश्य रुपमा बर्लिन पर्खाल खडा गरिएकाे छ।

दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत सेनाले अधिनमा लिएको जर्मनीको पूर्वी भागलाई अक्टोबर १९४९ मा जनवादी गणतन्त्र जर्मनी बनायो र रुसी मोडलको समाजवादी शासन स्थापना गर्‍याे भने पश्चिम जर्मनीमा अमेरिका, बेलायत र फ्रान्सले आफ्नाे माेडेलकाे पुँजीवादी प्रजातान्त्रिक शासन स्थापना गरे। पूर्वी जर्मनको तुलनामा पश्चिम जर्मनीको विकासको बेग तीव्र थियो। याे देखेर पूर्वी जर्मनहरुकाे पश्चिमतिरकाे आकर्षण बढिरहेकाे थियाे।

समाजवादी शासन सुरु भएकाे चार वर्षमा झण्डै १० लाख पूर्वी जर्मनहरू पश्चिमतर्फ भागे। आठ वर्षमा झन्डै ३५ लाख मानिस पूर्वी जर्मनीबाट भागेर पश्चिम जर्मनी पुगे। आफ्ना जनतालाई रोक्न सोभियत संघको सहयोगमा पूर्व जर्मन सरकारले सन् १९६१ मा रातारात बर्लिन पर्खाल बनायो। २८ वर्षसम्म यो पर्खालले बर्लिन सहरलाई विभाजन गर्‍यो। यो अवधिमा पर्खाल नाघेर पश्चिम बर्लिन जान खोज्ने झन्डै एक हजार मानिस मारिए। हजारौं पक्राउ परे।

समाजवादीहरुले यसलाई  फाँसीवादविरुद्धको सुरक्षा कवच भने पश्चिमले लाजको पर्खाल नाम दियो। अन्तत: सन् १९९० को अक्टुबर ३ का दिन दुबै देशबीच एकीकरण भएको घोषणा गरियो। आज एकीकरणकाे ३३ वर्ष पुगिसकेको छ। याे अवधिमा पनि न पूर्वी भागमा बस्नेहरुले आफूहरु एकै देशका नागरिक हौँ भन्ने सोच्न सके, न त पश्चिमीहरुले उनीहरुलाई सगोत्री सम्झेर आत्मसात् गर्न सकेका छन्।

हामीलाई पनि गाउँमा राजनीतिक पार्टीले यसरी नै बाँडेका छन्। कुनै अमुक दलकाे भक्त बन्न बाध्य तुल्याएका छन्। दलप्रति बफादार हनु सिकाएका छन्। हाम्राे स्वतन्त्र चिन्तन, आलोचनात्मक चेत, सिर्जनशील शक्ति सबै भुत्ते हुँदैछ। हामी केबल कुनै अमूक पार्टीको प्रचारक, भाट र हनुमानबाहेक केही हुन सकेका छैनौं।

जसले हनुमानगिरी गर्छ, हस् हजुरमा अरुलाई उछिन्छ, बफादारीमा सिपालु छ, त्यसलाई सामान्य रोजगारका लागि, व्यापार व्यवसाय र प्रतिष्ठाका लागि कुनै समस्या छैन। यसकारण हामी विभाजनका जुस्तासुकै बडेबडे पर्खाल लगाउन तयार छाैं। यतिमात्र हाेइन अब बच्चा नजन्मदै कि त काँग्रेस कि कम्युनिष्ट बनाउँदैछाैं। विद्यालयमा पढिरहेका बालबालिकालाई समेत त्यसरी नै तयार गरिरहेका छाैं।

दलीयकरणले शिक्षा क्षेत्रमा खडा गरेका अदृश्य पर्खाल कसरी ढाल्ने हाे? विभाजनको घाउमा खाटो बस्न अझ कति समय लाग्ने हो? दलीयकरणको दलदलमा फसिरहेकाे हाम्राे समाजलाई उम्काउने कसरी हाे? अझ कति मान्छेहरु यसमा पिल्सिरहने हुन, थाहा छैन। हामी मिलाउन सफल भैहाले पनि चुँडिएको धागो जोड्दा गाँठाे परेकाे जस्तै हुनेछ, हाम्राे सम्बन्ध। न आत्मिएता रहनेछ, न सदासयता रहनेछ, न त सहृदयता नै। 

प्रकाशित मिति: : 2023-02-18 19:48:00

प्रतिकृया दिनुहोस्