घरको बरन्डामा एक्लै टोलाइरहेकी ४३ वर्षीया तिडा विनका आँखा रसाइरहेका छन्। घरछेउको विद्यालयमा बालबालिकाहरू चिच्याइरहेकाे आवाज सुन्दा उनी रुन्छिन्। विद्यालय हिँडिरहेका अरु कसैका सन्तानहरू देख्दा भक्कानिन्छन्, उनी।
विन द्वन्द्वग्रस्त म्यान्मारकी सबैभन्दा दुःखी आमा हुन्, जसले तीन हप्ताअघि आफ्ना दुई सन्तान गुमाइन्। सत्तासीन सेनाले हवाई आक्रमण गर्दा छोराछोरीहरू विद्यालयमै मारिए। उनी घरमा एक्लै छिन्। एक्लै बस्छिन्। श्रीमान चार वर्षदेखि मलेसियामा छन्।
विनका सात वर्षीय छोरा र पाँच वर्षीया छोरीसहित ६ बालबालिकाको म्यान्मार सेनाले सोमबार (जनवरी) हत्या गर्याे। दिउँसो विद्यालयमा पढाइ भइरहेको थियो। त्योबेला एमआई–३५ सैन्य हेलिकप्टरले सशस्त्र विद्राेही समूहकाे सैन्य अड्डादेखि विद्यालयसम्म हवाई आक्रमण गर्याे।
विद्यालयमा लडाकुहरू थिएनन्। त्यहाँ शिक्षक, कर्मचारी र पढिरहेका नानीबाबुहरू थिए। उनीहरू एकाएक चिच्याए। सेनाले विद्यालयमा बम बर्साइरह्यो। विद्यालयमा भागदौड मच्चियो। क्षणभरमै गाउँमा सन्नाटा छायो।
विन घरभन्दा १५० मिटर छेउको विद्यालयमा अत्तालिँदै दौडिइन्। तर शिक्षक र नानीबाबुहरू रगताम्मे अवस्थामा फेला पारिन्। आफ्ना दुई सन्तान सँगसँगै भूइँमा लडिरहेको देखिन्। उनी बेहोस् भइन्।
‘मलाई मेरो छोराछोरीको याद आउँछ। उनीहरू निकै चतुर थिए। स्कूल जान रुचाउँथे,’ तिडा विनले आँसु खसाल्दै भनिन्। सेनाले हवाई आक्रमण गर्दा ४३ वर्षीया विन घरको काम गर्दै थिइन्। छोराछोरीले आँखा चिम्लिनुअघि एक शब्द पनि बोल्न पाइनन्। उनी क्रूर सेनाको नरसंहार आफ्नै आँखाले देखेर बाँच्ने पहिलो आमा हुन्।
म्यान्मार सेनाले गरेको हवाई आक्रमणबाट २ शिक्षक र ६ अबोध नानीबाबुले अकालमै ज्यान गुमाए। हत्या गरिएका बालबालिकाहरू स्वतन्त्र नागरिकका सन्तान हुन्। तर क्रूर सेनाले विद्यालयमै आक्रमण गरेर उनीहरूको ज्यान लियो। ‘म सधैं पछुताउँछु। मैले छोराछोरीलाई बचाउन सकिनँ। त्यो दिन मेरा सन्तानलाई स्कूल नपठाएको भए, मैले उनीहरूलाई बचाउन सक्थें,’ तिडा विनले भनिन्।
म्यान्मारको क्रूर सेनाले गत जनवरीमा १० बालबालिकाको हत्या गरेको छ। गृहयुद्ध चलिरहेको म्यान्मारमा उनीहरू सुरक्षित छैनन्। बालबालिकाहरू विद्यालय जाँदै गर्दा मारिन्छन्। बाटोमा खेल्दा–खेल्दै मारिन्छन्। उनीहरू पढ्दा–पढ्दै मारिन्छन्। क्रूर सेनाले छानीछानी विद्यालयमा हवाइ आक्रमण गर्दै आएको छ।
नानीबाबुहरूलाई सेनाले शारीरिक र मानसिक तनाब दिइरहेकाे छ। कया स्टेट, छिन् स्टेटका नानीबाबुहरू जंगलमा लुकेर बस्छन्। खालडोमुनि शिक्षा लिन्छन्। हवाई जहाजको आवाज सुनेपछि कापी–कलम छाडेर ज्यान बचाउन खाल्डोतिर कुद्छन्।
सैन्य कूयता युवायुवती र बालबालिकाहरूकाे सामाजिक जीवन थप बिग्रँदै गएकाे कचिन स्वतन्त्र सेना, गाेर्खा बटालियनमा कार्यरत नेपालीभाषी अनिताले बताएकी छन्। ‘दुई वर्षदेखि जारी भीषण लडाइँ देशभरि चर्किएकाे छ। नानीबाबुहरू सबैभन्दा पीडामा छन्। पिच्छे उनीहरू स्कूल जान डराइरहेका छन्। उनीहरूकाे हत्या भइरहेकाे छ,’ उनले भनिन्, ‘हामीहरू युद्ध–मैदानमै छाैँ। एकदिन केआईएले क्रूर सेनाकाे शासन अन्त्य गर्नेछ।’
म्यान्मारमा ४३ वर्षीया विनजस्ता कैयौँ आमाहरू छन्, जसले दिनदिनै आफ्ना सन्तानहरू गुमाइरहेका छन्। म्यान्मारको सेनाले सत्ता कब्जा गरेपछि ४ सय ९० बालबालिकाको हत्या गरेको एएपीपी बर्माले जनाएको छ।
नानीबाबुहरू द्वन्द्वको चपेटामा छन्। उनीहरूले हिंसाबाहेक कुपोषण, स्वच्छ पानी, स्वास्थ्य सेवा र शिक्षामा सीमित पहुँचको सामना गर्दैआएका छन्। म्यान्मारको राष्ट्रिय एकता सरकारको शिक्षा विभागले ६६ लाखभन्दा बढी बालबालिकाहरूलाई तत्काल मानवीय सहायताको खाँचो रहेको जनाएको छ।
म्यान्मारमा सेनाविरूद्धकाे प्रदर्शन जारी छ। तर निर्दयी सेनाले शान्तिपूर्ण आन्दाेलन दबाइरहेको छ। प्रजातन्त्र खाेज्दै हिँडिरहेका स्वतन्त्र नागरिकमाथि क्रूर सेनाले दुःख थपिरहेकाे छ। बर्मेली नागरिकले सैन्य आतंक थेगेकाे दुईवर्ष पुग्यो। वर्षौदेखि स्वायत्तताका लागि लडिरहेका जातीय सशस्त्र समूह पनि युद्ध–मैदानमै छन्। म्यान्मारको क्रूर सेनाले नागरिकमाथि बल प्रयोग गर्दैआएको छ।