गएको निर्वाचन र त्यसको परिणामपश्चात भएको अप्रत्याशित सत्ता गठबन्धन निर्माणले यतिबेला राजनीतिमा कसले जित्यो र कसले हार्यो भन्ने एउटा नयाँ बहस सुरु भएको छ।
यसअघि गठबन्धन गरेर नयाँ सरकार बन्दै गर्दा निर्वाचन पूर्व वर्षौं जान्छ भनेर तिनै नेताहरुले भनेको गठबन्धनको ठाउँमा सात दलीय गठबन्धन बनाउन तिनै नेताहरु दौडिएको विरुप दृष्य एकातर्फ थियो। अर्कोतर्फ आफ्नो सत्ता ढालेर बनेको अनि निर्वाचन पूर्व कायम रहेको तत्कालीन सत्ता गठबन्धनलाई ठगबन्धन भन्ने एमाले (जसलाई म चाहिँ एमालेको आत्मासमेत मारेर बनेको बामाले भन्छु) त्यस गठबन्धनलाई भत्काउने सर्तमा जोसुकै प्रधानमन्त्री भएको सरकार निर्माण गर्न तयार भएर खेलमा थियो। ती दुवैको बीचमा थिए ती दलहरु, जो आफूलाई विद्यमान दल र नेताहरुको प्रतिस्थापक ठहर गर्दै भएका दल तथा नेताहरुलाई गाली गर्दै चुनाव लडेर जितेका थिए। तर अन्तरमनमा चाहिँ जोसुकैसंग मिलेर पनि सत्तामा जान आतुर थिए।
समग्रमा भन्दा चुनावबाट जितेका अधिकांश दल, तिनका नेता र सांसदहरुको एक मात्रै ध्यान सत्तामा पुग्नु नै थियो। कोही कसैलाई पनि देश र जनताको चिन्ता थिएन। न त उनीहरुमध्ये कसैलाई आफ्नो चुनावी घोषणापत्रको सम्झना थियो, न आफ्ना चुनावी भाषण र त्यस दौरानका अभिव्यक्त भावनाहरु नै उनीहरुको निम्ति स्मरणीय थियो।
तत्कालीन सत्ता गठबन्धनको नेतृत्व गरेको काँग्रेस होस् वा अहिलेको गठबन्धनको नेतृत्वकर्ता एमाले नामको ‘बामाले’ होस् दुवै आ-आफ्नै हिसाबले सत्ताको हर्ताकर्ता हुन लागेकै थिए। काँग्रेस-एमाले दुवैले एकअर्कासंग सत्ता सहकार्यको निम्ति संवाद नगरेका पनि हाेइनन्, उनीहरुले त्यो गरेकै थिए। तर दुवैलाई थाहा थियो कि समान हैसियतका उनीहरु मिलेर सत्ता निर्माण गर्दा त्यसमा हालीमुहाली अलिक साँघुरो हुन्छ। त्यसैले उनीहरु एकै ठाउँमा आउन सकेनन्। जसको फाइदा माओवादीले लियो।
दुखका साथ भए पनि लेख्दा सत्य त लेख्नै पर्छ। त्यो के भने, जसरी पनि सत्तामा पुग्ने रोगले सकिँदै गएको माओवादी अब उठ्नै सक्ने छैन भन्ने बुझेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसै पटक प्रधानमन्त्री हुनु थियो। त्यसैले उनले नीति, सिद्धान्त, घोषणा जेसुकै होस् ‘मलाई जसले प्रधानमन्त्री दिन्छ, म उसैसंग जान्छु’ भन्ने नीति लिए। जसको पहिचान गर्दै त्यसको सही सदुपयोग सत्ताबाट बाहिरिनु परेकोले रन्थनाइरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले लिए।
भलै कुनै अडान नभएका, जे पनि बोल्ने अनि जे पनि गर्ने केपी ओली र प्रचण्डको मिल्तीले मात्रै त सरकार बन्ने थिएन। तर तिनै प्रचण्डलाई सबैभन्दा बढी गाली गरेर जनताको भोट बटुल्ने रवि लामिछानेको दलदेखि प्रचण्ड नेतृत्वको पार्टी स्थापनादेखि विकाससम्मका प्रक्रियालाई गलत ठहर गर्दै आएको राजेन्द्र लिङ्देनको मण्डले दल अर्थात् राप्रपा पनि सामेल भइहाल्यो सत्ता गठबन्धनमा ! अनि त बन्ने नै भयो सरकार।
विचरा! एकअर्कासंग लडेर हारजित बेहोर्ने उपेन्द्र यादव र सिके राउत पनि मिलेपछि त झन् दरिलो र कसिलो बनिहाल्यो गठबन्धन। यति हुँदै गर्दा आफूलाई भारतको विश्वास पात्र भन्ने अमरेन्द्र सिंहदेखि केपी ओली स्वयमले धोकेवाज भनेको प्रभु शाहसमेत एकै ठाउँ गोलबन्द भए। यति भैसक्दा कुनैबेला असंवैधानिक, अलोकतान्त्रिक काम गरेर सडक, संसददेखि न्यायालयसमेतले गलत ठहर गरी सत्ता विमुख गराएका केपी ओली सत्ताको मियो बने।
गुमेको सत्ता पाएको आधारमा केपी ओलीलाई विजेता अनि पाएको सत्ता गुमेकोले काँग्रेसलाई समग्रमा र विशेष गरेर शेरबहादुर देउवालाई हरुवाको रुपमा चित्रित गरेर प्रचार गरियो। तर के वास्तवमै ओलीले जिते? शेरबहादुर हारे? अथवा केही व्यक्तिको जीत र हारमा देश चाहिँ निरन्तर हारिरहेको छ? यो अहम सवाल हो, जसको उत्तर खोज्नु अनिवार्य छ।
सत्ता गठबन्धन बन्ने र भत्कने कुराको अन्तर्यबारे संक्षिप्त टिप्पणी सुरुमै गरिसकेकोले त्यता चर्चा गर्ने नभई गएको चुनावपछि को जिते वा हारेमै केन्द्रित रहेर आफ्नो विचार प्रस्तुत गर्नेमा केन्द्रित हुनेछु। लोकतन्त्रमा आवधिक निर्वाचन हुन्छ। त्यसबाट कोही जित्छन् अनि कोही हार्छन्। जित्नेहरुले सत्ता सम्हाल्छन् अनि हार्नेहरुले प्रतिपक्ष भूमिका खेल्छन्। आगामी चुनावको विजेता बन्ने कोशिस गर्छन्।
यद्यपि, यो सामान्य र स्वाभाविक लोकतन्त्रमा मात्रै लागु हुन्छ। नेपालमा भन्न लोकतन्त्र भनिए पनि यहाँ आवधिक निर्वाचनले त्यस अवधिको लागि विजयी-पराजयी निर्क्योल गरेको बुझेर सोहीअनुसार चल्ने परम्परा त त्यसै पनि थिएन, अहिलेको निर्वाचानले दिएको खिचडी परिणामले त झन् त्यो दिएकै छैन। त्यसैले यहाँ दलहरुको हिसाबले भन्दा कोही विजयी पनि छैन अनि कोही पराजयी पनि छैन।
कुनै बेला एक सिट निर्णायक बन्न सक्ने संसदको गणितको आधारमा कोही कसैले आफूलाई विजेता ठानेर हौसिएको छ भने पनि त्यो गलत अनि कोही आफूलाई पराजित ठानेर निराश भएको छ भने पनि त्यो गलत। अहिलेकै संसदीय गणितको यथार्थ बुझ्ने हो भने यसले को कति बेला हैन कि जो जतिबेला पनि सत्तापक्ष वा प्रतिपक्ष बन्न सक्छ भन्ने स्पष्ट सन्देश दिएको छ। त्यसैले पनि यो सत्ता गठबन्धनमा पर्नेहरु जिते वा छुट्नेहरु हारे कि भन्ने खालको चर्चा परिचर्चा निरर्थक हुन्। तर यदि यो निर्वाचनपश्चात देश र जनताको हार वा जित के भयो भन्ने हो भने चाहिँ त्यहाँ डरलाग्दो कारणहरुसहित देश र जनताले चिन्ता लाग्दो गरेर हारेका छन्।
अनेकन असंवैधानिक खेल र अलोकतान्त्रिक अभ्यासको शृंखलाबाट संसदलाई जोगाएर सम्भव भएको आवधिक निर्वाचान शान्तिपूर्ण रुपमा सम्पन्न भएर बहुमत पुर्याउन सक्नेहरुको सरकार बनिसक्दा देश र जनता चाहिँ हारे भन्दा कतिपयलाई त्यो अप्रिय लाग्न सक्ने नै भयो भने कतिपयलाई चाहिँ त्यसो किन भनियो होला भन्ने लाग्न सक्ने नै भयो। उक्त निष्कर्षलाई अप्रिय ठान्ने भनेको आफू सत्तामा पुग्दामा नै के के नै भयो भन्नेहरुले मात्र हो।
त्यसैले म त्यता वास्ता गर्दिनँ। तर किन यस्तो भनेको भन्ने इमानदारीपूर्ण कौतुहलतालाई भने सम्बाेधन गर्नैपर्छ। तत्कालीन सत्ता गठबन्धनलाई ढालेर हालको सत्ता गठबन्धन निर्माण गर्ने केपी ओली विजित अनि सत्ता गठबन्धन टिकाउन नसक्ने शेरबहादुर देउवा पराजित भनेर गरिएको दलीय रोइलो रोदन होस् वा रवि लामिछानेदेखि सिके राउतसम्मले के के नै पायौं भने झैं गरेर गर्दै रहेको स्टन्टबाजीबीच नेपाल र नेपालीले चाहिँ कसरी हारे भन्न बुझ्न निम्न तथ्य सत्य काफी छन्:
१. सुरूको गठबन्धन ढालेर यसअघिको गठबन्धनको प्रमुख सूत्राधार रहेका प्रचण्ड अनि त्यसको प्रमुख विरोधी केपी ओली मिलेर नयाँ गठबन्धन बनाइनुले नेपालका नेताहरुको लागि सत्ताभन्दा ठुलो केही छैन र हैन भन्ने सु-स्पष्ट सन्देश दिएको छ।
नीति विधि पद्दति जे सुकै होस्, सत्ता बाँडफाँटमा कुरा मिले मित्र नत्र जानी दुश्मन भन्ने व्यवहारले केपी ओली, प्रचण्ड, देउवा वा अरु कोहीको त क्षणिक बदनामी मात्रै होला तर विश्वास गर्न लायक नेताहरुको अभावमा देशले बेहोर्ने सास्तीको ठुलो मूल्य हुनेछ। त्यसमाथि बोली र व्यवहारमा तादम्यता नहुनु सामान्य हो भन्ने नै सत्तापक्ष अनि प्रतिपक्ष भएपछि तिनले के कस्ता नीति निर्माण गर्लान् र कस्तो अभ्यास गर्लान् भन्ने कुराको अनुमान मात्रैले पनि देश र जनता हार्ने चिन्ताजनक भविष्यको अनुमान गर्न गाह्रो छैन।
२. हालको चुनावले केही मात्रामा प्रमाणित गरेको एउटा अर्को सत्य हो कि हालका ठुला भनिएका दल र तिनका नेताहरुप्रति आम जनतामा चरम वितृष्णा छ। उनीहरुप्रति आक्रोश छ। तर दुखको कुरा हाम्रो निर्वाचन पद्दतिमा रहेको कमीकमजोरीले गर्दा जनताको त्यो आक्रोश मुलत: परिणाममुखी ढंगले प्रकट हुन सकेको छैन। त्यसको परिणाम के छ?
समग्र देशले दुत्कारेको मान्छेहरु एउटा निर्वाचन क्षेत्रमा अनेकन हथकण्डा गरेर जित्छन् अनि त्यस्तै त्यस्तैले गठबन्धन गरेर देशको नेतृत्व गर्छन्। अनि सधैं नेताहरुलाई गाली गर्ने उनीहरुको गलत कदमको विरुद्ध लेख्ने/बोल्ने तर जब उनीहरुलाई मतदानमार्फत राजनीतिक मैदानबाट आउट गर्ने समय आउँछ, तब मतदान गर्न समेत नजाने प्रवृतिले गर्दा चुनावहरु परिणामको दृष्टिले सकारात्मक परिणाम ल्याउन असफल हुँदै आएको छ।
यो पटक पनि जनताको महत्वपूर्ण हिस्साले मतदान गर्ने दायित्व निर्वाह गरेन, जसको कारण धेरै नजित्नु पर्नेहरु जिते अनि जित्न पर्नेहरु हारे। अझै जनतामा व्याप्त त्यही ‘लै बरी लै’ पारा देखेको बुझेकोले कतिपय राम्रा मानिसहरुले चुनाव लड्ने आँटसमेत गरेनन्। स्वयम जनतामै रहेको यो खेलाँचीले पनि देश र जनता हार्ने कुरामा नै भूमिका खेलेको छ र सुधार नभए अझै खेल्ने छ।
३. जनताको महत्वपूर्ण हिस्साले मतदान गर्ने दायित्व निर्वाहसमेत नगरेर पुरानै दल र नेताहरुलाई नजानिँदो ढंगले सहयोग गरेको भए पनि जनताको अर्को महत्वपूर्ण हिस्साले चाहिँ यस पटक परिवर्तनको शंखनाद गर्न खोजेकै हो। त्यसैको परिणत हो कि पुराना दल र तिनका नेताहरुलाई विस्थापन गरेर छोड्ने भन्दै अगाडि आएका रवि लामिछानेदेखि विचारमा मण्डले भए पनि कुरामा स्वच्छता झल्कने राजेन्द्र लिङ्देनको राप्रपासमेतले उल्लेख्य मतसहित संसदमा महत्वपूर्ण हैसियत पाएको।
तर विडम्वना जसले सबै बिगारे, केही गर्न नै सक्दैनन् भन्दै जसका विरुद्धमा मत मागेर चुनाव जितेको हो, त्यसैको पक्षमा हत्त न पत्त समर्थन गर्न तिनै रवि र राजेन्द्रहरु अगाडि बढेको कुराले जनताको विश्वासमा तुसारापात भएको छ। देश र जनताको हितमा कुनै नीति नबनाइ, कुनै प्रतिवद्धतासमेत नगराइ यसै सरकारको समर्थनमा खडा हुने रवि लामिछाने, राजेन्द्र लिङ्देन, सिके राउतहरुको दौडले गर्दा जनताले धोका महशुस गरेका छन्। अझै तत् पार्टीको नेतृत्वले पार्टीको स्थापना र अस्तित्वको मर्मविपरीत गएर सत्तारोहण गर्दै गर्दा त्यहाँभित्र चुँसमेत नबोल्ने पङ्क्तिले गर्दा जनतामा झन् निरासा बढ्ने छ। अनि यो भनिरहन नपर्ला कि निराश र दुखी जनताको पंक्ति भएको देशले अक्सर हार्ने नै गरेको छ।
४. अनि अर्को कुरा यस निर्वाचनमा एउटा दलको नेतृत्व गरिरहेको व्यक्ति अर्को दलको समानुपातिक सूचीमा पर्ने मात्रै नभएर तिनीहरु सांसद हुनेदेखि हत्याका आरोपी सांसद हुनेसम्मका विकृत परिघटनाहरु घटे। उल्लेखित कामहरु त जनताको आक्रोश र निशानामा रहेका एमाले, काँग्रेस, माओवादी जस्ता दलहरुबाट भएको थियो।
जब विधि विधानको अक्षरश पालना गर्ने आशा र विश्वास गरिएका रवि लामिछानले स्वार्थ बाझिने जिम्मेवारी लिन नपाइने स्थापित मान्यता समेतको खिलाफमा गएर आफ्नैविरुद्ध परेको मुद्दाको अनुसन्धान गर्ने तालुकदार मन्त्रालय अर्थात् गृह मन्त्रालय मागेर त्यो पाएपछि सत्तामा गए। त्यसले झन् गलत नजिर स्थापित गर्यो। जुन जागी आए पनि कानै चिरेका हुन् भन्ने आशंकालाई बल पुर्याउने खालको रविको कदमले जनतालाई झन हत्तोत्साही गर्ने र नकारात्मकताविरुद्ध उभिने उनीहरुको जोशमा कमी ल्याउने काम गरेको छ। त्यसले पनि देश र जनतालाई विजित हैन पराजित नै बनाएको छ।
५. अनि उल्लेखित सबैभन्दा महत्वपूर्ण र दुखद कुरा त के भने गएको निर्वाचनको परिणाम आउँदा नआउँदै जे जसरी अनेकन शक्ति राष्ट्रका राजदूतहरु अस्वाभाविक रुपमा सक्रिय भए, त्यसले डरलाग्दो संकेत गर्यो। त्यसभन्दा पनि अझै डरलाग्दो त के भने नेपालको राजनीतिमा विद्यमान संविधानअनुसार स्वतस्फ्रुत हुनुपर्ने सरकार निर्माणका सम्बन्धमा विदेशी राजदुतदेखि भारतीय गुप्तचर प्रमुखसमेत सहभागी भएको कुराहरु बाहिरिँदा समेत त्यस्ता खेलकुदमा सहभागी भनिएका दलहरुबाट खण्डन पनि नहुने अनि जनताबाट त्यसको प्रतिवाद पनि नहुने अवस्था बन्यो। आफ्नो देशको सरकार निर्माणमा छिमेकी देशको गुप्तचर प्रमुखदेखि कथित मित्रराष्ट्रका राजदुतसमेतको खेलोफड्कोमा जनता मौन रहने अवस्था बन्दा देशले जित्छ वा हार्छ? त्यो पनि भनिरहनु पर्ला त?
अत: कोही कसैको बहुमत नआएको खिचडी संसदको गणितमा टेकेर सरकार बनाउँदैमा न कोही विजेता हुन्छ, न सुरुमै त्यस्तो गर्न नसक्दैमा कोही पराजित नै हुन्छ। यही खिचडी संसदको गणित र यसमा रहेका दलहरुको स्वार्थअनुसार सत्ता बन्नु नै जित्नु हो भने यही संसदको कार्यकालमै धेरैले जित्ने अनि हार्ने छन्। धेरै कुर्नै पर्दैन, अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाएर जितेका भनिएका केपी ओलीले आफू सत्तामा जान अरुसंग मिलेर प्रचण्डलाई फालेको वा सत्ताको हिसाब किताबमा प्रधानमन्त्री छोड्नुपर्दा अर्कोसंग मिलेर प्रचण्डले ओली फालेको वा त्यस्तै अर्को कुनै विरुप सत्ता राजनीतिक देख्न पाइने छ। यसो हुँदै गर्दा को विजित वा पराजित हुने हो भइरहलान् तर देशले निरन्तर हारिरहने छ, जनताले हारिरहने छन्।
देश हार्ने भनेको अर्को कुनै देशको अधिनस्थ हुनु मात्रै त पक्कै हैन। कमजाेर अर्थतन्त्र, कमजाेर सुरक्षा व्यवस्था, अपरिपक्व कुटनीति अनि शासन सञ्चालनमा बेथिति हुँदा देश पक्कै बलियो रहने छैन। अनि देश कमजाेर हुँदा जनताले जितेको महशुस गर्न सक्ने कुरै हुँदैन। अनि अहिलेको विकृत राजनीतिक अवस्थाले देशलाई बलियो हैन, कमजाेर नै बनाएको छ।
तसर्थ, देश र जनता दुवै हारेका छन्। अनि जब देश हार्छ भने केपीले जिते कि शेरबहादुर हारे भन्ने कुराको कसलाई के सरोकार? अब हार्दै गरेको देशलाई जिताउने अनि हारेको ठानिरहेको जनतालाई जितको अनुभूति दिन सम्पूर्ण देशभक्तहरु गोलवन्द भइ देशभक्तिमा आधारित देश विकासको पक्षमा जुट्नु अनिवार्य छ। त्यसो हुन सक्दा अहिलेको सत्ताको खेलमा हार्ने वा जित्ने दुवैले वा सबैले हार्नेछन् तर देशले भने जित्नेछ।