यसपाली चुनावको नतिजा आश्चर्यजनक रुपमा परिवर्तन भयो। स्थानीय तहको निर्वाचनमा दलहरुले पाएको मत परिणाम त्यसको ६ महिना नबित्दै उल्टिनु धेरैका लागि अनौठो दृश्य हो।
जुम्लामा स्थानीय तहको निर्वाचनले नेकपा (एमाले) तेस्रो दलको रुपमा स्थापित भयो। त्यो पनि साढे ९ हजार चानचुन मत पाएर। मंसिर ४ मा सम्पन्न निर्वाचनमा संघको प्रत्यक्षमा त्यही दलले ६ हजार ५ सय २८ मत मात्रै पायो। प्रदेश (ख) मा चुनाव जित्दा ७ हजार ८ सय २७ पायो भने प्रदेश (क) मा तेस्रो हुँदा ५ हजार ४ सय ८० मत पयो।
तर, समानुपातिकको संघमा एमाले १० हजार ५ सय ४८ मतसहित पहिलो भयो भने प्रदेशमा झिनो मतान्तरले दोस्रो भयो। जिल्लाका आठ वटा पालिकामध्ये पाँच पालिकामा अध्यक्ष जितेको कांग्रेस जिल्लामा निल हुँदा एउटा पालिका पनि नजितेको एमालेले प्रदेश जित्न सफल भयो।
रणनीतिक रुपमा सफल एमालेलाई आगामी दिनमा संगठन निर्माण गर्ने अवसर छ। बागी र गुटगत राजनीतिले थला परेको कांग्रेसका अधिकांश मतदाताले राप्रपालाई मत दिए। चुनावमा उठाएका मुद्दा अनुरुप थोरै मात्रै काम गरेको खण्डमा अप्रत्याशित चुनावी नतिजाको लाभ लिएको राप्रपाले सांगठनिक लाभ पनि लिन सक्ला तर सांगठनिक परिपक्वताको हिसाबले एमाले धेरै अगाडि छ।
जुम्लामा त्यो कति हदसम्म सफल हुने भन्ने कुरालाई केन्द्रको दृष्टिमा भर पर्ने कुरा हो।
प्रदेश (ख) मा प्रत्येक्ष जितेको एमाले समानुपातिकको संघमा पहिलो र प्रदेशमा दोस्रो शक्ति हुँदा पनि केन्द्रले प्रदेश र संघमा जुम्लाको प्रतिनिधित्वलाई आवश्यक ठानेन। जसले आफ्नो जीवनको उदेश्य नै राजनीति भनेर लागेका कार्यकर्ता निराश नभए पनि हर हिसाब खोज्ने स्थितिमा पुगेका छन्।
जनवादी केन्द्रियता र सांगठनिक अनुशासनको कसीमा बाँधिने कम्युनिस्ट कार्यकर्ता आलोचना र आत्मआलोचनाको संस्कारमा हुर्केका हुन्छन्। त्यसैले उनीहरु आफ्ना असन्तुष्टिहरु सितिमिति संगठनमा बाहेक अन्य ठाउँमा पोख्दैनन्।
तर, बेलाबेला पार्टीले लिने पक्षपाती निर्णयका कारण कार्यकर्ताहरु खुलमखुला असन्तुष्टि पोख्ने स्थितिमा पुगेका छन्। त्यसरी नै प्रस्तुत भएकी एक नेतृ हुन, जुम्लाकी मेनका पछाईं।
१४ वर्षको स्कुले उमेरदेखि राजनीतिमा लागेकी मेनकाका बुबा गोर्ख पछाईं नेमकिपाबाट विद्रोह गरेर जुम्लामा नेकपा (एमाले) स्थापना गर्ने मध्येका एक हुन। त्यसैको प्रभाव उनीहरु राजनीतिमा आए। उनले सामाजिक संजालमा लेखेकी छन्, ‘यो पटक पनि माननीय नहुँदा निराश छैन। यद्यपि नेताले समकालीन साथीहरु कसैलाई अवसरै अवसर दिँदा हामीलाई देख्दै नदेख्नु दुःखत हो!’
उनले समकालीन कसैलाई अवसरमाथि अवसर दिने कसैलाई भुइँबाट उठ्न नदिने भन्दै चलाएको तिरले एक खालको बहस सिर्जना गराएको छ।
एमालेनिकट विद्यार्थी संगठन अखिलको २०६५ सालमा सम्पन्न २०औं राष्ट्रिय केन्द्रीय सदस्यमा निर्वाचित उनीसँगै हाल अध्यक्षसमेत रहेकी सुनिता बराल पनि निर्वाचित भएकी थिइन्। एमालेले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक सांसद सूचीमा खस आर्यबाट आठौं नम्बरमा रहेकी सुनिता बराल पर्दा पिछडिएको क्षेत्रबाट २ नम्बरमा रहेकी मेनका परिनन्। जो धेरैका लागि चासाको विषय बनेको छ।
यसपाली सांसद बन्ने पर्वल सम्भावना भएकी उनी धेरै हदसम्म आशावादी भएको अभिव्यक्तिले देखाउँछ। जुम्लाले एउटा सक्षम नेतृत्वको रुपमा बुझेको हुनाले पनि उनी सांसद हुनुलाई सुखद क्षण भनेर व्यख्या गरिएको थियो।
अन्तिममा उनी रिङबाट आउट भइन्। यसरी आउट भएकोे यो गरी तेस्रो पटक हो। मेनका तेस्रो पटक माननीयको रेसमा दौडिरहँदा २०६४ पछि जुम्लामा एमाले पहिलो भयो। यस्तो बेला उनको मुल्यांकन नहुनु पार्टीको आदर्श बचाइराख्न चाहनेलाई समेत निराशाको कालो वादलभित्र धकेलिदिनु हो।
यति हुँदा पनि मेनकाले कालो वादल वरिपरि चाँदीको घेरा हुन्छ भन्ने सन्देश दिन,‘माननीय नभए पनि जनताको सुख दुःखमा झन् नजिक भएर काम गर्नेछु। यात्रा जारी छ। समकालीन कसैलाई अवसरमाथि अवसर दिने कसैलाई भुँइबाट उठ्न नदिने, तीनपटक सूचीमा राखेर उपकार गर्ने हाम्रा नेतालाई धेरै धन्यवाद ! यसले गर्दा मलाई झन् परिपक्क बनाएको छ। ठुलो उद्देश्य बोकेर लामो गतव्य तय गरेर १४ वर्षे स्कुले उमेरदेखि राजनीतिमा आएकी हुँ। निराश छैन।’
२०७० मा समानुपातिक सूचीबाट अन्तिममा हटाइएकी मेनका २०७४ मा कर्णाली प्रदेश सभाको समानुपातिक सूचीमा थिइन्। त्यसबेला पनि रुकुमकी देवी वलीलाई सांसद बनाइयो। वली पछि पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी)तिर लागिन्।
यसरी अन्तिम समयमा हात लाग्नै लागेको अवसरबाट बेलाबेला पखा लागाइएकी मेनका पोखरा महाधिवेशनमा अनुशासन आयोगको अध्यक्षमा ३ मतले पराजित भएर विद्यार्थी राजनीतिबाट बिदा भएकी थिइन।
विद्यार्थी राजनीतिबाट बिदा भएकी उनलाई २६ वर्षकै उमेरमा एमालेले २०७० सालको दोस्रो संविधानसभामा समानुपातिक सूचीमा पारेको थियो। तर, बच्चालाई टिकट दिएको भनेर पार्टीभित्र टिप्पणी भएपछि टिपेक्स लगाएर आफ्नो नाम हटाइएको उनले बताएकी छन्।
यतिबेला भने दूधे बच्चा बोकेर उनी जुम्लाका दुर्गम गाउँमा चुनाव प्रचारमा सहभागी थिइन्। एमालेको १०औं महाधिवेशन हुने बेला उनी ८ महिनाका गर्भवती थिइन्। पार्टीको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधि चुनिएपछि उनले चिकित्सकले दिएको मितिभन्दा २ साता अघि नै बच्चा जन्माइन्।
तर, स्वास्थ्य प्रतिकुल भएका कारण महाधिवेशनमा भाग लिन नपाएकी उनका समकालीनहरु केन्द्रीय सदस्य बन्न पाए। उनी मनोनयनमा समेत परिनन्। यी विविध घटनाले उनलाई खुमेआम असन्तुष्टि पोख्ने स्थितिमा पुगाएको छ भने एमाले नामको पार्टीलाई केही सिमित नेताको मुठ्ठीभरको कम्पनीको दिशातिर उन्मुख देखाएको।