लमजुङको राइनास नगरपालिकाले चालु आर्थिक वर्षदेखि नयाँ सडक ट्रयाक नखोल्ने जनाएको छ।
नगरपालिकाले चालु आर्थिक वर्षदेखि सडक योजना अन्तर्गत बजेट विनियोजन गरेपनि नयाँ सडक ट्रयाक खोल्ने कार्यक्रम नरहेको जनाएको हो।
नगरपालिका अन्तर्गतका प्रायः गाउँ बस्तीमा सडक ट्रयाक पुगिसकेको भन्दै नयाँ ट्रयाक खोल्ने कार्यक्रम नरहेको नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए।
यसअघि खोलिएका सडक जीर्ण अवस्थामा रहेकोले ती सडकमा बाह्रै महिना यातायात सुचारु हुनेगरी स्तरोन्नति गर्ने नगर प्रमुख गुरुङको भनाइ छ।
जीर्ण सडक मर्मतमा वर्षेनि लाखौँ खर्च गरेपनि प्रत्येक वर्षाको समयमा पुनः सडक भत्किने हुँदा त्यस्ता सडकलाई व्यवस्थित गर्ने तर नयाँ सडक खोल्ने विषयलाई प्राथमिकतामा नराखिएको गुरुङले बताए।