चार महिनामा १११६ किलो सुन आयात, ७ अर्ब ९५ करोड रकम बाहिरियो

File Photo
File Photo

चालु आर्थि वर्ष २०७८/७९ को पहिलो चार महिनामा एक हजार १ सय १६ किलो सुन आयात भएको छ। सुन आयातबापत यस अवधिमा ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको छ। यो गत आर्थिक वर्षको भन्दा आधाले कम हो।

गत आर्थिक वर्षको पहिलो चार महिनामा २१७७ किलो सुन आयात भएको थियो। यसका लागि १४ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो।

सुनको सबैभन्दा बढी खपत हुने समय विवाहको लगन भएको महिना र दसैं तिहारमा हो। नेपाल राष्ट्र बैंकले १० किलो मात्रै आयात गर्न पाउने कोटा तोकिदिए पछि सुनको आयात घटेको हो। सुनचाँदी व्यवसायीका अनुसार बजारमा सिजनको समयमा दैनिक ५० किलो सुनको माग छ।

तर सरकारले आयातमा कडाइ गर्दा सुन आयात घटिरहेको छ। गत आर्थिक वर्षमा सिजनको समयमा सरकारले २५ किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो।

गत साउनमा १ अर्ब ४८ करोड रुपैयाँको सुन भित्रिएको थियो। भदौमा दुई अर्ब १६ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो। त्यसपछि असोजमा दुई अर्ब १४ करोड र कात्तिकमा दुई अर्ब १५ करोड रुपैयाँ बराबरका सुन भित्रिएका छन्। मंसिर महिना बिहेको सिजन भएकाले यस महिनामा माग अत्यधि बढ्ने गरेको छ। त्यसैले यो महिनामा आयात बढ्ने आकलन गरिएको छ।

प्रकाशित मिति: : 2022-11-24 09:52:00

प्रतिकृया दिनुहोस्