उद्याेग वाणिज्य संघ, दाङको चेतावनी : बैंकहरुविरुद्ध उत्रन नपरोस् 

दाङ जिल्ला उद्योग वाणिज्य संघ (उवासंघ)ले बैंकहरुका विरुद्धमा कदम चाल्ने चेतावनी दिएको छ। घोराहीमा पत्रकार सम्मेलन गर्दै उवासंघले बैंकहरुले गरेको व्याजदर वृद्धिका विरुद्धमा कडा कदम चाल्ने चेतावनी दिएको हो।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले नेपालको निजी क्षेत्रलाई धरासायी बनाउने गरी बैंकहरुले गरेको व्याजदर वृद्धि फिर्ता नभए जस्तो सुकै कदम चाल्ने चेतावनी बताए। ‘नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी मार्गनिर्देशन ०७९ र त्यही मार्गनिर्देशनका आडमा बैंकहरुले वृद्धि गरेको व्याजदरप्रति हाम्रो कडा आपत्ति छ,’ उनले भने, ‘व्याजदर फिर्ता नभए बैंकहरुलाई नै पैसा नबुझाउने सम्मको आन्दोलन हुन सक्छ।’

अध्यक्ष बुढाथोकीले पहिले ८ प्रतिशत व्याजदर वृद्धि गरेर १६ प्रतिशत पुर्‍याउने काम भएको र त्यो ब्याजदरले निजी क्षेत्र तहसनहस हुने अवस्था पुगेको बताए। ‘कतिपय व्यवसायीहरु बैंकबाट लिएको ऋण तिर्न सक्ने अवस्थामा छैनन्, आत्महत्या गर्ने अवस्थामा पुगेका छन्,’ उनले भने,‘यो अवस्थामा हामी हेरेर बस्न सक्दैनौँ। जस्तोसुकै कदम उठाउन सक्छौँ।’

उनले केन्द्रीय उद्योग वाणिज्य महासंघलेसमेत व्याजदर वृद्धिका विरुद्धमा चासो नदिएको भन्दै उद्योग वाणिज्य महासंघ, बैंक र सरकारका विरुद्धमा चरणबद्ध आन्दोलन गर्ने जानकारी दिए। यदि कसैले आन्दोलनलाई कजोर सोचेमा त्यसको नेतृत्व दाङ युवा संघले गर्ने उवासंघ दाङका पूर्व अध्यक्ष नारायण भुषालले दाबी गरे।

उवासंघ दाङले व्याजदर फिर्ताका लागि कर्जामा एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहले विभिन्न शीर्षकमार्फत् लिने सेवा शुल्क लगायतका कुनै शुल्क लिन नपाउने, पुरानो चालु कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिक रुपले लागुपर्ने, कर्जाकाको व्याजदर पुनः संरचना गर्न दिनुपर्ने र बैंकहरले अगाडी बढाएका लिलामी प्रक्रियाहरु तत्काल स्थगित गर्नुपर्ने माग राखेको छ।

यदि यो माग पूरा गराउन चरणबद्ध आन्दोन गर्ने युवासंघले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ। जसअनुसार कार्तिक १७ गते बस्तुगत समितिहरुसँग छलफल, १८ गते व्यवसायीहरुसँग छलफल, २० गते नेपालभरका जिल्ला युवासंघ, प्रदेश उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल राष्ट्र बैंकसँग अर्थ मन्त्रालयलाई पत्राचार गर्ने कार्यक्रम तय भएको छ।

यस्तै २१ गते विरोध र्‍याली र कोणसभा गर्ने, २३ गते बैंकहरुमा प्लेकार्डसहित धर्ना बस्ने र २४ गतेसम्म मागहर सम्बोधन नभए थप कडाखालका आन्दोलनहरु गर्ने दाङ उवासंघले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-02 18:43:00

प्रतिकृया दिनुहोस्