माछापुच्छ्रेको केन्द्र जोड्ने निर्माणाधीन सडक चार वर्षदेखि ठप्प

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने निर्माणाधीन सडकको काम लामो समयदेखि रोकिएको छ। 

गण्डकी प्रदेशको राजधानीदेखि स्थानीय पालिकाको केन्द्र जोड्ने पक्की कालोपत्र सडक निर्माण योजनाअन्तर्गतको उक्त सडकमा चार वर्षअघि काम सुरु भए पनि हाल भने अलपत्र अवस्थामा रहेको छ। 

डेढ वर्षअघि नै सम्पन्न गरिसक्नुपर्ने काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण ढिलाइ भएको स्थानीयको भनाइ छ। सडकको काम लामो समयदेखि रोकिएको छ। सडकको नाला निर्माण भएपनि बेस मात्र बिछाएर कालोपत्र नगर्दा सडकको काम लामो समयदेखि रोकिएको हो।

निर्माण कम्पनीले निर्धारित समयमा काम नगरेपछि स्थानीय आक्रोशित छन्। समयमै सडक निर्माण सम्पन्न नहुँदा हिउँदमा धुलो र बर्खायाममा हिलो सडकमा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता स्थानीयवासीको छ। 

सोमबार लाहाचोकका स्थानीयवासीले गाउँपालिका जोड्ने सडकको काम तत्कालै सुरु गर्न मागसहित गाउँपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन्। उनीहरूले पाँच दिनभित्रमा काम सुरु नभए दोस्रो चरणको आन्दोलनमा उत्रिने बताएका छन्। 

स्थानीय साजन अधिकारीले गाउँपालिका जोड्ने सडक निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ती गर्दा जनताले दुःख पाएको बताए। उनका अनुसार हाल सडकको सबै काम ठप्प छ। ‘हामीले सडक छिटो सम्पन्न गर्न पटक–पटक आवाज उठाएका छौँ, तर सुनुवाइ भएको छैन’, अधिकारीले भने ‘गाउँपालिका आउजाउ गर्ने मुख्य सडक लामो समयदेखि अलपत्र पर्दा दुःख पाएका छौँ। गाउँपालिका र प्रदेश सरकारले दबाब दिनु पर्दछ भनेर पहिलो चरणमा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हौँ।’

गण्डकी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालय कास्कीबाट रु १० करोड लगानीमा माछापुच्छ«को प्रवेशद्धार मर्दीपुलबाट भिरकटेरा, बानेटाकुर हुँदै गाउँपालिकासम्मको पाँच किमी कालोपत्र सडक निर्माणका लागि हिमदुङ थोकर जिएसआर जेभीसँग ठेक्का सम्झौता भएको थियो।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले सो सडकमा लामो समयदेखि काम रोकिएकाले तत्कालै सुरु गर्न निर्माण कम्पनी तथा प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए। गाउँपालिका जोड्ने सडकभन्दा पछि ठेक्का लगाएर सुरु गरेका दुई पक्की सडक दुई वर्षअघि नै सम्पन्न हुँदासमेत मुख्य सडकको काम ढिलाइ भएको लाहाचोक भिरकटेराका दीपक अधिकारीले बताए।

भिरकटेराको पानपाते चौताराबाट भलाबोट शुक्लागण्डकी हुँदै डाँडासम्म र  भलाबोटबाट टुसेसम्म अर्को पक्की सडक कालोपत्र भइसक्दा गाउँपालिका प्रवेशको मुख्य सडक नै अलपत्र छ । 

प्रकाशित मिति: : 2022-11-01 11:40:00

प्रतिकृया दिनुहोस्