२५ प्रतिशतले बढ्याे भाइमसलाकाे मूल्य (भिडियाेसहित)

तिहार विशेष

असनका राजु दुलाललाई हिजोआज भ्याइनभ्याई छन्। तिहार नजिकिएसँगै उनी भाइमसला बेच्न व्यस्त भएका हुन्। 

असनको चोकमा रहेको उनको पसलमा ग्राहकको भीड बढ्न थालेपछि उनलाई खाना खान समेत फुर्सद छैन। उनी भन्छन्, ‘भाइमसला किन्न आउनेहरु धेरै हुनुहुन्छ, त्यसैले ढिला खाना खान्छु।’

उनी खाना खाएर समय बिताउन भन्दा पनि सामान बेचेरै सन्तुष्ट हुन चाहन्छन्, त्यसैले त उनी भोकभोकै भाइमसला बेच्नमा तछाडमछाड गरिरहेका छन्। 

सात पुस्तादेखि भाइमसला बेचिरहेका दुलाल भन्छन्, ‘यो पटक धेरै भीड बढेको छ।’ विगतका दुई साल कोरोनाकालले व्यापार नभएकोले यो पटक धेरै उपभाेक्ताकाे भीड बढेको छ, त्यही कुरामा खुसी छन्, राजु।

‘२५ प्रतिशत बढ्यो भाइमसलाको भाउ’

‘पोर, परार’ सालतिर सस्तो मूल्यमा पाइने भाइमसलाकाे मूल्य याे पटक भने ह्वातै बढेको छ। जसको मारमा प्रत्यक्ष उपभोक्ता परिरहेका छन्। तर महँगो मूल्यमा भाइमसला बेच्नु रहर नभई बाध्यता भएको राजु बताउँछन्।

यसपालि तिहारका सबै सामानहरु बढेर आएको उनले बताए। ‘दुई वर्ष कोरोनाको महामारी रह्यो, यसले गर्दा त्यति व्यापार भएन। त्यसैले यो पटक २५ प्रतिशतले भाइमसलामा मूल्य बढेर आएको छ’, उनले बिएल नेपाली सेवासँग भने, ‘सायद, दुई वर्ष घाटा लागेको लगानी यो पटक उकास्नुको लागि सबै सामानहरु मूल्य बढेर आएको होला!’

पाँच लाखको सामान भित्र्याएका उनले अहिले दिनकै ५० हजारसम्मको व्यापार गरिरहेका छन्। ‘तिहारका सबै सामानहरु भारतबाट नै आउँछ, तर मैले होलसेल पसलबाट किनेर बेचिरहेकाे छु’, उनले भने।

विगतका तिहारमा नाेक्सानी बेर्हाेन परेका राजु याे पटक भने सबै लगानी उकास्न चाहन्छन्। त्यसैले त उनी यो पटकको तिहारमा आठदेखि दश लाखसम्मकाे व्यापार गर्न चाहन्छन्। 

 
 

प्रकाशित मिति: : 2022-10-24 15:52:00

प्रतिकृया दिनुहोस्