काठमाडौंको न्यूरोडमा भारी बोकेर बित्छ, कुमार सुवेदीको दिन। भारी बोकेर पसल–पसलसम्म पुर्याउने सुवेदीको दिनभरि मात्र एउटै लक्ष्य हुन्छ, धेरै भारी बोक्नु अनि पैसा कमाउनु।
दोलखाका कुमारले दुई दशकदेखि भारी बोकेरै परिवारको पेट पालिरहेका छन्। छोराछोरीलाई गुण्स्तरीय शिक्षा दिनका लागि उनी भारीको पोका नाम्लो लगाएर थाप्लोमा बोक्नका लागि सधैँ तछाडमछाड गर्छन्।
‘काम गर्नमा चलाख भएन भने त अरु भरियाले नै काम गरेर पैसा लैजान्छन् नी, त्यसैले भारी बोक्नका लागि म सधैं तयारमा रहन्छु’ उनी भन्छन्, ‘काम गरिनँ भने जहान र छोराछोरीलाई पढाउन नै मुश्किल हुन्छ।’
इन्दचोकमा डेरा जमाएर बसेका उनी हिजोआज त झनै काम गर्नमा चलाख भएका छन्। १० बजेदेखि काममा लाग्ने उनी अहिले बिहानको पाँचै बजेदेखि काममा खट्न थालेका छन्। जसको कारण उनी ‘चुनाव’ बताउँछन्।
‘चुनाव आइसकेको छ, त्यसैले धेरै पैसा कमाएर गाउँ जान्छु अनि स्वतन्त्रलाई भोट दिएर जिताउँछु’ उनले बिएल नेपाली सेवासँग भने, ‘अरु पार्टीलाई भोट दिएर मेराे भाेट खेर फ्याल्दिनँ।’
५० वर्ष पुगेका उनी माओवादीका पूर्वलडाकु समेत हुन्। पार्टीमा लागेर हिँडेका उनले हातमा बन्दुक मात्र बोकेनन् घरहरु फोड्न पनि पछि परेनन्। ‘पार्टीमा लागेर दुईचार वटा घर फुटाएँ, कत्तिलाई त कुटेँ पनि तर प्रगति केही भएन’, उनले भने, ‘अहिले सम्झिँदा बेक्कार लाग्छ।’
एक दशक बढी माओवादीमा आवद्ध भएका उनी अहिले पार्टीदेखि नै दिक्दार भएका छन्। अहिले उनलाई विकासको काम पार्टीले होइन स्वतन्त्रले गर्छ भन्ने कुरामा विश्वास छ।
त्यसैले त उनले हात ठड्याएरै स्वतन्त्र उम्मेदवारलाई साथ दिइरहेका छन्। उनी भन्छन्, ‘माओवादी, एमाले र कांग्रेसले केही गर्दैन। यो पार्टीहरूको समय सक्कियो। अब, जे गर्छ जस्तो गर्छ सबै स्वतन्त्रहरुले नै गर्छ। त्यसैले मेरो मूल्यवान भोट स्वतन्त्र उम्मेदवारीलाई दिन्छु।’
त्यसैगरी राजनीति दलका नेता देखेर रिसाउन थालेका छन्, दोलखाका विकास श्रेष्ठ। तीन दशकदेखि भरिया काम गर्दै आएका उनी अब स्वतन्त्रलाई जिताउन चाहन्छन्।
जनताका समस्या बुझ्ने व्यक्ति नै सर्वसाधारणको लागि नेता भएको उनी बताउँछन्। उनी भन्छन्, ‘राज्यको नेता यस्तो हुनुपर्छ, जसले समस्यामा परेका जनताहरुको उद्धार गरोस्।’
मजदुर युनियनका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ राजनीति पार्टीहरुलाई खबरदारी गर्दै भन्छन्, ‘अब, पालो स्वतन्त्रको हो, हामी स्वतन्त्रलाई जिताउँछौँ।’
बिहानदेखि साँझपख भारी भोक्ने भरियाकाे इज्जत नेताहरुको भन्दा धेरै भएको उनको बुझाई छ।
नेताहरुले बोली फेरिरहने बताउँदै उनी भन्छन्, ‘नेताहरु बोली फेर्दै हिडछन्, उनीहरुको बोलीमा कुनै सत्यता नै छैन। बरु हामी एकपटक बोलिसकेपछि ग्राहकहरुले भनेको ठाउँसम्म त भारी पुर्याइदिन्छौँ नी।’
भविष्यका दिनहरुमा देशभरि नै स्वतन्त्रले राज्य हाक्ने उनको विश्वास छ। ‘काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङ जस्तो व्यक्ति देशको नेता हुनुपर्छ।’
देशका नेताहरुले जनताहरुको आँखा छलिरहेको दोलखाका सानोकाजी गौतम बताउँछन्। देखावटी गर्नमा नेपालका नेतालाई कसैले जित्न नसक्ने बताउने उनी भन्छन्, ‘नेताहरु चुनाव अगाडि मिठा–मिठा कुरा गर्छन् तर चुनाव जितिसकेपछि हामीलाई कुनै वास्तै गर्दैनन्।’
आफूले विगतका दिनमा चुनेका नेताहरुले काम गर्न नसकेको उनको ठम्याई छ। विश्वास गरेर जिताएका नेताहरुले आफ्नो समस्या समाधान गर्न नसकेको कारण काठमाडौं आउनु परेको उनले बताए।
‘के गर्नु नेताहरुलाई विश्वास गरेर जिताएँ तर पछि हाम्रो गुनासो नै सुनिएन। गाउँमा बसेर खेतीपाती गर्ने वातावरण पनि थिएन, त्यसैले परिवार बोकेर काठमाडौं हानिएँ।’
अबको चुनावमा गाउँ गएर स्वतन्त्र उठेका व्यक्तिहरुलाई मत दिएर जिताउने उनको उदेश्य छ।
चरिकोटका ७० वर्षीय धर्म लाल पनि गाउँ जाने सुरसारमा छन्। चुनाव लागेसँगै उनले गाउँ जाने तयारी गरेका हुन्।
विगतका वर्षमा एमालेलाई भोट दिएर जिताएका उनी यसपटक पनि एमालेलाई जिताउन गाउँ जान चाहन्छन्।
उनी भन्छन्, ‘एमालेकै कारण मैले वृद्ध भत्ता पाएको हो, त्यसैले यो पटक पनि एमालेलाई नै जिताउने हो।’
आफ्नो गाउँमा एमालेले विकासको काम गरेको सुनाउँदै धर्मले भने, ‘एमालेलाई जिताउने हाे, वृद्ध भत्ता खाएर बस्ने हाे।’
आफ्ना पूर्खाहरूले एमालेलाई नै चुन्दै आएको कारण अरु पाटीलाई भोट नदिने उनी बताउँछन्। ‘मैले चिनेको जानेको पार्टी भनेकै एमाले हो, अरुलाई चिन्दिनँ, भाेट हाल्दिनँ’ उनले भने, ‘सबै स्वतन्त्र/स्वतन्त्र भन्छन् तर स्वतन्त्र भनेको के हो, मलाई थाहा छैन।’