हिमाली जिल्लामा हवाई सँगै स्थलमार्ग अवरुद्ध

File photo
File photo

दशैंको टीकाको दिन यता नेपालगञ्ज क्षेत्रबाट उडान हुने कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको छ। एयरलाइन्स कम्पनीका जहाजहरू काठमाडौं फर्कनु र मौसम पनि सफा नभएको कारण चार दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन्।

लगातार पानी पर्नु र नेपालगञ्जमा कुनै पनि जहाज नभएका कारण हवाई सेवा अवरुद्ध भएको हो। गत असोज १८ गते तारा एयरले सिमकोट लगायत कर्णालीका हिमाली जिल्लामा उडान भरेको भए पनि त्यसपछि कुनै पनि उडान हुन सकेको छैन।

कर्णालीको हुम्लाको सिमकोट, जुम्ला, मुगुको ताल्च, डोल्पाको जुफाल र सुदूरपश्चिम प्रदेशको बाजुराको कोल्टी विमानस्थलमा चार दिनदेखि कुनै पनि उडान नभएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ।

नेपालगञ्जले मुख्य गरी निजी तथा नेपाल एयरलाइन्सका कुनै पनि जहाजहरू नभएको कारण उडान हुन नसकेको जनाएको छ। शनिबार पनि नेपालगञ्जबाट हिमाली जिल्लामा उडान भर्ने जहाजहरू कुनै पनि नभएको बताइएको छ। त्यस्तै स्थलमार्ग समेत अवरुद्ध भएको छ। जाजरकोट, डोल्पा र कर्णाली राजमार्ग समेत अवरुद्ध भएको छ।

प्रकाशित मिति: : 2022-10-09 11:43:00

प्रतिकृया दिनुहोस्